|

धनकुटा : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै जाँदा पूर्वी पहाडी जिल्ला धनकुटामा राजनीतिक सरगर्मी बढेको छ। चुनाव नजिकिन थालेपछि राजधानी र जिल्लाकेन्द्रित नेताहरुसमेत गाउँगाउँमा पुगेर भोट माग्न थालेका छन्। 

निर्वाचनमार्फत् जनप्रतिनिधि चुन्न स्थानीय बासिन्दा उत्साही छन्। पार्टीको घोषणापत्रभन्दा पनि जिल्लाको विकास गर्नसक्ने सक्षम नेतृत्व चयनमा उनीहरुको ध्यान केन्द्रित हुन थालेको छ। चोकचोकमा जिल्लाको विकासमा कसले उल्लेख्य योगदान दिनसक्छ भन्नेमा बहस भइरहेको छ। यसअघिको निर्वाचनमा संविधान निर्माणका लागि जनप्रतिनिधि चुनेको भन्दै धनकुटाबासी अब प्रदेशसभा र प्रतिनिधिसभामा जनप्रतिनिधि चुनिएसँगै विकास निर्माणले धनकुटामा गति लिनेमा आशावादी छन्।

धनकुटामा प्रतिनिधिसभाका लागि एक र प्रदेश सभाका लागि दुई वटा निर्वाचन तय गरिएको छ। प्रतिनिधिसभाका लागि जिल्लालाई एक निर्वाचन क्षेत्र तथा जिल्लाको चौबिसे र साँगुरीगढी गाउँपालिकाको पूरै भूभाग तथा धनकुटा नगरपालिकाका १, ३, ४, ५, ६, ७, ८, ९ र १० वडा तथा शहीदभूमिका १, २, ३, ६ र ७ वडा मिलाएर बनाइएको प्रदेशको क्षेत्र नम्बर क बनाइएको छ। यसैगरी, छथर जोरपाटी गाउँपालिका, पाख्रीबास र महालक्ष्मी नगरपालिकाको सबै भूभाग तथा धनकुटा नगरपालिकाको २ नम्बर वडा र शहीदभूमि गाउँपालिकाको ४ र ५ वडा मिलाएर बनाइएको प्रदेशको क्षेत्र न ख बनाइएको छ।

जिल्ला निर्वाचन कार्यालयले जिल्लामा एक सय १७ मतदानस्थल र एक सय ५३ केन्द्र निर्धारण गरेको छ भने जिल्लामा कार्यरत सामाजिक परिचालकहरुमार्फत मतदाता शिक्षा कार्यक्रम सञ्चालनको तयारी भइरहेको जिल्ला निर्वाचन कार्यालय धनकुटाका नायब सुब्बा एवं सूचना अधिकारी केशव पौडेलले जानकारी दिए।
यस्तै धनकुटा जिल्लामा एक लाख पाँच हजार एक सय ८८ जना मतदाता छन्।

प्रदेशको  क्षेत्र क मा ५५ हजार २ सय १८ जना र प्रदेशको क्षेत्र ख मा ४९ हजार ९ सय ७० जना मतदाता रहेका छन्। स्थानीय तहको निर्वाचन भन्दा यस पटक जिल्लाभर ९ हजार ८ सय १६ जना मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय धनकुटाले जनाएको छ।

धनकुटामा १७ ओटा दल क्रियाशीलछन्। मुख्यरूपमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक), संघीय समाजवादी फोरम नेपाल, नयाँ शक्ति पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी छन् । त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (माले), राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय शिवसेना, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय जनमोर्चा, जनजागरण पार्टी, खुम्वुवान् राष्ट्रिय मोर्चा नेपाल, नेपाल कम्युनिष्ट पार्टी (माले–जनसमाजवादी), नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी र युनाइटेड ग्रिन अर्गनाइजेसन पार्टी छन्।

एमाले र माओवादी केन्द्र मिलेर बनेको वाम गठबन्धन र कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक), संघीय समाजवादी फोरम नेपाल, नयाँ शक्ति पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी मिलेर बनेको लोकतान्त्रिक गठबन्धनबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। प्रतिनिधिसभाका लागि वाम गठबन्धनबाट एमालेका जिल्ला अध्यक्ष राजेन्द्र राई र लोकतान्त्रिक गठबन्धनबाट राप्रपा प्रजातान्त्रिकका केन्द्रीय सदस्य एवं उद्योगमन्त्री सुनिलबहादुर थापा उम्मेदवार बनेका छन्।

यस्तै प्रदेशसभाका लागि वाम गठबन्धनमा कुन निर्वाचन क्षेत्र एमाले लिने र कुन माओवादी केन्द्रले लिने भन्ने टुंगो लाग्न सकेको छैन। प्रदेशको निर्वाचन क्षेत्र क एमाले लिएमा उपसचिव निरन राई र पूर्व सांसद टीकाराम चेम्जोङमध्ये एक जना उम्मेदवार बन्ने र माओवादी केन्द्रले लिए पोलिटब्युरो सदस्य हेमराज भण्डारी र जिल्ला सहसंयोजक ऋषिराम ढुंगाना र तिलकप्रसाद राईमध्ये एक उम्मेदवार बन्ने सम्भावना छ। त्यस्तै प्रदेशको क्षेत्र ख एमालेले लिएमा एमाले जिल्ला नेता इन्द्रमणि पराजुली र माओवादी केन्द्रले लिए पोलिटब्युरो सदस्य डम्बर सुवेदी उम्मेदवार बन्ने छन्।

लोकतान्त्रिक गठबन्धनबाट भने प्रदेशको क निर्वाचन क्षेत्र कांग्रेस र ख निर्वाचन क्षेत्र संघीय समाजवादी फोरमले लिने पक्कापक्की भएको छ। जसमा प्रदेशको क्षेत्र क मा कांग्रेसले पूर्व सांसद मनोहरनारायण श्रेष्ठ र पार्टी सचिव विजयसन्तोषी राईमध्ये एक र क्षेत्र ख मा संघीय समाजवादी फोरमले पार्टीका केन्द्रीय सदस्य अर्जुन थापालाई उम्मेदवार बनाउने सम्भावना छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.