|

कालीकोट : विनाविभागीय मन्त्री महेन्द्रबहादुर शाहीले आफूले मन्त्रालय सम्हालेको आधा कार्यकाल त सेल्फी खिच्दै बितेको बताएका छन्। कालीकोटमा वाम गठबन्धनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शाहीले ८३ दिन उर्जा मन्त्रालय सम्हाल्दा आधाजसो दिन त सेल्फी र फोटो खिच्दैमा बितेको बताए।

‘मन्त्री भएपछि करिब ३५ दिन त नेता कार्यकर्ता शुभचिन्तकको बधाई/शुभकामना कार्यक्रममा सहभागी हुँदा र उनीहरुसँग सेल्फी हान्दैमा बित्यो,’ उनले भने, ‘बाँकी रहेका दिनमा मैले उर्जा क्षेत्रमा धेरै काम गरेको छु।’ पत्रकारसंग कुरा गर्दै मन्त्री शाहीले मोबाइल एप्स तथा अनलाइन सेवा मार्फत ग्राहकहरुले विद्युत् महशुल भुक्तानी गर्नसक्ने व्यवस्था गर्नु नै आफ्नो मुख्य सफलता भएको बताए।

उनले विद्युत् खरिद विक्री तथा यसको उत्पादन प्रशारण वितरणलाई व्यवस्थित बनाउन व्यवस्थापिका संसद्बाट विद्ययेक पारित गराई विद्युत नियमन आयोग ऐनसमेत तयार गरेको बताए। ‘मन्त्री भएपछि मैले धेरै काम गर्न सफल भएँ। कर्णाली करिडोर अन्तर्गतको ४०० के.भि. प्रसारण लाइनको डि.पि.आर., विद्युत्को केन्द्रीय प्रसारण लाईन नपुगेको कर्णाली अञ्चलमा राष्ट्रिय प्रसारण ग्रीडबाट विद्युत् जोड्ने प्रक्रियाको सुरुवात गरेको छु,’ उनले भने।

विद्युत् उत्पादन कम्पनीमार्फत फुकोट कर्णाली लगायतका आयोजनाहरुको अध्ययन कार्य सुरु गरिएको, राष्ट्रिय प्रसारण लाइनलाई भविष्यमा समेत विद्युत् आपूर्ति सहज बनाउन ४०० के.भी. को प्रशारण लाइनको गुरुयोजना तयार गरी आवश्यक काम अगाडि बढाइएको उनको भनाइ छ।

मन्त्री शाहीले कालीकोटको प्रदेशसभा निर्वाचन क्षेत्र ख बाट उम्मेदवारी दिएका छन्। प्रदेश नम्बर ६ को मुख्यमन्त्री बनाउने निर्णय पार्टीले गरेपछि शाही प्रतिनिधिसभा छाडेर प्रदेशसभा सदस्यका लागि चुनाव लडेको चर्चा छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.