|

  • भविन कार्की-

संखुवासभाः आगामी मंसिर १० मा हुने पहिलो चरणको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी दर्तासँगै संखुवासभामा चुनावी चहलपहल बढेको छ।
निर्वाचनमा मुख्यगरी वाम गठबन्धन र नेपाली  कांग्रेसबीच प्रतिस्पर्धा हुने भएको छ।

एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको संखुवासभामा वाम गठबन्धनले नेकपा एमालेका राजेन्द्र गौतमलाई अगाडि सारेको छ भने कांग्रेसले दीपक खड्कालाई उम्मेदवार बनाएको छ।

प्रदेशसभाअन्तर्गत ‘क’ क्षेत्रबाट वाम गठबन्धनबाट माओवादी केन्द्रका पूर्ण राई र ‘ख’ क्षेत्रबाट एमालेका तुलसी न्यौपाने चुनावी मैदानमा उत्रिएका छन्। कांग्रेसबाट भने प्रदेशसभाअन्तर्गत ‘क’ क्षेत्रबाट टंक राई, ‘ख’ क्षेत्रबाट दीपक लिम्बूले प्रतिस्पर्धा गर्दै छन्।

विराटनगर–किमाथांका हाइवे (कोशी राजमार्ग) लाई विकासको मूलप्रवाहमा ल्याउन दुई वर्षभित्र अनिवार्य सडकको ट्र्याक खोलिसक्ने योजनालाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढेको वाम गठबन्धनका उम्मेदवार गौतमले बताए। 

यता, वाम गठबन्धनभित्र उम्मेदवारीको विषयलाई लिएर केही मतभेद र असन्तुष्टि बढेको भन्दै कांगे्रसका उम्मेदवारहरू उत्साहित बनेका छन्।

यसअघि २०७० सालको संविधानसभाको निर्वाचनमा संखुवासभाको २ नं. क्षेत्रबाट जितेका दीपक खड्का किमाथांकादेखि जोगबनीसम्मको उत्तर–दक्षिण हाइवेको विकास गरेर दुई ठूला देशबीच हुने अर्बौं डलरको व्यापारको ट्रान्जिट प्वाइन्टका रूपमा संखुवासभालाई विकास गर्न सकिन्छ भन्ने लक्ष्यका साथ फेरि पनि चुनावी मैदानमा उत्रिएको बताउँछन्।

१० वटा स्थानीय तह रहेको संखुवासभामा गत स्थानीय तहको निर्वाचनमा एमालेले बढी सिट जित्दै जिल्ला समन्वय समिति बनाएको थियो। 

यस्तै, वाम गठबन्धनबाटै प्रदेशसभा ‘ख’ क्षेत्रमा उम्मेदवार बनेका एमालेका तुलसी न्यौपानेले हिजोका जनप्रतिनिधिहरूले काम गर्न नसकेको र अबको चुनावपछि वाम गठबन्धनबाट स्थायी सरकार बन्ने र त्यसले जनताका इच्छा आकांक्षा पूरा गर्ने भएकाले आफूले उम्मेदवारी दिएको बताउँछन्।

वाम गठबन्धनबाट संखुवासभा ‘क’ क्षेत्रका उम्मेदवार बनेका माओवादी केन्द्रका पूर्ण राईले अपूरो संविधानलाई पूर्ण बनाउने दायित्वलाई पूरा गर्न आफूले उम्मेदवारी दिएको बताए।

राजनीतिक दलहरू चुनावी प्रचारमा लागेसँगै निर्वाचन कार्यालयले पनि तयारी तीव्र पारेको जनाएको छ। जिल्ला निर्वाचन अधिकारी ऋषि दाहालले निर्वाचनको तयारी समयमै सक्ने गरी आफूहरूले काम गरिरहेको बताए।

संखुवासभामा प्रतिनिधिसभाको लागि एक स्वतन्त्रसहित १० वटा दलले उम्मेदवारी दिएका छन् भने प्रदेशसभाका दुवै क्षेत्रमा आठ÷आठवटा दलको उम्मेदवारी परेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.