|

काठमाडौं : मन्त्री हुँदा डीभी र पीआर लिएका कर्मचारीलाई कारबाहीको घोषणा गरेर चर्चामा आएका एमाले नेता लालबाबु पण्डितको जीवन संघर्ष अब पुस्तकमा पढ्न पाइने भएको छ।

पब्लिकेशन नेपालयले पण्डितको आत्मकथा 'सिंहदरबार बदल्ने सङ्घर्ष' यसै महिनाभित्र पाठकमाझ ल्याउन लागेको हो। पूर्वी तराइको एउटा अल्पसंख्यक समूदायबाट राजनीतिमा होमिएका पण्डितले मन्त्री बनेको छोटै समयमा चर्चा कमाएका थिए।

राजनीतिक जीवनलाई सत्ताको चरित्र बदल्ने संघर्षका रुपमा परिणत गरेका पण्डितको रोचक भोगाइहरु आत्मकथाको रुपमा प्रकाशन गर्न लागेको पब्लिकेशन्स नेपालयले जनाएको छ। ‘लालबाबु पण्डितको यात्रा, बाटो र पाइलाहरु धेरैका निम्ति पठनीय हुनसक्ने ठानेर जीवनी प्रकाशन गर्ने निधोमा पुगेका हौं,’ पब्लिकेशन्स नेपालकी प्रमुख कार्यकारी सैजन मास्के भन्छिन्, ‘यसले नेपाली राजनीतिको जटिल समयमा पनि सम्भावना देखाउने एक नेतासँग पाठकलाई नजिक्याउने छ।’

पण्डितले पत्रकार मुकेश पोख्रेलसँगको सहकार्यमा पुस्तक तयार पारेका हुन्। ‘पहिलोपटक मन्त्री हुने बित्तिकै जताततै विसंगति र विकृति देख्न थालेपछि परिवर्तनको पाइला आफैँबाट चाल्ने अठोट गरेको थिएँ,’ पण्डित भन्छन्, ‘त्यतिबेला गरेका कामहरुलाई मैले इमान्दारिका साथ पुस्तकमा राखेको छु।’ समाज परिवर्तन र राष्ट्रप्रति समर्पित सबैखाले मानिसले यो पुस्तक पढ्नेछन् भन्ने विश्वास पण्डित ब्यक्त गर्छन्।

‘यो पुस्तकमार्फत मैले आफू स्वयंलाई कसीमा राखेको छु,’ पण्डितले थपे, ‘मैले राम्रो गरेँ वा नराम्रो भनेर छुट्याउने जिम्मा अब पाठकहरुकै हातमा छोड्छु।’ पुस्तकको मूल्य ३२५ रुपैयाँ राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.