यी भाग्यमानी, जो चुनाव नलडी फेरि सांसद हुँदै छन्

|

काठमाडौं: नेपाली कांग्रेसले प्रजातान्त्रिक मोर्चा निर्माण गरी अन्य दलसँग तालमेल गरी निर्वाचनमा भाग लिने निर्णय गरेसँगै केही प्रभावशाली नेतालाई चुनावी मैदानमा उतारेको छ।

प्रतिनिधिसभा र प्रदेशसभाकf लागि ३२ जिल्लामा आगामी मंसिर १० गते हुने निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ उम्मेदवार बनाउँदा प्रभावशाली केही नेतालाई उम्मेदवार बनाए पनि केहीलाई भने छुटाएको छ। पहिलो चरणमा प्रतिनिधिसभातर्फ हुने ३७ र प्रदेशसभातर्फ हुने ७४ सिटमा कांग्रेसका प्रभावशाली नेता मैदानमा उत्रिएका छन्।

पार्टी पूर्व सहमहामन्त्रीद्वय अर्जुनरसिंह केसी र डा. रामशरण महत प्रतिनिधिसभातर्फ नुवाकोट क्षेत्र नम्बर २ र १ बाट चुनावी मैदानमा उत्रिएका छन्। केन्द्रीय सदस्य बलबहादुर केसी, भीष्मराज आङ्देम्बे र मोहनबहादुर बस्नेत क्रमशः सोलुखुम्वु, पाँचथर र सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभातर्फ उम्मेदवार भएका छन्।

केन्द्रीय सदस्य जीवनबहादुर शाहीले हुम्ला प्रदेश ‘ख’बाट उम्मेदवारी दिएका छन्। पूर्व मन्त्री रोमी गौचन थकालीले मुस्ताङ, पूर्व राज्यमन्त्रीद्वय टेकबहादुर गुरुङ र दीपक खड्काले क्रमश: मनाङ र संखुवासभाबाट प्रतिनिधिसभातर्फ उम्मेदवारी दर्ता गराएका छन्।

यी हुन् टिकटबाट बञ्चित प्रभावशाली नेता

पार्टी नेतृत्वले गुटका आधारमा निर्णय गरी योग्यलाई पाखा लगाउँदै नाता र दातालाई प्राथमिकता दिएको संसदीय समितिकै सदस्यहरूको गुनासो छ। तर नेतृत्वले केहीलाई भने दोहोर्‍याएर समानुपातिकमार्फत पुन: सांसद बनाउने खेल गरिएको छ।

पहिलो चरणमा ३२ जिल्लामा हुने निर्वाचनमा कांग्रेसले केन्द्रीय सदस्य तथा युवा नेता बद्री पाण्डेलाई उनकै गृहजिल्ला बाजुराबाट, पूर्व स्वास्थ्य राज्यमन्त्री तथा तीन पटक जिल्ला सभापति भएका तारामान गुरुङ, पूर्व सांसद ललितजंग शाही, केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे, केन्द्रीय सदस्य रत्न शेरचन, पूर्व सांसद रीता शाहीलाई प्रतिनिधिसभा र प्रदेशसभा कतैबाट पनि उम्मेदवार बनाइएको छैन।

बद्री पाण्डे र सुरेन्द्र पाण्डे नेपाली कांग्रेसमा दुई पटक केन्द्रीय सदस्यमा निर्वाचित युवा नेता हुन्। गुरुङ पार्टीको संखुवासभा जिल्ला सभापति तीन पटक भइसकेका व्यक्ति हुन्। शेरचन पनि दुई पटक केन्द्रीय सदस्य निर्वाचित भएकी हुन्। ललितजंग शाही जुम्लाबाट यसअघिको संविधानसभा निर्वाचनमा विजयी सांसद हुन् भने रीता शाही समानुपातिक सांसद थिइन्।

चुनाव नै नलडी सांसद हुन पाउने यी भाग्यमानी

लगातार समानुपातिकबाट सांसद भएका एक दर्जन बढी नेतालाई भने शीर्ष नेताको आशीर्वाद प्राप्त भएपछि पुन: सांसद हुने मौका पाउँदै छन्। पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलको निगाहमा उनीहरूलाई पुन: समानुपातिकबाटै सांसद बनाउने योजना अघि सारिएको हो। पार्टीले २९ असोजमा निर्वाचन आयोगमा बुझाएको बन्द सूचीमा गत संविधासभा निर्वाचन, २०७० मा समानुपातिकबाट सांसद भएकाको नाम पुन: समावेश गरिएको छ। 

पार्टीका पूर्व महामन्त्री केवी गुरुङ, पूर्व कोषाध्यक्ष चित्रलेखा यादव, पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला, केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना, सीता गुरुङ र सुजाता परियार तथा पूर्व सांसद मधु शाही ठकुरी आदि समानुपातिकमा परेका छन्।

समानुपातिकबाट सांसद भएका संसदीय बोर्डका सदस्य डा. प्रकाशशरण महत पनि समानुपातिकमै बस्ने भएका छन्। तर उनलाई काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रत्यक्षमा चुनाव लड्न पार्टीभित्रैबाट दबाब आएको छ। विगतमा निर्वाचनबाट चुनाव जितेका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, पार्टी कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्य बहादुरसिंह लामा र ज्ञानकुमारी छन्त्याललाई भने यस पटक समानुपातिकमा राखिएको छ।

यसअघि संविधानसभामा चुनाव लडेर पराजित भएका पुष्पा भुषाल, किशोरसिंह राठौर, मीना पाण्डे, पहिलो संविधासभाकी समानुपातिक सांसद लक्ष्मी परियार, महिला संघ अध्यक्ष उमा रेग्मी, संसदीय बोर्डका सदस्य बालकृष्ण खाँडकी श्रीमती मञ्जु खाँड, कोइराला परिवारकी सदस्य मृदुला कोइराला र नयाँ अनुहार रीता खनाललाई पनि समानुपातिक उम्मेदवारको रूपमा समानुपातिकतर्फ बन्द सूचीमा नाम सिफारिस गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.