विचार

संक्रमणकालको भुमरीमा नेपाल
SHARES

कात्तिक ९, २०७४

    नेपाल संक्रमणकालको भुमरीमै छ, जुन कुरो संविधानले नै भनेको हो। २०७४ माघ ७ गतेसम्मको अवधिलाई संक्रमणकाल मानिएको जगजाहेर छ। अहिले झन संसद पनि छैन र संसदको निर्वाचन प्रक्रिया सुरु भएको मात्र छ। 

    संसद र प्रदेशसभाको निर्वाचन महाभारतको रूपमा चित्रित छ र जसरी पनि आगामी निर्वाचन जित्नै पर्ने मानसिकताबाट नेपाली राजनीति उत्साहित छ। भनिएको छ, अबको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनपश्चात् मुलुकमा स्थिर राजनीतिको सुरुवात हुनेछ र विकासको मूल फुट्न थाल्नेछ। समृद्धिको नयाँ पेटारो खुल्नेछ अनि नेपाल संक्रमणकालबाट बाहिरिई नयाँ समाजवाद उन्मुख हुनेछ। 

    तर जुन अस्वस्थ र बनावटी गठबन्धनका आडमा एकअर्कालाई समूल सिध्याउने खालको प्रतिस्पर्धाबाट मुलुक गुज्रिएको देखिँदै छ, त्यो अनिष्टकारी छ। अहिलेको अवस्थाबाट अहिलेको राजनीतिक संक्रमणकालको अन्त्य हुने छैन। खासगरी वाम गठबन्धनको प्रक्रिया ठीकै होला, तर जुन परिणामका लागि जस्तो कार्यविधि अपनाउन थालेको देखिन्छ, त्यसले भावी दिनमा मुलुक झनझन राजनीतिक संक्रमणको भुमरीमा जाकिने संकेत पाइन्छ। संसदीय व्यवस्थामा देखिनुपर्ने सहिष्णुता र संयमता देखिएको छैन। हाकाहाकी भनिन्छ, यो गठबन्धनमा यो विदेशीको हात छ र त्यो गठबन्धनमा त्यो विदेशीको हात छ। जसले जसको साथ लिएर भए पनि हिजो प्रजातन्त्र पुनःस्थापनामा साथ रहेका दलहरूको एकअर्काले तेजोबध गर्न कसिएका छन्, जस्तो कि शुम्भ र निशुम्भको कथामा देखिन्छ। 

    कस्तो हुने प्रतिनिधिसभा? कस्तो हुने प्रदेशसभा? केन्द्रीय प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रादेशिक सभाहरूका काम कसरी अगाडि बढाइनेछन् नेपाली जनताका आवश्यकता पूरा गर्नका लागि? कसरी आगामी दिनमा आउने चुनौती सामना गर्ने? भन्ने कुनै छलफल छैन। 

    खासगरी जुन तरिकाले वाम गठबन्धनको डोरो बाँधिएको छ एकअर्कामा तथ्याङ्ककको आडमा, त्यसले मात्र नेपाली कांग्रेसलाई नेपाली राजनीतिमा कसरी निषेध गर्ने र सत्तामा पुग्न कसरी रोक्ने? भन्ने देखिन्छ। 

    अतीत र वर्तमान इतिहासले मिलेर जाने कुरालाई जुन आदेश दिएको छ खासगरी काँग्रेस र एमालेलाई, त्यसको दुवै दलले अपमान गरेका छन्। ०३६ जेठ १० गते घोषणा भएको जनमतसंग्रहको निर्वाचनका दिन जति नजिकिँदै थियो, उति वीपी कोइरालालाई भावी संसदको स्वरूपका बारेमा चिन्ता बढ्दै थियो। उहाँ त्यो संसदमा मातृकाप्रसाद कोइराला, टंकप्रसाद आचार्य, डिल्लीरमण रेग्मी, डा. केआई सिंहसमेतलाई समेट्न चाहनुहुन्थ्यो। खासगरी कोइराला, आचार्य, रेग्मीका लागि उपयुक्त संसदीय स्थान थिएन र पनि उहाँ कांग्रेसले जित्ने ठाउँबाट उहाँहरूलाई ल्याउनका लागि आफ्ना उच्च तहका युवानेताहरूसँग सल्लाह गर्नुहुन्थ्यो। 

