|

ईश्वर थापा-

    धनकुटा : उद्योग मन्त्री सुनिलबहादुर थापा लोकतान्त्रिक गठबन्धनबाट गृहजिल्ला धनकुटाबाट चुनाव लड्ने भएका छन्। ०४६ को पहिलो जनआन्दोलन पछिको प्रजातन्त्र पुनःसपना संसदीय निर्वाचनमा धनकुटामा राप्रपाले आफ्नो वर्चस्व राख्दै आएको थियो।

     राप्रपा प्रजातान्त्रिकबाट यसपटक पनि हालका २०५६ सालको निर्वाचनमा थापाका बुबा पूर्वप्रधानमन्त्री स्वर्गीय सूर्यबहादुर थापाले तत्कालीन धनकुटा क्षेत्र २ बाट अत्याधिक मतान्तर विजयी भएका थिए भने ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा अत्याधिक मतान्तरले पराजित भएका थिए।

    मन्त्री थापाले ०७० को दोस्रो संविधानसभा निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वीलाई थोरै मतान्तरले पराजित गर्दै थापा हाल दोस्रोपटक मन्त्री बनेका छन्। ०७० सालमै उनका प्रतिद्वन्द्वीसमेत रहेका हालका एमाले अध्यक्ष राजेन्द्र राई वाम गठबन्धनबाट चुनावी मैदान जाने लगभग निश्चित भएको छ।

    धनकुटाको यस्तो छ विगत इतिहास

    प्रतिनिधिसभा र संविधानसभा सदस्य निर्वाचनका लागि पहिले दुईवटा निर्वाचन क्षेत्र रहेको धनकुटामा अहिले एउटा मात्र निर्वाचन क्षेत्र भएको छ। यसपटक धनकुटाबाट चुनाव जित्न भने लोकतान्त्रिक गठबन्धनलाई सहज छैन।

    स्थानीय तह निर्वाचनकै आधारमा मतदान हुने भए एमाले र माओवादीको चुनावी गठबन्धन वाम गठबन्धनपछि लोकतान्त्रिक गठबन्धनको स्थिति पहिलेभन्दा धेरै कमजोर देखिन्छ।

    १४ असारमा सम्पन्न भएको स्थानीय तह निर्वाचनको परिणाम हेर्ने हो भने थापालाई चुनाव जित्न यसपटक धेरै नै कठिन देखिन्छ। तर, नेताको व्यक्तिगत प्रभावले स्थानीय तह निर्वाचनको भन्दा जनमत परिवर्तन हुन पनि सक्छ। वाम गठबन्धनपछि धनकुटामा थापाले पनि कांग्रेस र संघीय समाजवादी फोरमको समर्थनमा लोकतान्त्रिक गठबन्धनबाट थापा चुनाव लड्ने लगभग पक्का भएको हो।

    हुन त धनकुटाको चुनावी माहोल सधंै एकै किसिमको रहेको पनि पाइँदैन। ०५४ को स्थानीय निकायको निर्वाचनमा पनि धनकुटामा राप्रपा र कांग्रेसको नतिजा गत असारमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनको जस्तै धेरै जसो ठाउँमा शून्य नै भएको थियो।

    तर, ०५६ को संसदीय निर्वाचनमा सुनिलका बुबा सूर्यबहादुर थापा अत्याधिक मतले विजयी भएका थिए भने ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा नेकपा माओवादी दुईवटै निर्वाचन क्षेत्र जितेको थियो। त्यस्तै ०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा क्षेत्र न १ मा एमाले र क्षेत्र न २ मा राप्रपा विजयी भएको थियो।

