|
File Photo

  • अरुणकुमार यादव 

सप्तरी : लक्ष्मी पूजा र भाइटीका सकिएपछि सप्तरीसहित मिथिलाञ्चल र पहाड, हिमाल तथा तराई मधेशमा आजदेखि विधिवत्रुपमा छठपर्व सुरु भएको छ।

सप्तरीमा छठपर्व मनाउनका लागि धमाधम तयारी भइरहेको छ भने पूजा सामग्री किनमेलका लागि अहिले बजारमा निकै चहलपहल बढेको पाइएको छ।

चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन अर्थात् आज अरबा–अरबाइन, दोस्रो दिन खरना, तेस्रो दिन बेलुकी अस्ताउन लागेको सूर्य र चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिई पूजा गरी छठ सम्पन्न हुने परम्परा छ।

छठ पूजाका लागि आवश्यक पर्ने सामानलाई चोखो राख्न व्रतालुले विशेष रूपमा रेखदेख गर्छन् भने यस पर्वमा फलफूल, अदुवाको बोट, उखु, सुठुनी, पानी फल, नरिबल, बोडी, नाङ्लो, कन्या, ढकी, माटोको दियो र कराइ आवश्यक पर्ने भएकाले अहिले सदरमुकाम राजविराजलगायत विभिन्न बजारमा समान किनमेलको काम बजारमा भइरहेको पाइएको छ।

जिल्लाको कञ्चनपुर, भारदह, हनुमाननगर, कल्याणपुर, रुपनी, वीरेन्द्र बजार, विसनपुर, बोदेवरसाइन, कदमहालगायतका बजारमा छठपर्वका लागि सामान किनमेल गर्ने व्रतालु महिलाको चहलपहल बढेको छ।

पूर्णरूपमा शाकाहारी हुने यो पर्वमा ठकुवा, भुसुना, फलफूल र अन्य सामग्रीले विशेष महत्व राख्दछ। यस्तै, छठपर्व मनाउनका लागि विभिन्न जलाशय सजाउने कार्यसमेत सुरु भइसकेको छ। 

राजविराज नगरपालिका–१ स्थित भगवती पोखरी, वडा नं ३ का कल्टु दास पोखरी, सकलदेव दास पोखरी, तुरन्ती पोखरी तथा जिल्लाको कञ्चनपुर, भारदह, हनुमाननगर, जोगीनीया, सकरदही, रुपनी, कल्याणपुर र सप्तकोशी ब्यारेजसहित दर्जनौँ ठाउँमा घाट बनाएर भव्यतापूर्वक पूजापाठ गर्ने तयारी भइरहेको सकरदहीका प्रवेशकुमार यादवले बताए।

हनुमाननगर कंकालनी नगरपालिका–१ भारदहस्थित कोशी ब्यारेजमा सप्तरी, सुनसरी, सिरहासहित सीमावर्ती भारतको विहार र सुपोल जिल्लाबाट समेत श्रद्धालु यहाँ छठपर्व मनाउन आउने गरेको र अहिले कोशी ब्यारेजमा घाट बनाउने र सजाउने कामसमेत भइरहेको यादवले जानकारी दिए।

सुरुमा तराइवासीले मात्र मनाउने यो पर्व हिजोआज अन्य जाति एवं राजधानीलगायत पहाडी क्षेत्रमा समेत मनाउन थालिएपछि सरकारले छठपर्वको अवसरमा सार्वजनिक बिदासमेत दिने गरेको छ।

निर्धनता र निःसन्तान हुनुबाट मुक्ति पाउन एवं मानव जातिको उत्थान गर्न र आरोग्यका लागि यो पर्व मनाउने गरिन्छ। सूर्यको आराधनाबाट चर्मरोग निको हुने, सन्तान र धनलाभ हुने जनविश्वास छ। आरोग्य र दीर्घायुसँग जोडिएको छठपर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्य पनि पाइन्छ।

छठ पर्वको पहिलो दिन चतुर्थीमा व्रतालु महिला एवं पुरुष नित्यकर्मपछि शुद्ध शाकाहारी खाना खान्छन्। यसलाई ‘नहाय खाय’ अर्थात् नुहाएर खानु भनिन्छ। यो दिन नुहाइ, धुवाइ, चोखो भई व्रतालु महिला एवं पुरुषले लसुन, प्याज नहाली कालो नून प्रयोग गरी खाना खाने गर्छन्।

यस्तै, दोस्रो दिन पञ्चमीमा दिनभरि उपवास बसिन्छ, यस दिनलाई ‘खरना’ भनिन्छ। गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर व्रती यो दिन दिनभरि उपवास बस्ने गर्छन्।

खरनालाई पापको क्षय हुने दिन पनि भनिन्छ। यो दिन बेलुकीपख चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुलोमा र माटोकै नयाँ भाँडोमा सख्खर, दूध र चामलको खीर पकाइन्छ। सो खीर केराको पातमा राखेर छठीमातालाई चढाइन्छ र चढाइसकेपछि व्रतीले प्रसादका रूपमा ग्रहण गर्छन्। परिवारका अन्य सदस्यले पनि यसलाई प्रसादको रूपमा ग्रहण गर्ने चलन रहेको छ।

पर्वको तेस्रो दिन षष्ठी उपवास बसेका व्रतालु साँझपख जलाशयमा गई अस्ताउँदो सूर्यको पूजा गर्ने गर्छन् र चौथो दिन बिहान पुनः जलाशयमा गई उदाउँदो सूर्यको पूजा गरी छठ पर्व समाप्त हुन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.