|

सुर्खेतः वीरेन्द्रनगर नगरपालिकाले बजारका सडक अतिक्रमण गरेर राखिएका ठेला व्यवसायलाई व्यवस्थित गर्न सुरु गरेपछि अतिक्रमणकारीले विरोध गरेका छन्। 

बजार क्षेत्रका साँघुरा सडक र गल्लीका बीचमा मनपरी ढंगबाट राखिएका ठेलाले बजारको सुन्दरतालाई कुरूप बनाएको भन्दै नगर प्रहरी कार्यालय वीरेन्द्रनगर र वीरेन्द्रनगर नगरपालिका– ६ को वडा कार्यालयको संयुक्त पहलमा सडकका ठेला हटाउन सुरु गरिएको थियो। 

ठेला व्यवसायलाई व्यवस्थित गर्न प्रशासनले दसैँ र तिहारको समयमा उपभोक्तालाई ध्यानमा राख्दै ठेला संचालन गर्न दिएको थियो।

दसैँ तिहार सकिएलगत्तै ठेला हटाउने पूर्व जानकारीअनुसार नै हटाउन थालिएको वीरेन्द्रनगर नगरपालिकाका- ६ का वडा अध्यक्ष मोतीप्रसाद कँडेलले बताए।
कँडेलले व्यस्त रहने बीच बजारका सडकको पेटीमा व्यवसाय गर्न पाउनुपर्ने ठेला व्यवसायीहरूको माग रहेको र यसो गर्न नमिल्ने प्रस्ट पारे। 

ठेला व्यवसायी भन्छन्, ‘ठाउँ तोकिदिनुस्’

ठेला व्यवसायीहरूले भने वडा कार्यालय र ट्राफिक प्रहरीले ज्यादती गर्दै आफूहरूलाई हटाउन लागेको बताएका छन्। ठेला व्यवसायी अनिस मन्सुरीले वीरेन्द्रनगर नगरपालिकाले आफूहरूलाई व्यापार गर्नका लागि निश्चित ठाउँ नतोकेर हटाउन खोजेको भन्दै आपत्ति प्रकट गरे।

उनले आफूहरूले बीच बजारमै ठेला व्यवसाय गर्न पाउनुपर्छ नभनेको भन्दै नगरपालिकाले निश्चित ठाउँ तोकेमा त्यही ठाउँमा व्यवसाय गर्न सहमत भएको बताए।
व्यवसायीहरूले फुटपाथमा फलफूल व्यवसाय गर्दै आएका व्यापारीमाथि नगरपालिका र ट्राफिकले मनपरी रूपमा जरिवाना काट्ने गरेको आरोपसमेत लगाएका छन्।

सडकमै पोखियो फलफूल

नगरपालिका र ट्राफिक प्रहरीले सडकमा राखिएका ठेलालाई हटाउन आग्रह गर्दै अटेर गर्ने व्यवसायीका ठेला नियन्त्रणमा लिएर वीरेन्द्रनगर– ६ को वडा कार्यालयमा बुझाएको थियो। ठेला व्यवसायीहरूले भने नगरपालिका र ट्राफिक प्रहरीको विरोध स्वरूप वडा कार्यालय अगाडि पुर्‍याएका ठेलामा राखिएको फलफूल सडकमै पोखिदिएका छन्। निश्चित मापदण्डविना नगरपालिका र ट्राफिक प्रहरीले आफूहरूमाथि ज्यादती गरेको फलफूल व्यवसायीहरूको आरोप छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.