|

विराटनगरः जिल्ला कारागार मोरङमा झाडापखाला र हैजा महामारीका रूपमा फैलिएको छ। 

क्षमताभन्दा बढी कैदीबन्दी राखिएको कारागारमा ३६ जना झाडापखालाका बिरामी भइसकेको कारागार प्रशासनले जनाएको छ। 

बिरामीमध्ये पाँच जनाको विराटनगरमा रहेको कोशी अञ्चल अस्पताल र चार जनाको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ। बाँकी कारागारभित्रै उपचाररत रहेको बताइएको छ। 

कारागारभित्र क्षमताभन्दा बढी कैदीबन्दीको भीड भएकाले झाडापखालाको संक्रमण फैलिएको अस्पतालका इमर्जेन्सी वार्डका इन्चार्ज रघुनन्दन अधिकारीले जानकारी दिए। कतिपयलाई तनावका कारणले पनि पखाला लाग्न सक्ने उनले बताए। 

चार दिनदेखि कारागारबाट पखालाका बिरामी आइरहेको इन्चार्ज अधिकारीले जानकारी दिए। कारागार २५० जनाका लागि २०४५ सालमा निर्माण गरिएको थियो। हाल कारागारमा ७०० जना राखिएको छ। ७०० कैदीबन्दीका लागि नौवटा मात्र शौचालय छन्।

कारागारभित्र सुत्ने ठाउँ नपुगेर राती पालैपालो सुत्नुपर्ने बाध्यता भएको कैदीहरूको गुनासो छ। इन्चार्ज अधिकारीले केही बन्दीमा श्वासप्रश्वासको पनि समस्या देखिएको उल्लेख गर्दै यसको कारण पनि धेरै भीडबाट उत्पन्न हुने प्रदूषणलगायतका समस्या रहेको जानकारी दिए।

मोरङ कारागरमा मानसिक रोगी भएका कैदीबन्दीहरू पनि फेलापरेका छन्। कारागारमा सजाय भुक्तान गर्दै आएकामध्ये मानसिक रोगी पनि भएको पाइएको हो। मोरङ कारागार इन्चार्ज प्रेमप्रसाद सापकोटाका अनुसार हालसम्म कारागारमा ४२ जना मानसिक रोगीका बिरामी फेलापरेका छन्। 

कारागार प्रशासनले मानसिक रोगी भएका कैदीबन्दीहरूलाई कोशी अञ्चल अस्पताल लगेर मानसिक रोग विशेषज्ञ डा. रोशन पोखरेलसँग स्वास्थ्य परीक्षण गराउँदै आएको छ। 

मानसिक रोगीमध्येबाट तीन जना महिला, २० जना अधवैँसे, १९ जना ५० वर्ष उमेर कटेका छन्। उनीहरूको स्वास्थ्य अवस्थाको नियमित चेकजाँच कारागारले गर्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.