|

पर्वत : विद्यालयमा आवश्यक निजी शिक्षकको नियुक्तिका साथै अन्य खर्च जुटाउन म्याग्दीका दुई विद्यालयले चौँरीपालन थालेका छन्। अन्नपूर्ण गाउँपालिका वडा नम्बर ५ को पाउद्वार मा.वि. र वडा नम्बर ८ को हिमाञ्चल मा.वि. ले विद्यालयको आन्तरिक आम्दानीलाई दिगो बनाउन झण्डै एक दशकदेखि संयुक्तरुपमा चौँरी पालिरहेका हुन्। पाउद्वार मा.वि.का विद्यालय व्यवस्थापन समिति अध्यक्ष भीमप्रसाद तिलिजा भन्छन्, 'हामीले पाउद्वारस्थित खयरबराहामा १ सय ६८ ओटा चौँरी पालेका छौँ। चौँरीको आलो रगत र मासु बेचेर आएको पैसा निजी स्रोतका शिक्षकको तलवभत्ता, विद्यालयको भौतिक पूर्वाधार मर्मत, शैक्षिक साम्रागी खरिदका साथै विद्यार्थीको प्रयोजनको लागि खर्च हुने गरेको छ।'

मनाङबाट ल्याएर पालिएका चौँरीबाट सुरुका केहीवर्ष लगातार घाटा भएको भए पनि अहिले भने वार्षिक झण्डै १० लाख रुपैयाँ आम्दानी हुने गरेको छ। उक्त रकम दुवै विद्यालयले बराबर बाँड्ने गरेका छन्। चौँरीको रेखदेखको लागि दुईजना कर्मचारीलाई २४ हजार तलबमा राखिएको पनि तिलिजाले बताए। सामुदायिक विद्यालयमा दरबन्दी, सेवासुविधा लगायतमा समस्या भएपछि रोमन म्यागासेसे पुरस्कार विजेता महाबीर पुनको प्रयासमा २०५३ सालमा ती विद्यालयमा परीक्षणको रुपमा चौँरीपालन गरिएको थियो।

हिमाञ्चल माविका प्रधानध्यापक रमन पुन भन्छन्, 'नीजीस्रोतका २/२ वटा शिक्षकलाई तलब बाहेक विद्यालयका अन्य थुप्रै आर्थिक काम गर्न धेरै सजिलो भएको छ।' समुन्द्री सतहदेखि ३७ सय ६० मिटरमाथिको उचाइका विभिन्न खर्कहरुका यार्सागुम्बा, निरमसी, लगायतका बहुमुल्य जडिबुटीहरु खाएका चौंरीको तातोतातो रगत पिएमा गानोगोला, तुस, अपच, यौन कमजोरी, हाडजोर्नी, नसा लगायतको रोग निको हुने विश्वासका साथ विभिन्न जिल्लाका मानिसहरु पाउद्धारमा पुग्ने गरेका छन्। एक चौँरीबाट ६५ गिलास जति आलो रगत निकाल्न सकिने र प्रति गिलासको सय रुपैयाँका दरले आउने पैसा नै ती विद्यालयको आम्दानी हो। तर, चौँरीलाई चितुवाबाट जोगाउन भने निकै कठिन हुने गोठालाहरु बताउँछन्।

विद्यालयले पालेका बाहेक अन्य स्थान जलजला, रारावाङ, खोप्रा, चिन्डेखर्क, लहरेनी, खयरखोला लगायतका चरन क्षेत्रमा रहेका याक, नाक (पोथी) चौँरी चितुवाको आक्रमणबाट मर्ने गरेका छन्। एउटा चौँरीको मूल्य ५० हजारदेखि १ लाख रुपैयाँसम्म पर्ने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.