साहित्य

रातमा निद्रा लागेन (पुस्तक अंश)
SHARES

कात्तिक ९, २०७४

    रीताले क्लासका केटाहरूमध्ये रमेशलाई फरक तरिकाले हेर्थिन्। यति त मैले पनि अनुमान लगाउन सक्छु कि यदि रमेशबाहेक अरू कसैले रीतालाई त्यसरी हकारेको भए त्यसले रीताको झापड खान्थ्यो, खान्थ्यो। 

    एकचोटि हाम्रै कक्षाको तोरण भन्ने केटाले उसलाई ‘म्या’ मात्र के भनेको थियो, उसले रीताको झापड भेटेको थियो। त्यो झापडको गुञ्जन यति ठूलो थियो कि शिक्षकहरू पनि स्टाफ रुमबाट हाम्रो कक्षामा आएका थिए। 
    ...
    म र महेश कक्षातिर लाग्यौँ। कक्षामा रमेश थिएन। म महेशको नजिक भइसकेको थिएँ। अब सही समयको प्रतीक्षामा थिएँ। मौका मिल्नेवित्तिकै महेशलाई उनको र महेशको सम्बन्धबारे सोध्छु भनेर बसेँ।

    रमेश असिनपसिन भएर पो छिर्‍यो। बेन्च नजिक आएर महेशलाई भन्यो, ‘हट्, बाटो छोड् छिटो!’

    बिचरा महेशले हत्तपत्त बाटो छोड्यो। मैले पनि भित्रबाट त्यसलाई भित्र छिर्न बाटो बनाइदिएँ। त्यसको रिसलाई ध्यानमा राखेर मैले जिस्क्याउँदै भनेँ, ‘साला! आज पनि पसिना बहुतै गह्नाएको छ।’

    केही भनेन। अरू दिन त झगडै गर्र्न खोज्थ्यो। केही प्रतिक्रिया नदिएपछि थप बोल्न खोजिनँ। 

    म महेशसँग गफ गर्दै थिएँ, सर कक्षाभित्र पस्नुभयो। उहाँले पढाउन थाल्नुभयो। 

    पाँचौँ पिरियडपछि रमेश मसँग बोल्छ कि भन्ने प्रतीक्षामा थिएँ। तर, ऊ मसँग मात्र होइन, कसैसँग बोलेन। टिफिनपछिको तेस्रो पिरियडमा बोल्यो, त्यो पनि पानी पिउने बाहनामा। भन्यो, ‘पानी दे न।’

    ‘मैले पानी ल्याएको कहिल्यै देखेको छस्? ल पर्खी, त्यही पनि म अरूसँग मागिदिउँला।’

    किताब बोक्न त झ्याउ लाग्थ्यो मलाई, पानी के बोक्थेँ! 

    म मात्र हैन, केटाहरूले पानी ल्याउँथेनन्। केटीहरूले ल्याउँथे तर अधिकांशले पिएर भ्याएका रहेछन्। रीताले अरू बेला रमेशका लागि भनेर पानी राखिदिन्थिन्। त्यही भएर उनीसँग सोधेँ, ‘पानी छ रीता?’

    ‘हेर न, आज मैले बोतल ल्याउनै बिर्सें भन्या’, तुरुन्तै भनिन्। 

    ‘ए, ल ठीकै छ, नो प्रोब्लम’, मैले टुच्च मुस्कुराएर भनेँ। 

    उनीसँग पानी माग्दा पो याद आयो त उनले रमेशलाई सरी भनिदिन भनेकी थिइन्। 

    ‘सबैसँग सोधिस्?’ रमेशले सोध्यो। 

    ‘कसैसँग छैन रे! मैले सोधेको हौ!’ मैले भनेँ। 

    मैले रीताले भनिदिने भनेको सरी भन्नै आँटेको थिएँ, सोध्यो, ‘अपरिचित कोइ–कोइलाई पनि सोधिस्?’

    ‘कस्तो कुरा गर्छ यार! महेश हाम्रो नजिक बसेको छ। ऊसँग भा’को भए दिन्थेन? त्यही पनि तेरो खुसीका लागि पख सोधी हेर्छु।’

    महेशको काँधमा हात मात्र के राखेको थिएँ, ऊ झस्कियो। सायद ऊ मस्त निद्रामा थियो। 

    ‘पानी छ?’ 

    ब्यागको साइडमा हुने झुले खल्तीबाट बोतल झिकेर दियो। 

    ‘मैले तिमीलाई डिस्टर्ब त गरिनँ नि?’

    ‘छैन। बरु धन्यवाद तिमीलाई, उठाइदिएकामा।’ 

    रमेशलाई पानीको बोतलसँगै माफीबारे पनि बताइदिएँ। 

    रमेश केही बोलेन। 

    अब त म पूरै फायर भएँ। भनेँ, ‘तँलाई रिसचाहिँ कोसँग उठेको छ?’ 

