|

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दलहरुले गठबन्धन बनाएर प्रतिस्पर्धा गर्दा धेरै आकांक्षी व्यवस्थापन गर्न कठिन भएको छ। त्यसैले कतिपय निर्वाचन क्षेत्रमा गठबन्धन र दलको आधिकारिक उम्मेदवार विरुद्ध पनि बागी उम्मेदवारी परेको छ। कतिपय निर्वाचन क्षेत्रमा भने यसअघिका सांसद र दलका चर्चित नेताहरु नै उम्मेदवार बन्नबाट वञ्चित रहे। 

बाम गठबन्धनका कारण एमाले, माओवादीका थुप्रै उम्मेदवारका आकांक्षी कार्यकर्ताहरु छुटेका छन्। बाम गठबन्धनको मुख्य दल एमालेका केन्द्रीय तहका नेता, पूर्व मन्त्रीहरु, पूर्व सांसद्हरु तथा पुराना नेताहरु छुट्न पुगेका छन्। प्रत्यक्ष तथा समानुपातिक दुवै निर्वाचन पद्धतितर्फ उम्मेदवारी दिनबाट वञ्चित भएका नेताहरु हामीले खोज्ने प्रयास गरेका छौं। 

को कहाँ छुटे ?

संखुवासभा घर भएका एमाले पोलिटब्युरो सदस्य परशुराम मेघी गुरुङ यस पटक उम्मेदवार बन्नबाट वञ्चित भएका छन्। संखुवासभाबाट प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन पद्धतितर्फ सिफारिस भएका नेता गुरुङ अन्तिममा भने छनोटमा परेनन्। उनी एमालेको नवौं राष्ट्रिय महाधिवेशनमा सचिवमा पराजित भएका थिए।

यसैगरी संखुवासभाकै पूर्व सांसद हरि बैरागी पनि उम्मेदवार हुन पाएनन्। नेता बैरागीको संखुवासभा प्रदेश सभा निर्वाचन क्षेत्र 'ख'बाट सिफारिसमा परेका थिए।

भोजपुर जिल्लामा यसपटक एमालेका ३ चर्चित नेता उम्मेदवार हुनबाट बञ्चित भए। २०७० सालको संविधानसभा निर्वाचनमा भोजपुर क्षेत्र नम्बर १ बाट निर्वाचित पूर्व पर्यटन मन्त्री कृपासुर शेर्पा यसपटक उम्मेदवार हुन पाएनन्। 

एमाले केन्द्रीय सदस्य तथा युवा संघका पूर्व केन्द्रीय उपाध्यक्ष हरि राई पनि यसपटक उम्मेदवार बन्न पाएनन्। उनी प्रदेश सभाका लागि जिल्लाबाट सिफारिस भए पनि उनी अन्तिममा उम्मेदवार चयन भएनन्। 

निवर्तमान सांसद तथा एमाले केन्द्रीय सदस्य जयन्ती राई पनि यसपटक उम्मेदवार भइनन्। खोटाङमा एमालेका तर्फबाट निवर्तमान सांसद पाँचकर्ण पिके राई पनि यसपाटक प्रतिनिधिसभा तथा प्रदेश सभाका लागि उम्मेदवार हुन पाएनन्।

ओखलढुङ्गाका पुराना एमाले नेता नेत्र भट्टराई र नानीबाबु बुढाथोकी आकांक्षी भएर पनि उम्मेदवार हुन पाएनन्।  तेह्रथुममा एमालेका पोलिटब्युरो सदस्य बिजय सुब्बा पनि उम्मेदवार हुन पाएनन्।

दोलखामा २०७० सालको संविधानसभा निर्वाचनबाट निर्वाचित भएर पर्यटन मन्त्री समेत भएका आनन्द पोखरेल उम्मेदवार हुनबाट बञ्चित भए। उनी २०५६ सालको निर्वाचनमा समेत दोलखाबाट निर्वाचित भएका थिए।

एमाले नेता बालकृष्ण शिवाकोटीले दोलखा 'ख' बाट टिकट पाउने अन्तिमसम्म चर्चा भए पनि पाएनन्। यस्तै पूर्व जिविस दोलखामा सभापति लालकुमार केसी, ३ पटक जिल्ला अध्यक्ष भइसकेका शिव भण्डारी पनि टिकट पाउनबाट वञ्चित भए।

यता रामेछापबाट एमाले वैकल्पिक केन्द्रीय सदस्यहरु माधव ढुङ्गेल र देवशंकर पौडेल पनि उम्मेदवार चयन हुन सकेनन्। अनेरास्ववियुका पूर्व केन्द्रीय अध्यक्ष ढुङ्गेल हाल राष्ट्रिय युवा परिषद्को उपाध्यक्ष छन्।

रसुवाका एमाले नेता माधव अर्याल रसुवा प्रदेश नम्बर 'ख'को उम्मेदवार आकांक्षी थिए। बैकल्पिक केन्द्रीय सदस्य अर्याल जिल्लाबाट सिफारिस पनि भएका थिए। तर उनी उम्मेदवार भने भएनन्।

