घरबाट १ किलोमिटर सुतेरै सिंघियाघाट पुग्दा पराजुली भए धुलाम्मे

|

विराटनगर : विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नगरबासीको शान्ति, सुरक्षा, सुख र समृद्धिको कामना गर्दै १४ औं पटक छठ ब्रत बसेर पूजा अर्चना गरेका छन्।

विराटनगर–४ स्थित शिव पञ्चायन मन्दिरबाट पराजुलीले १ किलोमिटर दण्डप्रणाम गर्दै विराटनगर–१ स्थित सिंघिया खोला पुगेका हुन्। त्यहाँ पराजुलीले अस्ताउँदो सूर्यलाई अर्घ दिनेछन्। पानी समेत नखाई पराजुलीले खाली पेटमा यो यात्रा गरेका हुन्।

दण्डप्रणाम कठिन धार्मिक कार्य हो। शरीरलाई भुइँमा राखेर पराजुलीले गरेको यो यात्रा १४ औं पटक हो। ‘मैले आफ्ना लागि १३ पटकसम्म यो ब्रत लिएको छु,’ दण्डप्रणामकै क्रममा प्रतिक्रिया दिँदै पराजुलीले भने, ‘यस पटक भने समग्र विराटनगर माहानगरको विकास, समृद्धि तथा यहाँका जनताको सुख र शान्तिका लागि लिएको हुँ।’

१ बजेदेखि सुरु यात्रा सुरु गरेका पराजुलीलाई साढे २ घण्टा लागेको थियो। भुइँमा पुरै सुतेर हातले जमिनमा रेखा कोर्दैं गन्तव्यस्थलमा पुग्नु पर्ने यो ब्रतको नियम हो। ३० वर्षको उमेरदेखि पराजुलीले गरेको यो यात्रालाई भविष्यमा पनि निरन्तरता दिने नदिने भन्ने बारे यसै भन्न नसकिएको बताए। ‘यो ब्रत अत्यन्तै कठिन हुन्छ, यस पटक गरिसक्न पाए हुन्थ्यो अर्को बर्ष त सकिँदैन जस्तो हुन्छ,’ पराजुलीले भने, ‘तर, छठ पर्व आएसँग पुनः ब्रत लिने उत्साह आउँदा मैले छोड्नै सकिँन।’

आमा तुलमायाले धेरै वर्षदेखि छठको ब्रत लिने गरेको प्रेरणाले आफूले पनि ब्रत लिएको र आफूले सार्थकता पाएको पराजुलीको भनाइ छ। छठ ब्रतमा आफूले पुरै नियम पालना गरेको पराजुलीले बताए। छठको पहिलो दिन मंगलबार चोखो नितो भई साँझ लौकाको तरकारी मात्र खाएका पराजुलीले बुधबार दिनभर अन्न समेत नखाइ साँझ खरना पूजा गरेर खिर खाएर बसेका थिए। पराजुलीले बिहीबार (आज) दण्डप्रणाम गर्दै सिंघियामा पुगेर अस्ताएको सूर्यलाई अर्घ दिएर पैदल फर्कने र शुक्रबार (भोली) बिहान पैदल यात्रा गरी उदाउँदो सूर्यलाई अर्घ दिएर ब्रत समापन गर्ने बताएका छन्।  

छठ पर्व मनाउनेहरुले दण्डप्रणाम १२ पटकसम्म गर्नुपर्ने नियम छ। त्यसपछि विश्राम लिए हुन्छ। तर, पराजुलीले १४ पटक गरेको बताए। महानगर प्रमुख पराजुलीले धार्मिक आस्थाका आधारमा साइत हेराएर मात्रै हरेक कामको सुरुवात गर्दै आएका छन्। पराजुलीले नगर प्रमुखमा उम्मेद्वारी दिँदा, भोट हाल्दा, सपथग्रहण गर्दा र पदभार ग्रहण गर्दा पनि साइत हेरेरै गरेका थिए।

हेर्नुस् थप फोटो : 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • पिच भन्दा धुले सडक राम्रो हो ?