|

भक्तपुर : उन्नाइसौं विविध भाषा साहित्य सम्मेलन तथा साँस्कृतिक कार्यक्रममा कवितातर्फ ममता श्रेष्ठ प्रथम भएकी छन्। नेपाल सम्वत ११३८ को अवसरमा विविध भाषा साहित्य समाजले मध्यपुर थिमी–७, कुम्हालाछीमा आयोजना गरेको सम्मेलनमा वाचन गरेका विविध विधाका साहित्यमध्ये कवितातर्फ ममता प्रथम भएकी हुन्। त्यसैगरी हरिसुन्दर सुवाल द्वितीय, सृष्टि खड्का तृतीय र रामसुन्दर थाले सान्त्वना पुरस्कार प्राप्त गरे।

तीस जना साहित्यकारहरुले आ–आफ्नो रचना वाचन गरेको सम्मेलनमा कथातर्फ प्रेम के निडरले विशेष पुरस्कार प्राप्त गरे भने कृतिका प्रजापतिले सान्त्वना पुरस्कार हात पारिन्। सम्मेलनअघि मध्यपुर थिमीको बोडेस्थित चारदोबाटोबाट शुरु भएको प्रभातफेरी मध्यपुर थिमीको विभिन्न भागको परिक्रमा गरी कार्यक्रमस्थल नगदेशको कुम्हालाछी पुगेर समापन भएको थियो।

स्थानीय नेवारी वाद्यवाधन गुरु रामकृष्ण अवालले उद्घाटन गरेको सम्मेलनमा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले वाम र लोकतान्त्रिक गठबन्धन नेपालको संविधानलाई आफू अनुकूल संशोधन गर्ने भारतीय बिस्तारवादको चाल भएको बताए। उनले भने, 'वाम गठबन्धनमा वाम पार्टीहरु छैनन् भने लोकतान्त्रिक गठबन्धनमा पुरातनपन्थी र अलोकतान्त्रिक पार्टीहरु मात्र छन्।'

सुवालले कम्युनिष्ट नाम भएको दलहरुले आफ्नो पार्टीभित्र गुण्डानाइके र डन हुलेर कम्युनिष्ट आन्दोलनलाई अझ फोहोर र विकृत बनाइरहेको धारणा राखे। आगामी निर्वाचनमा वाम र लोकतान्त्रिक भनिएका गठबन्धनका उम्मेदवारहरुलाई निर्वाचनबाट जिताए देशको सार्वभौमिकता खतरामा पर्ने धारणा राखे।

नेमकिपाका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सदनमा भारतीय विस्तारवादको विरोध र शासक दलहरुको भण्डाफोर गरेका कारण व्यवस्थापिकामा नेमकिपाको उपस्थिति निर्मूलन गर्न शासक दलहरुले थ्रेस होल्ड थोपरेको आरोप लगाए।

वरिष्ठ पत्रकार भैरव रिसालले विभिन्न ऐतिहासिक उदाहरण प्रस्तुत गर्दै नेपाल सधैं सार्वभौम र स्वतन्त्र रहेको तर्कप्रति विमति राखे। समसामयिक अन्तर्राष्ट्रिय राजनीतिबारे चर्चा गर्दै रिसालले संसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अराजनीतिक व्यवहारका कारण चीनका राष्ट्रपति सी जिनपिङले संसारको नेतृत्व गर्न सक्ने बताए।

वरिष्ठ सीमाविद् बुद्धिनारायण श्रेष्ठले नेपालका सरकार बलियो भए विदेशी थिचोमिचो रोक्न गाह्रो काम नभएको विचार राखे। जलस्रोतविद् दीपक ज्ञवालीले नेपालका नदीनालामा नेपाल स्वंयको लगानीमा विद्युत् उत्पादन गर्नुपर्ने धारणा राख्दै देशमा सबल नेतृत्व नआएसम्म प्राकृतिक स्रोत साधनमा विदेशीहरुले आँखा लगाइरहने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.