|

धादिङ : धादिङ तुलनात्मक रुपमा कम्युनिष्ट प्रभाव रहेको जिल्ला हो। जुन यसअघिका निर्वाचनहरुको नतिजाले पनि देखाउँछ। यसअघि ३ वटा निर्वाचन क्षेत्र रहेको धादिङमा हाल २ निर्वाचन क्षेत्र छन्। यहाँबाट २०६४ सालमा ३ वटै क्षेत्र माओवादी र २०७० मा तीनवटै क्षेत्र एमालेले जितेका थिए। अहिले यी दुई दल एउटै मोर्चामा छन्। अर्कोतर्फ कांग्रेस राप्रपासँग मिलेर प्रतिस्पर्धामा छ।

धादिङमा यसपटक रोचक के भएको छ भने, प्रभावशाली नेताहरु प्रदेशसभा सदस्यका लागि प्रतिस्पर्धामा छन्। प्रदेश नम्बर ३ को मुख्यमन्त्री बन्ने लक्ष्यका साथ एमाले नेता राजेन्द्र पाण्डेले प्रदेशतर्फ उम्मेदवारी दिएका छन्। उनैलाई २०६४ मा हराएका तथा हाल जिल्लामा माओवादी केन्द्रको नेतृत्व सम्हालिरहेका शालिकराम जमरकट्टेल पनि प्रदेशमै बसेका छन्। कांग्रेसका जिल्ला समापति रमेश धमलाको उम्मेदवारी पनि प्रदेशसभा सदस्यका लागि नै छ।

धादिङ – १ : वाम गठबन्धनको वर्चश्व

धादिङ क्षेत्र नम्बर १ एमालेको प्रभाव क्षेत्र हो। स्थानीय तह निर्वाचन र संविधानसभाका दुवै निर्वाचनमा कांग्रेसभन्दा बढी मत ल्याएको माओवादीसमेत मिलेपछि यहाँ कांग्रेसका लागि निकै कठिन अवस्था छ। २०६४ मा माओवादीका शालिकराम जम्कट्टेल र ०७० मा एमालेका राजेन्द्र पाण्डेले जितेको साविक ३ नम्बर क्षेत्रमा तत्कालीन २ नम्बरको केही भू–भाग मिसाएर निर्वाचन क्षेत्र नम्बर १ बनाइएको छ। धुनिबेसी नगरपालिका तथा थाक्रे, गल्छी, गजुरी, सिद्धलेक र वेनीघाट रोराङ गाउँपालिका यस क्षेत्रमा पर्छन्। स्थानीय चुनावमा माओवादी केन्द्रले जितेको वेनीघाटबाहेक अन्य ५ वटै स्थानीय तहमा एमाले विजयी भएको थियो। 

धादिङ १ मा वाम गठबन्धनबाट एमालेका जिल्ला अध्यक्ष भूमि त्रिपाठी उम्मेदवार छन्। रोचक त के भने पूर्वसभासदद्वय पाण्डे र जमरकट्टेल यसपटक क्रमशः क्षेत्र नम्बर १ (क) र १ (ख) बाट प्रदेशसभा सदस्यका लागि प्रतिस्पर्धामा छन्। कांग्रेसले प्रतिनिधिसभातर्फ विश्वप्रसाद अर्याललाई उम्मेदवार बनाएको छ। प्रदेशतर्फ कांग्रेसबाट १ (क) मा मधुकुमार श्रेष्ठ र १ (ख) मा प्रभातकिरण सुवेदी उम्मेदवार छन्। उद्योग वाणिज्य संघका पूर्वअध्यक्षसमेत रहेका सुवेदी स्थानीय तह चुनावअघि माओवादीबाट कांग्रेसमा प्रवेश गरेका थिए।

एमाले एक्लै पनि निकै बलियो रहेको अवस्थामा माओवादीसमेत मिल्दा कांग्रेसलाई यस क्षेत्रमा प्रतिस्पर्धा गर्न निकै कठिन रहेको स्थानीय तहको मत परिणामले देखाउँछ। अध्यक्ष तथा प्रमुखमा कांग्रेस माओवादी तालमेल भएकाले वडामा प्राप्त मतलाई हामीले यहाँ उल्लेख गरेका छौं। वडा अध्यक्षहरुले पाएको समग्र मतलाई हेर्दा एमाले निकै अघि छ। यस क्षेत्रमा राप्रपाको खासै प्रभाव छैन।

