|

  • रमेश तिमल्सिना-

रौतहट : रौतहटका प्रमुख नेताहरुले नै पार्टी परिवर्तन गरेपछि मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा कुन पार्टीबाट को उम्मेदवार बन्छन् भन्ने चासो बढेको छ। उम्मेदवार बन्न पूर्व राज्य मन्त्रीदेखि पार्टीका जिल्ला अध्यक्षले समेत पार्टी परिवर्तन गरेको आशंका गर्न थालिएको छ।

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सहमहामन्त्री एवं स्वास्थ्य राज्यमन्त्री मुस्ताक आलम गत शनिबार एमालेमा प्रवेश गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै निवास बालकोटमा आलमलाई एमालेमा स्वागत गरेका हुन्। कांग्रेसका प्रभावशाली नेता शेख इन्द्रिसका नाति आलम रौतहटमा प्रभावशाली नेता हुन्।  उनले २०७० सालको संविधान सभाको निर्वाचनमा रौतहटको क्षेत्र नं. २ बाट आफ्नै मामा पूर्व मन्त्री अफताब आलमलाई भारी मतले पराजित गरेका थिए।

पार्टी अध्यक्ष विजयकुमार गच्छदारले कांग्रेससँग पार्टी एकता गराएपछि फोरम लोकतान्त्रिकका सहमहामन्त्री आलमले एमाले रोजेका हुन्। नवप्रवेशी आलमले रौतहट क्षेत्र नं. २ बाट उमेदवार बन्न सक्ने अनुमान गरिएको छ। यदि आलमलाई एमालेले टिकट दिएमा यस क्षेत्रमा फेरि मामाभाञ्जाबीच प्रतिस्पर्धा हुने करिब निश्चित छ ।

यसैगरी नेकपा माओवादी केन्द्रका रौतहट जिल्ला संयोजकले पनि पार्टी परिर्वतन गरेका छन्। तत्कालिन जनसेना कमान्डर विन्देश्वर यादव नेकपा माओवादी केन्द्र परित्याग गरी गत असोज २७ गते राष्ट्रिय जनता पार्टी नेपालमा प्रवेश गरेका छन्। राजपाको केन्द्रीय कार्यालयमा अध्यक्ष मण्डल टोलीको उपस्थितिमा  यादव पार्टी प्रवेश गरेका छन्।

जनयुद्धकालदेखि नै जिल्ला संयोजकको रुपमा जिम्मेवारी सम्हाल्दै आएका यादवले केन्द्रमा व्यक्तिवाद हावी भएको कारण नै परित्याग गरेको बताएका छन्। यादवले आउदो मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा रौतहट क्षेत्र नं. ३ को प्रदेश सभाबाट उमेदवारी दिने चर्चा छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.