|

विराटनगरः जुवाडेको खालमा छापा मार्नुभन्दा अगाडि नै प्रहरीबाटै जुवाडेलाई सूचना पुगेपछि पेसेवर जुवाडे प्रहरीको फन्दामा पर्नबाट जोगिएका छन्। 

चाडपर्वको समयमा जुवाजन्य गतिविधि बढेको भन्दै मोरङ प्रहरीले जुवाडे पक्राउ अभियान तीब्र बनाएको थियो। तर, प्रहरी घुमुवाले दिएको सूचनाको आधारमा छापा मार्न पुग्नुअघि नै प्रहरीभित्रैबाट सूचना चुहिँदा कतिपय जुवाडेहरू भाग्न सफल भएका थिए। 

पेसेवर जुवाडेले दिएको पैसाको प्रभोलनमा परी प्रहरीभित्रबाटै सूचना चुहावट हुँदा नगर क्षेत्रमा हुने ठूलो जुवाखालका जुवाडे प्रक्राउ गर्न नसकेको प्रहरी स्रोतकै दाबी छ। ‘हाम्रै प्रहरीभित्रका सीआरभीमा खटिने प्रहरीले जुवाडेलाई सूचना दिँदा पेसेवर जुवाडे उम्किएका छन्’, छापा मार्ने टोलीका एक प्रहरी अधिकृतले भने, ‘सूचना प्राप्त हुनेबित्तिकै छापा मार्न हामी पुग्छौँ, हामी पुग्नेबित्तिकै पेसेवर जुवाडे फरार भइसकेका हुन्छन्।’ प्रहरी निगरानीमा रहेका पेसेवर जुवाडेलाई हालसम्म पक्राउ गर्न नसकिएको स्रोतको भनाइ छ। 

चाडपर्वको समयमा प्रहरीले विराटनगरका विभिन्न स्थानबाट चार दर्जन जुवाडे पक्राउ गरेको छ। चाडपर्वको समयमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले रंगेहात ४८ जना जुवाडेलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ।

चाडपर्वको समयमा जुवाडे पक्राउ परेका हुनाले प्रहरीले अदालतसँग समन्वय गरी हाजिरी जमानतमा छोडेको थियो। पक्राउ परेका जुवाडे सामाजिक क्षेत्रका देखि व्यापारी तथा उद्योगीसमेत रहेका छन्। विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिबाटै प्रहरीको दबाबमा परेका कारण पक्राउ परेकाहरूको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन। प्रहरीले विराटनगर– ९ सहकारी मार्गबाट १३ जना, जामुनगाछीबाट १९ जना र बरगाछीबाट १३ जना जुवाडे पक्राउ गरेको बताएको छ।

पक्राउ परेका जुवाडेलाई आइतबार अदालतमा हाजिर गराई धरौटीमा रिहा गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख अरुणकुमार बीसी जुवाडेको नाम ईमेलमार्फत आउने भन्दै जुवाडेको नाम दिनबाट पन्छिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.