|

गुल्मी : गुल्मीका एक युवकले जापान छोडेर आफ्नै गाउँमै व्यावसायिक केराखेती गरेर राम्रो आम्दानी गर्न सफल भएका छन्। मुसिकोट नगरपालिका–१ भर्माचौर निवासी ४४ वर्षीय चन्द्रमणि घिमिरेले व्यावसायिक केराखेतीसँगै मेवा, खुर्सानी र कुखुरापालन व्यवसायबाट झण्डै डेढ वर्षमा १० लाख रुपैयाँ आम्दानी गर्न सफल भएका हुन्।  

घिमिरेले झण्डै चार रोपनी जग्गामा एक वर्षयता आफ्नै खेतमा ४० हजारको लगानीबाट २८० केराको बोट लगाएर शुरु गरेको केराखेती वृद्धि हुँदै झण्डै ८०० केराका घरीसम्म विस्तार भएको छ। घिमिरे रोजगारीको सिलसिलामा विदेशका विभिन्न देशमा नौ वर्ष दुःख पीडा भोग्दै पछिल्लो समयमा जापानमा तीनवर्ष बिताएर स्वदेश फर्केर अब आफ्नै गाउँघरमा सानोतिनो व्यवसायको शुरुवातको थालनी गरेको घिमिरे बताउँछन्।

युवाले विदेश जाने सपना त्यागेर आफ्नै गाउँघरमा सानोतिनो पेसा व्यवसाय वा आधुनिक कृषि गरेर पनि मनग्य आम्दानी गर्न सकिने घिमिरेको भनाइ छ। उनी युवाहरुलाई आफ्नो सिको गरेर विदेश जानुभन्दा आफ्नै जन्मभूमिमा केही गरेर आत्मनिर्भर भएर बाँच्न सकिने सुझाव दिन्छन्। घिमिरेले निरन्तर रुपमा मेहनत र परिश्रम गरेरै आफ्नै गाउँघरमा केही गर्ने हो भने स्वदेशमै सुन फलाउन सकिन्छ भन्ने एउटा गतिलो उदाहरण प्रस्तुत गरेका छन्।

व्यवसायबाट आफू सन्तुष्ट भएको भन्दै जापानको कमाइ गाउँमै गर्दै आएका घिमिरे आफ्नो केरा व्यवसायलाई अझ वृद्धि गर्दै लैजाने र गाउँलाई नै केरामय बनाउने सोचमा छन्। घिमिरेले हाल तीन स्थानीय जात अन्तर्गत फुस्रे, झोप्रे, मुहुरे र तीन उन्नत जातअन्तर्गत चिनी केरा, झापाली माल्भोग र मनिपुरे माल्भोग जात गरी छ जातका व्यावसायिक केराखेती गरिरहेका छन्। 

आफूले उत्पादन गरेका केरा, खुर्सानी, मेवा र कुखुरा आदिको राम्रो व्यापारले गर्दा बजारमा मागअनुसार उत्पादित वस्तु आफूले बजारमा पुर्‍याउन नसकेको घिमिरे बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.