नुवाकोटमा पूर्व परराष्ट्रमन्त्री भइसकेका एमाले पोलिटब्युरो सदस्य महेन्द्र पाण्डे उम्मेदवार चयन हुन सकेनन्। धादिङमा पूर्व सांसद गुरु बुर्लाकोटी र पूर्व सांसद तथा पूर्व शिक्षामन्त्री डा.गंगालाल तुलाधर पनि उम्मेदवार हुनबाट छुटे। 

उता मुस्ताङकी एमाले पोलिटब्युरो सदस्य तथा निवर्तमान सांसद श्रीमायाँ थकाली र पूर्व सांसद महेन्द्र शेरचन पनि छुटेका छन्।

दोस्रो संविधानसभाको निर्वाचनमा म्याग्दीबाट निर्वाचित भएका नवराज शर्मा पनि यसपपटक उम्मेदवार भएनन्। पहिलो संविधानसभाको निर्वाचनमा बाग्लुङ-२ बाट निर्वाचित भएर राज्यमन्त्री समेत भएका रामजीप्रसाद शर्मा पनि उम्मेदवारमा परेनन्। बाग्लुङ कम्युनिष्ट पार्टीका संस्थापक मोहनलाल शर्मा प्रत्यक्षतर्फको उम्मेदवार सिफारिस भएका थिए। तर उनि अन्तिममा उम्मेदवार भने भएनन्।

रोल्पामा एमाले पोलिटब्युरो सदस्य गोकुल घर्ती मगर पनि उम्मेदवार हुन पाएनन्। भर्खरै विघटन भएको व्यवस्थापिका संसदमा एमाले संसदीय दलको सचेतक समेत रहेका नेता गोकुल प्रदेश तर्फको प्रत्यक्ष उम्मेदवारमा सिफारिस भएपनि छनौट भने भएनन्।

यता जाजरकोटमा बाम गठबन्धन अन्तर्गत नै प्रदेशसभा निर्वाचन क्षेत्र नं (क) बाट उम्मेदवारी दिएका एमालेका निरज आचार्यले उम्मेदवारी फिर्ता लिनुपर्‍यो। बाम गठबन्धनअनुसार नै उनले बुधवार उम्मेदवारी फिर्ता लिए। नेता आचार्य युवा संघका पूर्व नेता हुन्।

यस्तै कालिकोटमा पनि एमाले नेताहरु नगेन्द्र शाही र तुलाराज विष्ट उम्मेवार हुन पाएनन्। तुलाराज २०७० को संविधानसभा निर्वाचनमा समानुपातिक निर्वाचन पद्धतिबाट निर्वाचित भएका थिए।  

हुम्ला एमालेका पूर्व अध्यक्ष दल फडेरा उम्मेदवारको आकांक्षी भए पनि उनले टिकट पाएनन्। २०५६ सालको निर्वाचनबाट निर्वाचित तथा २०६४ का समानुपातिक सांसद जुम्लाका देवीलाल थापा पनि यसपालि उम्मेदवार हुन पाएनन्।

पूर्व वनमन्त्री तथा सांसद भानुभक्त जोशी यसपाली छुट्न पुगे। एमालेका पूर्व केन्द्रीय सदस्य तथा हालका सल्लाहकार नेता जोशी २०६४ को निर्वाचनमा बझाङ-१ बाट निर्वाचित भएका हुन्। बाजुरामा पनि २०५१ सालमा निर्वाचित भएका हिक्मतजंग शाही, पूर्व सांसदद्व बसुन्धरा रोकाया र पेम्बा गुरुङ भोटे छुट्न पुगे।

दार्चुलामा पनि एमालेमा पुराना नेता वीरबहादुर ठगुन्ना पनि उच्चेदवार हुन पाएनन्। दार्चुला प्रदेशसभा 'ख'बाट पार्टीले सिफारिस गरे पनि अन्तिममा भने उनी उम्मेदवार हुन पाएनन्। एमालेका पुराना नेता उनी २०४८ सालमा माविको जागिरबाट राजिनामा दिएर पार्टीको पुर्णकालिन कार्यकर्ता भएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • डाेल्पाका पार्टी अध्यक्ष दत्त बहादुर राेकाया र वैकल्पिक केन्द्रीय सदस्य हंश बहादुर शाही पनि त अाकांक्षी र सिफारिसमा परेका हुन् । तिनिहरुकाे कुनै चाँसाे भईन छ त? डाेल्पा अलि अाेझेलमा पारियाे कि झैं लाग्याे याे लेखनमा । धन्यवाद

  • नुवाकोट निर्वाचन छेत्र नम्बर १ बाट प्रतिनिधि सभा मा प्रतछय निर्वाचित राजेन्द्र प्रकाश लोहनी पनि छुट्नु भयको छ।लगातार पर्टी निर्माण मा कृयासिल ,लगनसिल र नुवाकोट को बिकाश निर्माण मा हर बखत लागि पर्नु हुने उहाँ लाई पनि बाम ताल मेल को अशर परेको छ। पार्टी मा गरेको त्याग , दुख र आफनो जीवन नै जनता को सेवा मा समर्पित गर्ने लाई भन्दा पैसा , दम्ब , र गुट बन्दी अनि अराजक शैली का लाई टिकट दिदा को परिणाम सयाद निर्बाचन पछि को परिणाम ले बताउला।