    जनमतसंग्रहमा बहुदलको हार भएपछिको आम चुनावमा जनपक्षीयको आवरणमा तत्कालीन माले भूमिगत रूपमै सहभागी भयो तर कांग्रेसले भाग लिएन। भनिन्थ्यो, वीपीलाई आगामी निर्वाचनमा रोक्नका लागि नै तत्कालीन वामपन्थीहरूको र पञ्चायतको मिलोमतोमा नै पञ्चायतको पक्षमा मत हालिएको थियो। आम निर्वाचनमा त्यो सही निस्कियो। हालै मोहन वैद्यको एउटा विश्लेषणमा पञ्चायतको निर्वाचन पनि प्रयोग गरेको खुलासा छ। अर्थात्, जस्तो अवस्थामा पनि जोसँग पनि देखिएर, नदेखिएर मिल्ने चलनले आजसम्मको अस्थिरता आएको हो भन्दा किन पनि बेठीक हुँदैन भने अस्थिरताका कारक पक्ष भनेका वामपन्थी अति गतिशीलता र प्रजातान्त्रि पक्षको उनीहरूलाई नचिन्ने बानी नै देखिएको छ। 

    यस्तो बेलामा सत्ताको स्वाद पाएका र फेरि सत्तामा कुनै पनि बेला जान सकिन्छ कि भनेर ढुकेर बस्नेहरू सलबलाउनु स्वाभाविकै हो। त्यसका लागि स्थान सुरक्षित गर्नेहरू पनि त अहिले गठबन्धनका नायक बनेका छन् र उनकै बोलीमा लोली मिलाउँदै मुलुकको सत्ताको साँचो जिम्मा लगाइएको बेला छ। 

    हालै एक प्रसंगमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भनेको एउटा भनाइ स्मरण गरौँ– ‘म आजको राजनीतिलाई तरंगित पारिरहेको छु, मेरा गुरुहरू (मोहनविक्रम सिंह, मोहन वैद्य) भने पुरानै घण्टी बजाइरहनुभएको छ।’ अर्थात्, पुरानै साम्यवादको सुगा रटाइ गरिरहनुभएको छ। हुन पनि प्रचण्डको तरंगले केके भयो भन्ने धेरै वर्षअघिको राजा, भारत, चीन, इयूसँगको घनिष्ठ सम्बन्धलाई विश्लेषण गर्नुभन्दा संविधान बनेपछिका दुई वर्षका गतिशीलतालाई हेर्दा कति विश्वसनीय र कति भरपर्दो तरंग ल्याउन सफल भएको हो, विश्लेषण गरे पुग्छ। 

    आगामी संसदमा ती सबै नेताहरू पुगून्, जोजो संविधान बनाउँदा, कार्यान्वयनका पक्षमा देखिएका र संविधान कुनै पनि हालतमा बन्न नदिने अनि बने पनि कार्यान्वयनमा आउन नदिन विरोधमा देखिएका थिए। कम्तीमा पनि नेपाली कांग्रेसले संविधान घोषणा गराउन सहयोग गर्ने शक्ति र संविधानमा चित्त नबुझाएर विरोध गरिरहेका शक्तिहरूलाई निर्वाचनका लागि मनायो। स्थानीय तहको निर्वाचनका बीचैमा त्यसको व्यवस्थापन गरेको थियो। संविधान सबैको सर्वस्वीकार्य गराउन अझ धेरै मिहिनेत जरुरी छ। 

