|

दाङः जिल्ला प्रही कार्यालय घोराही, वडा प्रहरी कार्यालय लमही र ईलाका प्रहरी कार्यालय अमिलियाको संयुक्त विशेष प्रहरी टोलीले जुवाको खालबाट सरकारी कर्मचारीसहित १८ जनालाई पक्राउ गरेको छ। 

जुवाको खालबाट अहिलेसम्मकै सबैभन्दा बढी तीन लाख ५९ हजार रुपैयाँ बरामद गर्न प्रहरी सफल भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख सुरज खड्काले जानकारी दिए। लमही नगरपालिका– ७ तेलियामा तास खेलिरहेको अवस्थामा सरकारी कर्मचारीसहित ठेकेदारहरू पक्राउ परेका हुन्। 

प्रहरीले दिएको जानकारीअनुसार जुवाको खालबाट लमही नगरपालिका– ७ का सरकारी कर्मचारी ४४ वर्षका टोपबहादुर वली, सोही नगरपालिका– ५ का ३२ वर्षका देवेन्द्र खड्का, वडा नं.– ६ का ४३ वर्षका भीमबहादुर घर्ती, वडा नं.– ९ का ४३ वर्षका खिमलाल वली, सोही वडा निवासी २४ वर्षका विमल खड्कालाई पक्राउ गरेको बताएको छ।

यसरी नै सोही वडाका ३५ वर्षका प्रकाश कार्की, गढवा गाउँपालिका– ६ का २३ वर्षका अजय कौशल, सोही ठाउँका ३७ वर्षका हरिप्रसाद भण्डारी, २५ वर्षका सन्दीप अधिकारी, २६ वर्षका रमेश मगर, ४२ वर्षका राजेश कौशल, लमही नगरपालिका– ९ का लीला वली पक्राउ परेका प्रहरीले जानकारी दिएको छ। 

यस्तै, राजपुर गाउँपालिका– ७ का २८ वर्षका सरोज बस्नेत, सोही ठाउँका १८ वर्षका मनोज बस्नेत, ४४ वर्षका ईन्द्रबहादुर बस्नेत, ३५ वर्षका नरेन्द्र सिंह, २४ वर्षका सुवास भण्डारी जुवाको खालबाट पक्राउ परेका छन्। पक्राउ परेका अधिकांशले मादक पदार्थ सेवन गरेको पनि प्रहरीले जनाएको छ।

पक्राउ परेका व्यक्तिहरूलाई जुवा ऐनअनुसार कारवाहीको तयारी गरिएको बताइएको छ। जुवाको खालबाट ठूलो धनराशि र धेरै व्यक्तिहरू पक्राउ परेको जिल्लाको यो नै सबैभन्दा ठूलो घटना भएको बताइएको छ। 

तेलिया निवासी टंक अधिकारीको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले बताएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.