ठूला पार्टीको रोजाइमा परेनन् महिला नेतृ

|

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन मंसिर १० गतेका लागि तोकिएको छ। ३२ जिल्लामा हुने निर्वाचनमा प्रतिनिधिसभाका लागि ३७ र प्रदेशसभामा ७४ सिटका लागि मनोनयन दर्ताको काम सकिएको छ। 

३७ प्रतिनिधिसभा सदस्यका लागि ३२३ जनाको उम्मेदवारी परेको छ। त्यस्तै ७४ जना प्रदेशसभा सदस्यका लागि ४८४ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जानकारी दिएको छ। समग्रमा प्रतिनिधिसभा र प्रदेशसभाका १ सय ११ सिटका लागि ८ सय ७ जना चुनावको मैदानमा उत्रिएका छन्। 

प्रतिनिधिसभा र प्रदेशसभाका ८ सय ७ जनामध्ये प्रमुख तीन दलबाट प्रत्यक्षमा उम्मेदवारी दिने महिला नौजना मात्र रहेका छन्। नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट टिकट पाउनेमा तीन प्रतिनिधिसभा र छजना महिलाले प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्। 

प्रतिनिधिसभा सदस्यका लागि प्रजातान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसले दुई जना र वामगठबन्धनबाट नेकपा माओवादी केन्द्रले एकजना महिलालाई उम्मेदवार बनाएको छ। वामगठबन्धनको प्रमुख घटक नेकपा एमालेले भने एक जना महिलालाई पनि प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छैन। 

नेपाली कांग्रेसले खोटाङबाट सरस्वती बजिमय र बाग्लुङ १ बाट चम्पादेबी खड्कालाई प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनाएको छ। सरस्वती खोटाङमा एमालेका विशाल भट्टराईसँग चुनाव लड्नेछिन भने चम्पादेवीले एमालेका डा.सुर्य पाठकसँग चुनावी प्रतिस्पर्धा गर्दैछिन्।

खोटाङबाट उम्मेदवार रहेकी सरस्वती निर्वतमान सांसद समेत हुन्। बाग्लुङ १ बाट उम्मेदवार बनेकी चम्पादेवी २०७० को संविधानसभा निर्वाचन अन्तर्गत भएको उपनिर्वाचनमा बाग्लुङ क्षेत्र नं १ बाट कांग्रेसबाट चुनाव जितेकी थिइन। राज्यमन्त्री समेत भएकी चम्पादेवी नेपाली कांग्रेसका तत्कालिन सभासद हरिबहादुर खड्काको सडक दुर्घटनामा निधन भएपछि भएको उपनिर्वाचनबाट निर्वाचित सांसद हुन्। उनी हरिबहादु खड्काकी धर्मपत्नी हुन्।

माओवादी केन्द्रले रुकुम (पूर्वी)बाट कमला रोकालाई प्रतिनिधिसभाको उम्मेदवार बनाएको छ। वामगठबन्धनबाट उम्मेदवार बनेकी रोकाले नेपाली कांग्रेसका गोपाल जी जंग शाहसँग प्रतिस्पर्धा गर्नेछिन्।

माओवादी जनयुद्धमा लडाकु रहेकी कमला पहिलो संविधानसभा निर्वाचनमा समानुपातिक सभासद् भएकी थिइन्। उनी डा. बाबुराम भट्टराइ प्रधानमन्त्री हुँदा खेलकुद मन्त्री समेत भएकी थिइन।

प्रदेशसभामा छ महिला भिड्दै

प्रदेशसभा सदस्यमा प्रत्यक्षतर्फ प्रमुख ३ दलबाट ६ जना महिलाले उम्मेदवारी दर्ता गराएका छन्। जसमा वामगठबन्धनको माओवादी केन्द्रबाट ३, नेकपा एमालेबाट १ र नेपाली कांग्रेसबाट २ जना उम्मेदवार रहेका छन्।

राज्यमन्त्री र जेलब्रेकर महिलाउम्मेदवार

वामगठबन्धनबाट माओवादी केन्द्रले राधिका तामाङलाई नुवाकोट १ 'क' बाट प्रदेशसभा उम्मेदवार बनाएको छ। पूर्व कृषि राज्यमन्त्री समेत रहेकी तामाङले जनयुद्धका बेला बिवाह भएको ३७ दिनमै पति गुमाएकी थिइन्। उनी कांग्रेसका महेन्द्र थिङसँग प्रतिस्पर्धा गर्नेछिन।

यसैगरी बझाङ 'ख' बाट माओवादीले प्रदेश नम्बर सातका लागि उम्मेदवार बनाएको छ देवकी मल्ललाई। उनी जनयुद्धमा संलग्न भएकी थिइन् भने माओवादी केन्द्रको महिला संगठन अनेमसंघ क्रान्तिकारीको केन्द्रीय उपाध्यक्ष हुन्। वामगठबन्धनकी उम्मेदवार देवकीले कांग्रेसका नरेशबहादुर सिंहसँग प्रतिस्पर्धा गर्नेछिन।

माओवादी केन्द्रले कमला नहर्कीलाई गोरखा २ 'क'बाट प्रदेशसभाको उम्मेदवार बनाएको छ। अनेमसंघ क्रान्तिकारीको केन्द्रीय सचिव रहेकी नहर्की नवलपरासीको झयाल्टुङडाँडा स्थित माओवादी लडाकुको चौथो डिभिजन अन्तर्गतकी ब्रिग्रेड कमाण्डर थिइन्। चर्चित गोरखा जेल ब्रेकर समेत रहेकी नहर्कीले नयाँ शक्तिका हरिशरण लामिछानेसँग प्रतिस्पर्धा गर्नेछिन।

एमालेकी एक्ली उम्मेदवार 

वामगठबन्धनको प्रमुख घटक नेकपा एमालेले भने प्रतिनिधि सभामा एक जना महिला पनि उठाउन सकेन। गठबन्धनबाट प्राप्त २१ सिटमा एक जना महिला पनि प्रतिनिधिसभाको प्रत्यक्ष उम्मेदवारमा पर्न सकेनन्।

यता प्रदेशसभाको निर्वाचनमा भने एमालेले एक जना महिला मात्र उठाएको छ। एमालेले म्याग्दी 'ख'बाट नरदेवी पुन मगरलाई प्रदेशसभाको प्रत्यक्षतर्फको उम्मेदवार बनाएको छ। दोस्रो संविधानसभाको निर्वाचनमा समानुपातिकतर्फको सांसद रहेकी नरदेवी केपी ओली प्रधानमन्त्रीको पालामा पशुपंक्षी विकास राज्यमन्त्री समेत भएकी थिइन्।

कांग्रेसबाट दुई प्रदेशसभा सदस्य उम्मेदवार

प्रतिनिधिसभाको प्रत्यक्षमा दुई जना महिला उम्मेदवार उठाएको नेपाली कांग्रेसले प्रदेशसभामा पनि दुई जना प्रत्यक्ष महिला उम्मेदवार उठाएको छ। जस अन्तर्गत कांग्रेसले ताप्लेजुङ 'क'बाट लीलादेवी बोखिमलाई प्रदेशसभा सदस्य उम्मेदवार बनाएको छ। उनी नेपाली कांग्रेस ताप्लेजुङका निर्वाचित जिल्ला सभापति हुन्।

यसैगरी नेपाली कांग्रेसले बझाङ 'क' चन्द्रादेवी जोशीलाई प्रदेशसभाको उम्मेदवार बनाएको छ। उनी दोस्रो संविधानसभाको समानुपातिक सभासद हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.