    भारतमा संविधान नबन्दै राष्ट्रपिता गान्धीको हत्या भएको थियो। संविधानसभाका भित्रै मुलुक विभाजन भएको थियो। नेपालमा अहिले त्यस्तो खतरा देखिएको छैन। यदि आगामी दिनमा मुलुक प्रजातान्त्रिक प्रक्रियाबाहिर गएमा र संविधान घोषणा गर्ने शक्तिहरूका बीचमा अचिन्त्य अनेकता देखिएमा मुलुक झन् संक्रमणकालको भुमरीमा फस्ने देखिन्छ। 

    सत्ता प्रमुख औजार हो नयाँ र राम्रा कामको सुरुवात गर्न र राम्रा सुरु भएका कामको निरन्तरताका लागि। तर सत्ताको मात्र साधनाले सबै कुरा गौण हुनेछन् र स्वार्थी तत्त्वले त्यहाँ घुसपैठ गर्नेछन्, जसको अभीष्ट भनेको मुलुकमा स्थिरता होइन, स्थायित्व होइन, बरु मुलुकलाई संक्रमणकालको भुमरीमा फसाउन तरंगित पारिरहने हुनेछ। यसो गर्नका लागि कोको सक्रिय छन् यो देशमा भन्ने कुरो मुखले भन्नु, लेख्नु मात्र प्रशस्त हुँदैन, यो त सम्झने कुरा हो, महसुस गर्ने कुरा हो र भावनामा लिपिबद्ध गर्ने विषय हो। 

    अहिले कुनै पनि दल आफैँमा न त अछुतो छ, न त निर्दोष। सबै जानेर, नजानेर अर्काको झोला बोक्दै छन् भनेर जनता दिक्क हुन थालेका छन्। यस्तो बेलामा सत्ताको स्वाद पाएका र फेरि सत्तामा कुनै पनि बेला जान सकिन्छ कि भनेर ढुकेर बस्नेहरू सलबलाउनु स्वाभाविकै हो। त्यसका लागि स्थान सुरक्षित गर्नेहरू पनि त अहिले गठबन्धनका नायक बनेका छन् र उनकै बोलीमा लोली मिलाउँदै मुलुकको सत्ताको साँचो जिम्मा लगाइएको बेला छ। 

    बेलैमा चेतौँ। यो निर्वाचनभन्दा पहिले नै सोचौँ। मुलुक झनझन् अस्थिरतातर्फ डोहोरिएको देखिन्छ। आगामी निर्वाचनको परिणाम जे भए पनि त्यहीँबाट भयानक संक्रमण सुरु हुनेछ र प्रजातन्त्रका पक्षमा फेरि संघर्ष गर्नुपर्ने दिन आउने संभावना देखिएको छ। जब जनता निराश हुनेछन्, त्यसपछिको परिणाम भनेको जनताको त्यस्तो विद्रोह हुनेछ, जसको पहिलो सिकार राष्ट्रियता हुनेछ, प्रजातन्त्र त यसै पनि रहनेछैन, रहने छैन। 

    यसको पहिलो पहल नेपाली कांग्रेसले लिनुपर्छ, स्वच्छ प्रशासनको प्रत्याभूति दिनुपर्छ। प्रजातान्त्रिक मूल्यका आधारमा गठबन्धन गर्नु जरुरी छ। प्रजातन्त्रलाई चिलले कुखुराका चल्लालाई गाँजेझैँ अतीतमा गाँज्नेलाई प्रजातन्त्रका पक्षमा देखाएर न त प्रजातन्त्र जोगिनेछ, न त समाजवादको लक्ष्यमा पुगिनेछ। खासगरी कांग्रेस र एमालेले सत्ताको मीठो स्वादमा आफन्त गुमाएका छन् र प्रजातन्त्रका पक्षमा लड्ने जनमतको अपमान गरेका छन्।

    नियालेर हेर, आफ्नो अतीत र वर्तमान। अहिलेको जस्तो निषेधको राजनीतिले आगामी परिणाम कसको हातमा जानेछ भन्ने यत्ति अनुमान गर्न सकिँदैन र? 

हरिविनोद अधिकारी

पत्रकार अधिकारी समसामयिक विषयमा कलम चलाउँछन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]