|

रुपन्देही : लामो समयदेखि रोकिएको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको काम पुनः सुचारु भएको छ। चिनियाँ निर्माण कम्पनी नर्थवेष्ट सिभिल एभिएशन एयरपोर्ट कन्सट्रक्सनले व्यवस्थापन परिवर्तन गरी काम शुरु गरेको आयोजना प्रमुख ओम शर्माले जानकारी दिए।

गत फागुनदेखि रोकिएको काम शुरु गर्न नयाँ व्यवस्थापन आएपछि कुनै सह ठेकेदार कम्पनी राखेको छैन। नयाँ व्यवस्थापन आएसँगै दैनिक २ सय भन्दा बढी कामदारले काम गरिरहेको उनले बताए।

स्थानीय स–साना सप्लायर्समार्फत काम अघि बढाएको चिनियाँ कम्पनीलाई उदृत गर्दै आयोजना प्रमुख शर्माले बताए। ‘ठेकेदार कम्पनीले आवश्यक सामग्रीहरु लिजमा लिएर काम थालेको छ भने अरु केही सामग्री चीनको केरुङ्ग मार्ग हुँदै आफै मेशिनहरु ल्याइरहेको हामीलाई जानकारी छ’, उनले भने।

विमानस्थलको काम यहीँ गतिमा अघि बढे अबको ८ महिनामा ५० प्रतिशत काम पूरा हुने आयोजना प्रमुख शर्माले जानकारी दिए। ‘अहिले जुन हिसाबले काम भइरहेको छ, त्यही हिसाबले काम हुने हो भने हामीले धेरै नै प्रगति गर्ने छौं', उनी भन्छन्, 'अबको २ महिनाभित्रमै डेडिकेटेड इलेक्ट्रिक फिडर लाईन जडान हुने छ, जसका लागि विद्युत प्राधिकरणलाई ४ करोड १४ लाख रुपैयाँ बुझाइसकिएको छ।’

उनले आयोजनालाई आवश्यक पर्ने सामग्रीका लागि सरोकारवाला निकायहरुसँग समन्वयन भइरहेको बताउँदै भने,' हामीलाई करीब ३ लाख घनमिटर गिट्टी, ढुंगा, बालुवा आवश्यक पर्छ, यसको अभाव हुन नदिन निरन्तर सहजीकरण भइरहेको छ।’

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विकल्प मानिएको गौतमबुद्ध विमानस्थलको स्तरोन्नतिको काम १५ जनवरी २०१५ देखि सुरु भएको थियो। ६ अर्ब २२ करोड रुपैयाँ लागत रहेको आयोजना डिसेम्बर २०१७ सम्ममा पहिलो चरणको काम पूरा गर्ने सम्झौता चिनियाँ कम्पनीसँग थियो। २०७२ को भूकम्प र त्यस लगत्तै भएको नाकाबन्दीको कारण भन्दै ६ महिना थप गरी परियोजनाको अवधि जुन २०१८ सम्म पुर्‍याएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.