केन्द्र सरकारको आदेशको अवज्ञा गर्ने तयारी

|

स्पेनको केन्द्रीय संसदले क्याटालोनियाको क्षेत्रीय सरकारलाई दिएका अधिकारहरु फिर्ता लिनसक्ने जनाएको छ। सो विषयमा केन्द्र सरकारले प्रस्ताव पनि गरेको बताइएको छ।

उक्त प्रस्तावलाई स्पेनको संसदको शुक्रबार बस्ने बैठकले अनुमोदन गर्नसक्ने सम्भावना रहेको छ। क्याटालानलाई दिएका के कति अधिकारहरु फिर्ता लिने भन्ने बारेमा स्पेनको संसदमा छलफल हुनेछ।

स्पेनका प्रधानमन्त्री मारिआनो राखोइले क्याटालनको क्षेत्रीय सरकारलाई बर्खास्त गर्ने तयारी स्पेन सरकारले गरेको जानकारी यसअघि नै दिएका थिए।

साथै त्यहाँको संसदलाई यसअघि केन्द्रीय सरकारबाट प्राप्त स्वतन्त्रतासम्बन्धी केही अधिकारहरु कटौती गर्ने योजना पनि स्पेन सरकारको रहेको उनले बताएका थिए।

उता क्याटालोनियाको क्षेत्रीय संसदले भने आगामी बिहीबार नै क्षेत्रीय संसदको बैठक बोलाएको छ। स्पेन सरकारले उसलाई अधिकारविहीन बनाउनसक्ने अनुमान गरिएकोले अगावै यो बैठक बोलाएको पाइएको छ।

स्पेनको संसद, सिनेटभन्दा एक दिन अगाडि नै अर्थात बिहीबार नै बैठक बस्ने घोषणा उक्त क्षेत्रीय सरकारले गरेको छ।

क्याटालान संसदमा स्पेनको केन्द्रीय संसदले आफ्नो नियन्त्रण कायम गर्न चालेको कदमका विरुद्धमा अथवा सो कदमप्रति के कस्तो गृहकार्य गर्ने भन्ने बारेमा त्यस बैठकमा छलफल गरिने बताइएको छ।

क्याटालान क्षेत्रीय संसद र स्पेन सरकारकाबीचमा पछिल्लो यस समयमा शक्ति संघर्ष जारी नै रहेका बेला क्याटालान संसदले नै एकतर्फी रुपमा स्वतन्त्रताको घोषणा गर्नसक्ने अनुमानका समाचारहरु पनि आइ नै रहेका छन्।

त्यसैले पनि अहिले क्याटालान स्वतन्त्रताको पक्षमा रहेका पृथकतावादी नेताहरुले भने स्पेनको केन्द्रीय सरकारले दिने कुनै पनि आदेश पालना नगर्ने अथवा शान्तिपूर्ण अवज्ञा गर्ने योजना बनाएको पनि बताएका छन्।

केन्द्र सरकार क्याटालान जनताको चाहना विपरीत लागेको आरोप पनि लगाएका बताइएको छ। त्यसैले यी सबै विषयअरुमा विहीबार बैठक बसेर क्याटलान संसदले आफ्नो योजनाहरु सार्वजनिक गर्ने बताइएको छ।

साथै स्वतन्त्रताका पक्षधर नेताहरुले एकतर्फी रुपमा आफ्नो यसअघिको स्वतन्त्रताको घोषणालाई नै अनुमोदन गर्नसक्नेगरी निर्णय लिन सक्ने आशंका गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.