|

  • संजय रेग्मी-

पर्वतः झण्डै एक दशक अगाडिसम्म दैनिक दुई सयको हाराहारीमा पर्यटक आवतजावत गर्ने म्याग्दीका पर्यटकीय स्थल जाने अन्नपूर्ण पदमार्ग अहिले सुनसान बन्दै गएको छ। पदमार्ग हुँदै धुले सडक विस्तार भएपछि प्रचुर संभावना बोकेका पर्यटकीय क्षेत्र तथा पदमार्गको अस्तित्व संकटमा पर्नुका साथै पदमार्गमा पर्ने होटलहरू पनि बन्द हुने अवस्थामा पुगेका छन्।

जिल्लाको प्रमुख पर्यटकीय स्थल अन्नपूर्ण गाउँपालिकाको घोडेपानी जोड्ने विभिन्न पदमार्ग सडकका कारण संकटमा परेपछि पदमार्ग आसपासका होटलहरू बन्द हुने अवस्थामा पुगेका हुन्। घोडेपानी जाने तथा तातोपानी हुँदै मुस्ताङ जाने पर्यटकले प्रयोग गर्ने बेनी–जोमसोम सडकअन्तर्गत पोखरेबगर–घार–शिखगाउँ हुँदै प्रसिद्ध पर्यटकीय स्थल घोडेपानीमा पुग्ने पदमार्गमा सडक विस्तार भएपछि पदमार्गमा हिँड्ने पर्यटकहरू थोरै मात्र भेटिने गरेका छन्। 

अव्यवस्थित पदमार्ग, स्थान परिचय झल्काउने बोर्ड, पदमार्ग चिह्नलगायतका पूर्वाधार नहुँदा पदमार्गी पर्यटकहरूले रुटसमेत परिवर्तन गर्ने गरेको पर्यटन व्यवसायी बताउँछन्। म्याग्दी पुग्नेमध्ये ७० प्रतिशत पर्यटकहरू घोडेपानी पुग्ने गरेका छन्, तर त्यही घोडेपानी जाने पदमार्ग भने सडक विस्तारसँगै पुरिएको छ।

पदमार्गी घटेपछि ठूला र नयाँ होटल खुलेका छैनन् भने भएका पुराना चिया पसल र अन्य होटलहरू पनि ग्राहकको अभावमा बन्द हुने अवस्थामा छन्। सडक विस्तारपछि पदमार्गमा व्यवसाय गरिरहेका अधिकांश होटल बन्द गरेर कृषि तथा अन्य व्यवसायमा लागेका छन्। पदमार्ग नै संकटमा परेपछि घोडेपानी जाने विदेशी पर्यटकहरूले कास्कीको नयाँ पुल, घान्द्रुक हुँदै जाने पदमार्ग रोज्ने गरेका स्थानीय बताउँछन्। 

पदमार्गमा रमाउन आउने पर्यटकलाई मोटरबाटोका कारण समस्या हुने गरेको र पटक पटक गुनासो गर्ने गरेको भए पनि सम्बन्धित निकायले पदमार्ग व्यवस्थित गर्नतर्फ चासो नदेखाएको स्थानीयको भनाइ छ। मोटरबाटो पदमार्ग क्षेत्रबाटै सञ्चालन भएकाले लाखौँ रुपैयाँ नोक्सानी भएको भन्दै स्थानीयले वैकल्पिक मोटरबाटो सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.