|

उदयपुर : त्रियुगा नगरपालिका– २ खैजनपुरका भेषबहादुर विसंखेले यसवर्षको तिहारमा दुई लाख रुपैयँको मादल बिक्री गरे। मादल बिक्रीको मुख्य सिजन मानिने तिहारमा उनले विभिन्न प्रकारका धुन बज्ने मादल गत वर्ष भन्दा बढी नै बिक्री गरे।

पूर्वी नेपालमा बसोबास गर्ने विभिन्न जातजातिले प्रयोग गर्ने ढोल, ढ्याङ्ग्रो, नाल, ड्रमसेट, ट्याम्को, डम्फु लगायतका बाजा बढी बिक्री भएको विसंखेले बताए। ‘यस वर्ष अघिल्लो वर्षका तिहारभन्दा धेरै ब्यापार भयो,’ उनले भने, ‘खर्च कटाएर दुई लाख आम्दानी गरेछु।’

भेषबहादुरले रोजगारीको लागि भारतको पटना जाँदा मादल, ढोल, ढ्याङ्ग्रो, नाल, ड्रमसेट, ट्याम्को, डम्फु बनाउन सिकेका थिए। स्थानीय सामानहरुको प्रयोग गरेर बाजा बनाउने गरेको उनले बताए। ‘पटनामा अरु काम पाइन,’उनले भने, ‘१० वर्ष बस्दा ६४ प्रकारका बाजा बनाउन सिकेको थिएँ, अहिले आफ्नै गाउँमा व्यवसायिक रुपमा उत्पादन गरेर बिक्री गर्न थालेको छु।’

उनले बार्षिक रुपमा २ सय थान मादल र ढोल, ढ्याङ्ग्रो, नाल, ड्रमसेट, ट्याम्को, डम्फु लगायतका बाजा गरी ६० थान बिक्री गर्ने गरेको बताए। ‘यसवर्ष दुई सयवटा भन्दा बढी मादल मात्र बिक्री भयो,’ भेषबहादुरले भने, ‘मादलको लागि मलाई दसैं आगाडिदेखिनै अग्रिम भुक्तानी आएको थियो।’

उनले प्रतिगोटा २ हजारदेखि ५ हजार रुपैयाँसम्ममा मादल बिक्री गर्ने गरेका छन्। वार्षिक रुपमा मादल बनाएरै दुईदेखि चार लाख कमाउने विसंखेले यसवर्षदेखि मामा बिर्खबहादुर मोदेलाई समेत रोजगारी दिए। 'मैले मात्र बनाएर भ्याइन,’मादल बनाउदै गर्दा थाहाखबरसँगको कुराकानीमा उनले भने, ‘मामालाई मासिक १७ हजारदेखि माथि बिक्री हेरेर पैसा दिने शर्तमा राखेको छु।’

बिसंखेकोमा मादल किन्न गाईघाट, फत्तेपुर, बेल्टार, धरान, इटहरी, लाहान, विराटनगरसम्मका ब्यापारी समेत आउँछन्। ‘व्यापारी घरमै आएर अग्रिम पैसा दिएर जान्छन्,’ मादल बनाउन भेषबहादुरलाई साथ दिदै आएका बिर्खबहादुर मोदेले भने, ‘हिजोआज गाउँघरमा हुने हरेक उत्सव र चाडपर्वमा प्रयोग हुने लोकबाजाको माग बढी छ।'

बाँस, काठ र छालाबाट बनाइने ढोल, ढ्याङग्रो, नाल, ड्रमसेट, ट्याम्को, डम्फु र मादलको माग बढ्दो छ। ‘सबै सामान ठिक्क रहेको अवस्थामा दैनिक ६ ओटा बनाउन सकिन्छ,’ विसंखेले भने, ‘ढोल, ढ्याङ्ग्रो, नाल, ड्रमसेट, ट्याम्को, डम्फुलाई झन धेरै दिन लाग्छ।' उनका अनुसार प्रयोग गरिएको कच्चापदार्थको मूल्य जोडेर मात्र ढोल, ढ्याङ्ग्रो, नाल, ड्रमसेट, ट्याम्को, डम्फको मुल्य तोकिन्छ । भेषबहादुरको ७ छोरी, १ छोरा र आमासहित ११ जनाको परिवार छ। परिवारको खर्च कटाएर उनले मादल बनाएकै रकमले पक्की घर समेत बनाएका छन्।

सोमबार घरमै ढोल बनाउँदै गरेको अवस्थामा भेटिएका विसंखेले ढोल, ढ्याङ्ग्रो, नाल, ड्रमसेट, ट्याम्को, डम्फु र मादल बनाउने पेशा व्यवसायी बन्दै गएको समेत बताए। ‘यस पटकबाट वार्षिक आम्दानी बढ्ने भएको छ,’ उनले भने, ‘वार्षिक रुपमा पाँच लाखभन्दा बढी आम्दानी हुने देखेको छु।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.