    सबैले मैतर्फ हेरे। केटाहरूले बेन्च ठटाउन थाले। 

    त्यत्तिकैमा विज्ञान पढाउने सर कक्षाभित्र पस्नुभयो। हल्ला गरेको भनेर सबैलाई बेन्चमा उभ्याउनुभयो र कराएर भन्न थाल्नुभयो, ‘आर्को वर्ष एसएलसी रे! पढ्नु त कहाँ हो कहाँ, हल्ला गरेर बसेका छन्!’

    सरले रूपकलाई औँल्याउँदै भन्नुभयो, ‘तिमी त कक्षाको प्रथम हौ। तिमीले पनि हल्ला गरेको?’ 

    सबैतर्फ हेरेर भन्नुभयो, ‘पढेनौ भने कसैले जागिर दिनेछैन। यसो हेर्दा त झन् यो कक्षाबाट एक दुई जनाबाहेक अरूले केही गर्लान् जस्तो छैन।’

    सर म नजिक आउनुभयो र भन्नुभयो, ‘कुन्दन! तिमीचाहिँ किन हल्ला गरेको बाबू?’

    म चुप बसेँ। स्कुलमा सुजन सरबाहेक सबले मलाई ‘तिमी’ भनी सम्बोधन गर्थे। सायद यो सम्बोधन मेरो फ्यामिली ब्याकग्राउन्ड देखेर थियो होला। यो देखेर बुझ्थेँ कि, सम्पत्ति भयो भने आकाशलाई पनि पातालमा झार्न मिल्छ। 

    सरले मपछि पनि सबैलाई एक–एक गर्दै गाली गर्नुभयो। रिसले चुर हुनुहुन्थ्यो। भन्नुभयो, ‘तिमीहरूको पढाइलाई मध्यनजर गरेरै होला, सरकारले एसएलसी हटाउने कुरा गर्दै छ।’ 

    हामी सबै चुपचाप नै रह्यो, के बोल्ने, कसको हिम्मत बोल्ने! 

    हामीलाई बस्न आग्रह गर्दै भन्नुभयो, ‘मसँग एउटा सूचना छ, राम्रोसँग सुन सबले !’ 

    ह्वाइटबोर्ड अगाडि उभिएर फेरि भन्नुभयो, ‘भोलि स्कुल क्याप्टेन, हाउस क्याप्टेन र विद्यार्थीलाई चारवटा हाउसमा विभाजन गर्ने कार्यक्रम छ, सबै जना आउनू।’ 

    सरले कडै पाराले भन्नुभयो। 

    भोलि शुक्रबार थियो। 

    विपुल चम्क्यो, ‘क्यालेन्डर र डायरी पनि भोलि नै दिने हो सर?’

    ‘हुनसक्छ। डायरी र क्यालेन्डर प्रेसबाट आइसकेको छ। तिमीहरूलाई अब छुट्टी! घर जान सक्छौ।’

    कक्षामा ‘याहु... ! चस... !’ गुन्जिन थाले। दुई पिरियडअघि छुट्टी पाएपछि को बहुलाउँदैन र खुसीले! 

    तर, मचैँ डायरी बाँड्ने कुराले खुुसी थिएँ। भोलि जब महेशले डायरी पाउँछ, उसले आफ्नो भाइबहिनी अथवा कोही उसको आफन्त, जो स्कुलमा पढ्छन्, उनीहरूको नाम लेख्नुपर्ने हुन्छ। त्याँ उसले लेख्ने नामले नै मेरो प्रश्नको उत्तर दिन्छ। यदि त्यो ठाउँमा उनको नाम सामेल भएछ भने मेरो मानमा खुसीका चंगा कति उड्लान्! 
    ...
    रातमा निद्रा लागेन। भिन्नै खुलदुली...। बेग्लै छट्पटी...। फरक अनुभूति...। हैट्!  

    सबेरै चियाको चुस्कीसँगै घरबाहिर निस्किएँ। हाम्रो घर पछाडिबाट ठूलो हल्ला आइरहेको सुनेँ। त्यो हल्लाभन्दा पनि रोदनको आवाज जस्तो सुनिन्थ्यो। मन तर्सियो! त्यो आवाज त मारवाडी अंकलको घरतिरबाट आइरहेको थियो। अस्ति भर्खर विवाह भएको घरबाट रोदन! मन चिसो भयो।

    (निमेष पौडेलद्वारा लिखित, बुलबुल पब्लिकेशनद्वारा प्रकाशित उपन्यास ‘फाइभ मन्थ्स’बाट साभार अंश। उक्त उपन्यास कात्तिक ११ गते शनिबार दिउँसो ३ बजे सीएमडी फुडल्यान्ड, टंगालमा विमोचन हुँदै छ।)

निमेष पौडेल

नेपाली साहित्यमा उदीयमान प्रतिभा पौडेलको हालै 'फाइभ मन्थ्स' उपन्यास प्रकाशन भएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]