|

धनकुटा : पहिलो चरणमा प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन हुने ३२ जिल्लामध्ये प्रदेश नम्बर १ का सात जिल्ला पनि पर्छन्। ताप्लेजुङ, पाँचथर, संखुवासभा, भोजपुर, सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङमा पनि गत आइतबार नै उम्मेदवारी मनोनयन दर्ता भइसकेको छ। 

यी जिल्लामा बलियो पकड बनाएका केही नेता चुनावी मैदानमा उत्रिएका छन्। गत असारमा सम्पन्न स्थानीय तह निर्वाचनमामा दलहरूले पाएको मतको आधारमा कसको सम्भावना के छ त?

ताप्लेजुङ
ताप्लेजुङमा प्रतिनिधिसभा सदस्यका लागि वाम गठबन्धनबाट एमालेका नेता योगेश भट्टराई र कांग्रेसका तर्फबाट केशव दाहाल प्रतिस्पर्धा गर्दैछन्। यहाँ स्थानीय तहको निर्वाचनमा वाम गठबन्धनको २४ हजार ९ सय १७  र कांग्रेसको १९ हजार ५ सय ७२ मत आएको थियो। ताप्लेजुङमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको १२ सय सात मत छ। अन्य दलको अवस्था भने उल्लेख्य छैन।

यो आधारमा यहाँ वाम गठबन्धनको चुनौती सामना गर्न कांग्रेसलाई हम्मेहम्मे पर्ने देखिन्छ। प्रतिनिधिसभा निर्वाचनका लागि एक क्षेत्र रहेको ताप्लेजुङमा ७८ हजार ४ सय ११ मतदाता छन्।

पाँचथर
यहाँ वाम गठबन्धनबाट एमाले नेता वसन्त नेम्वाङ र कांग्रेसका तर्फबाट भीष्मराज आङ्दम्बे चुनावी प्रतिस्पर्धामा छन्। स्थानीय तहको निर्वाचनमा यहाँ वाम गठबन्धनले ४० हजार ४ सय १८ र कांग्रेसले २७ हजार सात सय ७६ मत पाएका थिए। यहाँ राप्रपाको १५ सय र संघीय समाजवादी फोरमको ११ सय हाराहारी मत छ। अन्य दलहरुको उपस्थिति नगण्य छ।

यहाँ वाम गठबन्धन दलको १२ हजार ६ सय ४२ मत बढी देखिन्छ। प्रतिनिधिसभा निर्वाचनका लागि एक क्षेत्र रहेको पाँचथरमा एक लाख २५ हजार दुई सय २२ मतदाता छन्।

संखुवासभा
प्रतिनिधिसभा निर्वाचनका लागि एक निर्वाचन क्षेत्र रहेको प्रदेश नम्बर १ को पूर्वी पहाडी जिल्ला संखुवासभामा एक लाख पाँच हजार ६१ मतदाता छन्। यहाँ माओवादी केन्द्र र एमालेको वाम गठबन्धनबाट एमालेका राजेन्द्र गौतम र कांग्रेसका तर्फबाट दीपक खड्का चुनावी मैदानमा छन्। खड्का पूर्व राज्यमन्त्री हुन्।

गत स्थानीय तह निर्वाचनमा संखुवासभामा वाम गठबन्धनले ३३ हजार ६ सय २४ मत पाएको थियो। कांग्रेसले २७ हजार चार सय ६१ मत ल्याएको थियो। राप्रपाको एक हजार मत छ भने अन्य दलको उपस्थिति शून्यप्रायः छ । यहाँ वाम गठबन्धनलाई हराउन कांग्रेसलाई मुस्किल नै देखिन्छ।

भोजपुर
प्रतिनिधिसभा निर्वाचनका लागि वाम गठबन्धनबाट माओवादीका नेता सुदन किराती र कांग्रेसका तर्फबाट उमेशजंग रायमाझीबीच प्रतिस्पर्धा हुने भएको छ। स्थानीय तह निर्वाचनमा भोजपुरमा वाम गठबन्धनले ३८ हजार ४ सय ५४ मत पाएको थियो भने कांग्रेसले २० हजार पाँच सय ६१ मत ल्याएको थियो। निर्वाचन आयोगको तथ्यांकअनुसार भोजपुरमा एक लाख १३ हजार आठ सय ९६ मतदाता छन्।

सोलुखुम्बु
यहाँ वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका हेमकुमार राई र कांग्रेसबाट बलबहादुर केसीबीच भिडन्त हुँदैछ। स्थानीय तह निर्वाचनमा वाम दलले २१ हजार ६ सय ९९ मत पाएको थियो भने कांग्रेसले १२ हजार सात सय १८ मत ल्याएको थियो। यहाँ पनि वाम गठबन्धनलाई जित्न कांग्रेसलाई मुस्किल नै देखिन्छ। प्रतिनिधिसभाका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुमा ६९ हजार ४ सय २२ मतदाता छन्।

ओखलढुंगा
ओखलढुङ्गामा प्रतिनिधिसभा निर्वाचनका लागि वाम गठबन्धनबाट एमालेका यज्ञराज सुनुवार र कांग्रेसका तर्फबाट रामहरि खतिवडाबीच प्रतिस्पर्धा हुँदैछ। स्थानीय तहको निर्वाचनमा यहाँ वाम गठबन्धन दलले ३३ हजार पाँच सय ३१ मत पाएको थियो भने कांग्रेसले २६ हजार एक सय ५ मत ल्याएको थियो। ओखलढुङ्गामा अन्य तीन दल राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी फोरम र नयाँशक्तिले पाँच सय मत समेत ल्याउन सकेनन्।

दोस्रो संविधानसभा निर्वाचनमा ओखलढुंगा क्षेत्र नं. १ बाट विजयी सुनुवार र २ बाट विजयी खतिवडाबीचको प्रतिस्पर्धा रोचक हुने भएको छ। हाल एक मात्र निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा एक लाख दुई हजार दुई सय ६३ मतदाता छन्। यही एक मात्र क्षेत्रमा दुई नेताबीच भिडन्त हुँदैछ ।

खोटाङ
प्रतिनिधिसभा निर्वाचनका लागि एक निर्वाचन क्षेत्र रहेको खोटाङमा एक लाख २५ हजार एक सय ७८ मतदाता छन्। यहाँ वाम गठबन्धनको तर्फबाट एमाले नेता विशाल भट्टराई र कांग्रेसका तर्फबाट सरस्वती बजिमयबीच प्रतिस्पर्धा हुँदैछ। खोटाङमा गएको स्थानीय तह निर्वाचनमा वाम दलले ३३ हजार ५ सय ३१ मत पाएका थिए। कांग्रेसले २६ हजार १ सय ५ मत ल्याएको थियो। यहाँ खोटाङमा अन्य दलहरूको अवस्था नाजुक छ। उनीहरुले पाँच सय मत कटाउन सकेनन्।

प्रदेश नम्बर १ कै अन्य सात जिल्ला (धनकुटा, तेह्रथुम, इलाम, झापा, मोरङ, सुनसरी र उदयपुर) मा दोस्रो चरणमा मंसिर २१ गते चुनाव हुनेछ। निर्वाचन आयोगको कार्यतालिकाअनुसार बाँकी सात जिल्लामा यही कात्तिक १६ गते उम्मेदवारको मनोनयन हुनेछ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.