|

चितवनः चितवनमा सोमबार प्लाष्टिकबाट डिजेल निकालेर प्रदर्शन गरिएको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नाष्ट) ललितपुरले चितवनको भरतपुरमा प्लाष्टिकबाट डिजेल निकालेर देखाएको हो।

विगत तीन वर्षको सफल अनुसन्धानपछि अहिले विभिन्न नगरपालिका र महानगरपालिकाहरूमा जानकारी दिने उद्देश्यसहित नाष्टको टोलीले भरतपुर महानगरपालिकामा एक कार्यक्रमका बीच डिजेल निकालेर प्रदर्शन गरेको हो। 

नगरपालिकाहरूले यो प्रविधिलाई प्रयोग गर्न सके प्लाष्टिकजन्य फोहोर व्यवस्थापन गर्न सकिने र उपयोगी काममा समेत लगाउन सकिने भएकाले प्रचारात्क अभियान बोकेर विभिन्न नगरपालिकामा प्रदर्शन गर्दै हिँडेको नाष्टका वैज्ञानिक डा. रविनप्रसाद ढकालले जानकारी दिए। 

नेपालको धनगढी, नेपालगञ्ज, हेटौँडा, रत्ननगरलगायत क्षेत्रमा प्रचारात्मक कार्यक्रम गरेर सोमबार भरतपुर महानगरपालिका आइपुगेको नाष्टको टोलीले आगामी दिनमा पोखरा हुँदै काठमाडौंमा प्रदर्शन गर्ने तयारी गरेको डा. ढकालले बताए। ढकालका अनुसार यो प्रविधि जापानमा आविष्कार गरिएको हो। विश्वका ६५ देशमा यस प्रविधिको प्रयोग भए पनि नेपालमा भने सुरु भएको छैन। 

नेपालको प्लाष्टिकमा गरिएको अध्ययन सफल भएपछि अहिले नाष्टले प्रचारात्मक अभियान थालेको छ। 

यसमा पाइरोलाइसिस मेसिनमा एकतर्फको भागमा प्लाष्टिक राखिन्छ। त्यसलाई अक्सिजनविहीन अवस्थामा ४५० डिग्री तापक्रममा तताएपछि बाफमा परिणत हुने र त्यसपछि अर्काे भागमा फर्निस तेलको रूपमा पानीमाथि तैरिएर निस्कन्छ। त्यसलाई प्रशोधन गरेपछि डिजेल तयार हुने अनुसन्धानकर्ताहरूले बताएका छन्। 

भरतपुरमा आज गरिएको प्रदर्शनमा एक किलो प्लाष्टिकबाट झण्डै ८०० मिलिलिटर डिजेल निकालिएको थियो। 

‘नवीनतम प्रविधिमार्फत् स्थानीय तहमा फोहोर मैला व्यवस्थापनका अवसर’ विषयक आज भरतपुर महानगरपालिकामा भएको छलफल कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका सदस्य सुनिलबाबु श्रेष्ठले प्रविधि राम्रो हुँदाहुँदै पनि यसलाई व्यावसायिक रूपमा लैजान सकिन्छ कि सकिँदैन भनेर अनुसन्धान आवश्यक भएको प्रतिक्रिया दिए।

उनले महानगरले आफैँ नीति निर्माण गरेर गुरुयोजनाअनुसार अघि बढ्न सुझाव दिँदै श्रेष्ठले नमुना नगर बनाउन योजना सफल पार्न वैज्ञानिक फोहोर व्यवस्थापन आवश्यक भएको उल्लेख गरे।

कार्यक्रममा भरतपुर महानगरका उपप्रमुख पार्वती शाहले प्रविधिबारे जानकारी पाएकोमा खुसी व्यक्त गर्दै फोहोरलाई पैसा तिरेर लिने दिन आउने आशा व्यक्त गरिन्।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले प्लाष्टिकबाट तेल कसरी संभव होला भन्ने कौतूहल यो प्रविधिले मेटाइदिएको भन्दै फोहोर व्यवस्थापनमा महानगरले आवश्यक प्रक्रिया सुरु गर्नु जरुरी रहेको औँल्याए। 

उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतम र चितवन उद्योग संघका उपाध्यक्ष राजु पौडेलले मुनाफा हेरेर व्यवसायीहरूले लगानी गर्ने बताउँदै फोहोर व्यवस्थापनमा नीति आउनुपर्नेमा जोड दिए।

अनुसन्धानकर्मीका अनुसार एक नेपालीले दैनिक ३१७ ग्राम फोहोर निकाल्छ। त्यसमा १२ प्रतिशत प्लाष्टिकको फोहोर हुन्छ। प्रशोधन गरेर डिजेल निकाल्ने हो भने अहिले खपत भइरहेको  इन्धनको १० प्रतिशत इन्धन प्लाष्टिकबाट निकाल्न सकिने कार्यक्रममा जनाइएको थियो।

डा. ढकालले नेपालमा दैनिक ४१३ टन प्लाष्टिकबाट २५ लाख किलोलिटर इन्धन निकाल्न सकिने दाबी गरे। नेपालमा फालिएको प्लाष्टिकमध्ये ५० प्रतिशत प्लाष्टिक प्रशोधन गर्न सकिने भ एपनि बाँकी ५० प्रतिशतबाट इन्धन निकाल्न सकिने अनुसन्धानकर्ताहरूले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.