    ०७० सालमा भएको संविधानसभाको दोस्रो निर्वाचनमा थापा १० हजार ९३ मत ल्याएर धनकुटा क्षेत्र न २ बाट विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजेन्द्र राईले ९ हजार ६ सय ३७ मत पाउँदा तत्कालीन एनेकपा माओवादीका हरिराज खेवाले ४ हजार २ सय २५ मत ल्याएका थिए भने काङ्ग्रेसका आनन्दसन्तोषी राईले २ हजार ४ सय २४ र संघीय समाजवादी फोरमका राजकुमार राईले ७ सय ४२ मत पाएका थिए।

    त्यतिबेला अहिलेको वाम गठबन्धन एमाले र माओवादीको मत जोड्दा र अहिलेको लोकतान्त्रिक गठबन्धन राप्रपा, काङ्ग्रेस, संघीय समाजवादी फोरम र राप्रपा नेपालको पनि मत जोड्दा लोकतान्त्रिक गठबन्धन धनकुटा क्षेत्र न २ मा ५ सय ३८ मतले पछाडि परेको थियो।

    अझ पूरै जिल्ला भरिमा त लोकतान्त्रिक गठबन्धन वाम गठबन्धन भन्दा १ हजार ९ सय ६९ मतले पछाडि परेको थियो। त्यतिबेला नै कमजोर रहेको हालको लोकतान्त्रिक गठबन्धन त्यसको ४ वर्षपछि त झनै कमजोर देखिएको छ। गत असारमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा एमालेले जिल्लाका सात वटै स्थानीय तहमा प्रमुख र उपप्रमुख जितेर क्लिन स्विप गरेको थियो।

    एमाले बाहेकका अन्य राजनीतिक दल पनि चुनावमा नखटिएका पनि होइनन्, उनीहरुले जिल्लाभर पार्टीको पक्षमा माहोल बनाएका थिए। तर परिणाम सबै एमालेले हात पार्‍यो।

    अझ लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बन्न लागेका थापाको घर रहेको पाख्रिबास नगरपालिकामा त एमालेले वडासम्म पूरै प्यानल नै जितेको थियो। त्यस्तै वडातर्फको नतिजा हेर्ने हो भने पनि वाम गठबन्धन धेरैले अगाडि आएको छ।

     ६० वटा वडा रहेको धनकुटामा ४९ वटामा एमालेको प्यानल, ४ वटामा कांग्रेसको प्यानल र  एउटा–एउटामा माओवादी केन्द्र र संघीय समाजवादी फोरमका प्यानल विजयी भएका छन्। बाँकी ११ वडामध्ये कांग्रेस ५ र माओवादी केन्द्रका ४ र संघीय समाजवादी फोरम र नयाँ शक्तिले १र१ वडामा वडाध्यक्ष मात्रै विजयी भएका छन्।

    स्थानीय तहको निर्वाचनमा अध्यक्ष वा प्रमुखलाई मात्र पाएको मत हेर्ने हो भने एमालेले जिल्लाभर २९ हजार ३ सय ९८ मत पाएको थियो भने माओवादी केन्द्रले १० हजार २९ मत पाएको थियो। त्यस्तै, एउटा स्थानीय तहमा राप्रपा र दुईवटामा संघीय समाजवादी फोरमसँग चुनावी तालमेल गरेको कांग्रेसले १७ हजार ९ सय ५८ मत ल्याएको थियो।

    यसमा एमाले र माओवादीको मत जोड्दा ३९  हजार ४ सय २७ पुग्छ, जबकि त्यो मत खसेको मतको ५७ दशमलव १३ प्रतिशत हो। यसरी हेर्दा लोकतान्त्रिक गठबन्धनका थापाले स्थानीय चुनावमा एमाले र माओवादीलाई मतदान गरेका धेरै भन्दा धेरै मतदाताको मत आफ्नो पक्षमा पार्नुपर्ने हुन्छ तर, त्यो त्यति सहज भने देखिँदैन।

    सम्वन्धित समाचार

    तपाईको प्रतिक्रिया दिनुहोस्

    तपाईंको ईमेल गोप्य राखिनेछ ।
    This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.