|

काडमाडौं: उनलाई त्यतिबेला लाग्थ्यो, पैसा केही होइन। अप्ठ्यारोमा परेकालाई साथ दिनु ठूलो धर्म हो। त्यसैले उनी सन् १९९१ मा भुटानबाट शरणार्थी बनेर नेपाल आए। त्यसबेला उनलाई कसैले भुटान छाड्नू भनेको थिएन रे!

तर त्यसबेला भुटानी शासकहरूले धमाधम नेपालीभाषी भुटानीलाई ज्यादती गर्दै लखेट्न थालेपछि डा. भम्पा राईको मन मानेन। उनले पनि अरू भनेपालीभाषीलाई सहयोग गर्ने निधो गरे। त्यही बेला आफ्नो देश छाडे। उनले देश मात्र छाडेनन्, भुटानमा भएको आफ्नो सम्पत्ति, सान, मान र दाम पनि एकै पटक छाडे।

त्यसबेला उनी भुटानको थिम्पु जनरल अस्पतालमा डाक्टर थिए। भुटानी शासकहरूले नेपालीभाषीमाथि गरेको ज्यादती उनलाई पटक्कै मनपरेको थिएन। ठाउँठाउँमा छोरी–बुहारी बलात्कृत भइरहेका थिए। धेरैजसो भाग्दै भारतको बाटो भएर नेपालमा शरण लिन आउँदै थिए।

उनी पनि आफ्नै गाडीमा भएका सबै सामान हालेर झापाको कन्काई नदीको बगरमा बिजोगले बसेका भुटानी शरणार्थीसँग पनि आए। त्यसबेला बगरमा बस्नुपर्दा धेरै शरणार्थीहरू बिरामी पर्थे। कतिले त ज्यानै गुमाए। उनले भुटानबाट औषधि ल्याएका थिए। उनले नि:शुल्क औषधि गर्न थाले। त्यसकै निरन्तरता स्वरूप अहिले पनि उनी शरणार्थीको नि:शुल्क उपचार गर्ने गर्छन्।

त्यसबेला शिविरमा विद्यालय पनि थिएन। क्याम्पमा भएका समस्यालाई समाधान गर्न क्याम्प व्यवस्थापन समिति पनि थिएन। शरणार्थी भएर पनि मानव भएर बाँच्न पाउने अधिकारका बारेमा जानकार उनले शिविर व्यवस्थापन, बसोवास, सहायता प्रदानलगायतका विषयमा पहल गरे।

त्यसबेलासम्म खोलाको बगरमा बस्नुपर्दा शरणार्थीले धेरै समस्या भोगेका थिए। उनको पहलमा झापा र मोरङका विभिन्न स्थानमा सात शिविर स्थापना गरे। भुटानको अस्पतालमा काम गर्दा उनीसँग आफ्नै गाडी थियो। त्यही गाडीमा उनी नेपालसम्म आए। तर अहिले उनीसँग सम्पत्तिको नाममा केही छैन। छ त त्यही बिरामी जाँच्ने ज्ञान।

नेपाल आएर काम सुरु गर्दा उनलाई पैसा कमाऊँ भन्ने कुनै सोच थिएन रे! उनी भन्छन्, ‘त्यसबेला पैसा कमाउने कुनै सोच थिएन। जीवन चलाउन भए हुन्छ जस्तो लाग्थ्यो। त्यसैले त शरणार्थीलाई मैले नि:शुल्क सेवा दिइरहेँ।’

पैसाको महत्त्व बल्ल थाहा भयो

राई अहिले दमकमा एउटा क्लिनिक चलाएर बसेका छन्। क्लिनिकमा अचेल शरणार्थीहरू उपचारका लागि आउने क्रम पातलिएको छ। एक लाख भन्दा बढी विभिन्न देशमा पुनर्वास भएर गएपछि स्वदेश फर्कने पक्षका उनीकहाँ केही मात्र शरणार्थी बिरामी अाउँछन्।

आएका  शरणार्थीलाई स्वदेश फर्कनुपर्ने उनले भन्ने गरेका छन्। त्यस कारण पनि उनीकहाँ कमै मात्र भुटानी शरणार्थी बिरामीहरू आउँछन्। नेपाल आएको २६ वर्षभन्दा लामो समयसम्म उनलाई पैसाको खासै महत्त्व थिएन। उनी भन्छन्, ‘मलाइ त खान पुगोस् र लगाउन पुगोस् भन्ने मात्र थियो, पैसा कमाउनु थिएन, त्यसैले त नि:शुल्क सेवा दिइरहेँ तर अहिले त संसारकै सबैभन्दा गरिब चिकित्सक मै हो जस्तो लाग्छ।’

अहिले उनकी ५७ वर्षकी श्रीमती उर्मिलाका दुवै मिर्गौलाले काम गर्न छोडेपछि पैसाको महत्त्व बुझेका छन्। हुन त समस्या अढाई वर्षअघिकै हो। तर औषधिले रोगलाई जित्दै आएको थियो। अहिले त औषधिले पनि काम गर्न छोड्यो ।

उनलाई अहिले सातामा दुई पटक डायलाइसिस गर्नुपर्छ। मिर्गौला फेर्नलाई त ६० लाख रूपैयाँभन्दा बढी लाग्छ। यदि अढाई दशकको अवधिमा दमकमै रहेर पनि कम्तीमा आफ्नै शुल्क मात्र लिएको भए पनि त्यो ६० लाख रुपैयाँ ठूलो कुरा हुने थिएन उनका लागि।

तर मिर्गौला फेर्ने कुरा त टाढै भयो, डायलाइसिस गराउन पनि उनलाई धौधौ परेको छ। ‘उपचार नगरौँ, आफ्नै आँखा अगाडि श्रीमती मर्दै छ, गरौँ उपाय छैन’, राई भन्छन्। शरणार्थीमा दर्ज भए पनि उनी दमक चोक नजिकै डेरा बस्छन्। जीविका चलाउनै पर्‍यो। श्रीमती अनि आफूभन्दा जेठी दिदी पनि आफैँसँग। गुजारा चलाउनकै लागि केही वर्ष चलाएर आफ्नो भएको गाडीसमेत बेच्नुपर्‍यो उनले। अढाई लाख रुपैयाँमा जापानी कार बेचेका उनलाई अहिले पछुतो पनि छ।

‘जसोतसो तेल हालेर अहिलेसम्म चलाएको भए श्रीमतीलाई कम्तिमा अस्पताल पुर्‍याउन त कसैसँग हार गुहार गर्नुपर्ने थिएन नि! अहिले शरणार्थीहरूको अभिभावक बन्नुपर्ने निकाय शरणार्थीसम्बन्धी संयुक्त राष्ट्र संघीय उच्चायुक्तको कार्यालयले डायलाइसिस गराउन जाँदा गाडीसमेत नदिँदा आफ्नो गाडी बेच्नुको पछुतो भोग्दै छु’, राईको गुनासो छ।

उनी नेपाल सरकारलाई आफ्नी श्रीमतीको उपचारमा सहयोग गर्न उनले आग्रह गरे। उनले भने, ‘अरू नेपालीको जस्तै डायलाइसिस गर्न नि:शुल्क गरेजस्तै मेरी श्रीमतीलाई पनि डायलाइसिस गर्न सहयोग गरे त हुने थियो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.