एमाले ३५,१८२
माओवादी २०,९८४
जम्मा : ५६,१६६ (वाम गठबन्धन)

कांग्रेस १९,१७७
राप्रपा १,४१४
जम्मा २०,५९१ (लोकतान्त्रिक गठबन्धन)

धादिङ – २ राप्रपाको साथले प्रतिस्पर्धामा कांग्रेस

धादिङ क्षेत्र नम्बर २ साविकको निर्वाचन क्षेत्र नम्बर १ सिंगै र तत्कालीन २ नं. निर्वाचन क्षेत्रको आधाभन्दा बढी भू–भाग मिलाएर बनाइएको छ। यस क्षेत्रमा नीलकण्ठ नगरपालिकाका अलावा ज्वालामुखी, त्रिपुरासुन्दरी, खनियाबास, नेत्रावती, गंगाजमुना र रुवी भ्याली गाउँपालिका पर्छन्। स्थानीय तह निर्वाचनमा नीलकण्ठ, ज्वालामुखी र खनियाबासमा कांग्रेस, रुवी भ्यालीमा राप्रपा र बाँकी ३ वटामा एमाले विजयी भएको थियो।

संविधान सभाको दोस्रो निर्वाचन २०७० मा साविकको १ नम्बर क्षेत्रबाट एमालेका धनबहादुर घले र २ बाट एमालेकै गुरु बुर्लाकोटी विजयी भएका थिए। त्यसअघि २०६४ मा क्रमशः माओवादीका पुष्पविक्रम मल्ल र कल्पना धमला निर्वाचित भएका थिए।

यो राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङको क्षेत्र पनि हो। सोही कारण यस क्षेत्रमा राप्रपाको पनि प्रभाव छ। स्थानीय चुनाव रुवी भ्याली गाउँपालिकाबाट नै हो राप्रपाले जितको खाता खोलेको। अहिले बुद्धिमानका भाइ डम्बर तामाङ प्रदेश सभा सदस्यका लागि उम्मेदवार बनेका छन्। प्रतिनिधिसभामा भने राप्रपाले कानुन न्याय तथा संसदीय व्यवस्था राज्यमन्त्रीसमेत रहेका कांग्रेस उम्मेदवार दिलमान पाख्रिनलाई सघाउने भएको छ। वाम गठबनधनबाट एमाले नेता एवम् पूर्वजिविस सभापति खेम लोहनी प्रतिस्पर्धामा छन्। 

प्रदेशतर्फ २ (क) मा वाम गठबन्धनबाट एमालेका रामकुमार अधिकारी र लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका जिल्ला सभापति रमेश धमला तथा २ (ख) मा वाम गठबन्धनबाट माओवादीका जगत सिंखडा तथा लोकतान्त्रिक गठबन्धनबाट राप्रपाका डम्बर तामाङ प्रतिस्पर्धामा छन्।

तामाङ, नेवार, मगर लगायत जनजाति समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा जनजाति उम्मेदवार उठाएको र राप्रपाकोसमेत साथ मिलेकाले कांग्रेसले यस क्षेत्रमा वाम गठबन्धनलाई कडा चुनौती दिने अनुमान गरिएको छ। यद्यपि स्थानीय तह निर्वाचनमा प्राप्त मतलाई हेर्ने हो भने वाम गठबन्धन निकै अघि देखिन्छ।

एमाले २३,८११
माओवादी १४,१०२
जम्मा : ३७,९१३ (वाम गठबन्धन)

कांग्रेस २५,२२८
राप्रपा ३,३४५
जम्मा : २८,५७३ (लोकतान्त्रिक गठबन्धन)

त्यसो त स्थानीय तह निर्वाचन फरक परिस्थितिमा भएको थियो। उम्मेदवार फरक-फरक थिए। त्यतिबेला कांग्रेस-माओवादी तालमेल थियो, अहिले एमाले-माओवादी एकसाथ छन्। आसन्न निर्वाचनमा स्थानीय तह निर्वाचनको जस्तै नतिजा आउँछ कि त्यसमा तलमाथि हुन्छ, त्यो भने हेर्न बाँकी नै छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.