वीरगंज : हिन्दुहरुको महान पर्व तिहार र भैयादुज सकिएसँगै पर्सा, बारा लगायत तराईका जिल्लाहरुमा छठ पर्वको रौनकले गाउघरमा उत्सव छाएको छ।
गाउघरको चोकचोकमा बजाइने छठको गीतले गुञ्जयमान र उत्सवमय बनेपछि छठको रौनक बढेको हो।
विगतका बर्षहरुमा मनाईने छठ पर्वमा भन्दा केहि बर्षदेखि छठघाट सिंगार्ने काम महगों भएको छ। छठ पर्वका लागि वीरगंजको घडिहर्वा, रानीघाट, छपकैया पोखरी, मुर्ली, नगवा लगायत पर्साको ग्रामीण क्षेत्रका मधुबनी, प्रसौनी, पकहामैनपुर, सबैठवा, लहावर थकरी लगायतका छठघाटहरु यतिखेर दुलही झैं सिंगारिदै छ।
यी छठघाटहरुको पण्डाल, झिलीमिली बती र साउण्ड सर्विसमा लाखौ रकम खर्च भएको पर्सा मधुबनीका अगुवा उपेन्द्र सहनीको भनाई छ।
विशेष गरि हिन्दु महिलाहरुले मनाउने छठ पर्वको तयारीमा महिलाहरुलाई भ्याई नभ्याई भएको छ। महिलाहरुले छठको पूजा सामाग्री जुटाउन र किनमेल गर्नमा व्यस्त रहेका छन भने कोही महिलाहरु सामुहिक रुपमा माटोको चुल्हो बनाउने लगायत छठमा आवश्यक पर्ने सामाग्री संकलन गर्नमा व्यस्त छन्।
छठ पर्वलाई आस्था र निष्ठाको पर्वको रुपमा मनाईन्छ। सन्तान प्राप्ती तथा सुख, समृदि, शान्ति, आत्मीयता र सद्भावको प्रतिकका रुपमा पनि यो पर्वलाई लिइने पर्सा विजबनियाकी वर्तालु निर्मला देवीले बताइन्।
छठ पर्व तराईको कृषि संस्कृतिमा आधारित छ। यस पर्वमा धनी, गरिब, उचनिचको भेदभावलाई छोडेर सबै वर्ग, समुदाय एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजाअर्चनाका लागि उभिने गर्छन् जो समन्वय र परस्परा सद्भावले उन्मुख हुने प्रेरणात्मक सङ्केत हो।
पहिला तराईवासीमा मात्र सिमित यो पर्व अहिले राजधानी, पहाडी क्षेत्र र अन्यत्र पनि लोकप्रिय हुँदै आएको छ। महाभारतकालमा द्रोपदीसहित पाण्डवहरू अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी द्रोपदीले सूर्यको आराधना गरेकाले महाभारतकालदेखि नै छठ पर्वको सुरुवात भएको विश्वास गरिन्छ। त्यस्तै अत्रि मुनिका पत्नी सती अनुसुइयाद्वारा सर्वप्रथम छठ पूजा गरिएको प्रसङ्ग सूर्य पुराणमा पाइन्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।