|

काठमाडौं : अध्येता उदयराज आलेले नेपालको तराई क्षेत्रमा बसोवास गर्ने आदिवासी थारू जातिको खोज तथा अध्ययन गरी 'थारू: अ रिविलेसन, सागा अफ स्ट्रगल एण्ड सर्भाइभल' शोधग्रन्थ तयार गरेका छन्।

विशेषगरी दाङ देउखुरीमा बसोवास गर्ने थारू जातिलाई केन्द्रित गरी बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत र कपिलवस्तु जिल्लामा बसोवास गरिरहेका थारू जातिको बारेमा आलेले सात वर्ष लगाएर पुस्तक तयार गरेका हुन्।

उक्त शोधग्रन्थमा थारू जातिको चिनारी, जीवनचक्र, संस्कार, जन्म, मृत्यु, विवाह, सामाजिक जीवन, भौतिक र अभौतिक संस्कृति, धर्म, परम्परा, पूजा, भाषा तथा साहित्य र थारू समुदायमा आइरहेको परिवर्तनलगायतका विषयवस्तु समावेश गरिएको छ।

उनले थारू जातिलाई दाङ जिल्लामा बसोवास गर्ने पहिलो जातिका रूपमा उल्लेख गरेका छन्। वर्षौ पहिले तराई क्षेत्रलाई खेतीयोग्य भूमिमा परिणत गर्ने थारू जातिको आफ्नै भाषा, संस्कृति, कला, परम्परा र जीवन पद्धति रहेको पुस्तकमा उल्लेख छ। आधुनिकतामा प्रवेश गर्नुपूर्व थारू समाज व्यवस्थित र संगठित रूपमा सञ्चालित रहेको पनि आलेले बताए।

अध्येयता आलेले थारू जातिको मौलिक संस्कृति, परम्परागत प्रथा गरधुरिया, सामाजिक संस्था खेल, भाषा तथा वेशभूषा, जीवनशैली आदि परिवर्तन हुँदै गइरहेको उल्लेख गरेका छन्।

उनले थारू जातिको महत्त्वपूर्ण परम्परागत कला, सीप, मूल्य मान्यता, सामाजिक संस्था, भाषा र लोकसाहित्य संरक्षण गर्नुपर्नेमा जोड दिएका छन्। आधुनिकीकरण र परसंस्कृतिकरणको प्रभाव थारू जातिमा परिरहेकाले थारू जातिको मौलिक चिनारी जोगाउन राज्य र थारू जातिले ध्यान दिन आवश्यक रहेको सुझाव दिइएको छ।

पुस्तक अंग्रेजी भाषामा तयार गरिएको छ। अंग्रेजी भाषाका कारण नेपालीलगायत विदेशी पाठकलाई उपयोगी हुने लेखक आले बताउँछन्। अध्येता आलेले यसअघि लोपोन्मुख आदिवासी कुसुण्डा जातिको अनुसन्धानात्मक पुस्तक ‘कुसुण्डा जाति र शब्दकोश’ प्रकाशन गरिसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.