|

कालिकोट : सुदूरपश्चिमको सुन्दर ठाउँको धारणा बनाएर पहिलोपटक कालिकोट पुग्ने जोकोही सदरमुकाम मान्म बजार पुग्नेबित्तिकै खिस्रिक्क पर्न सक्छन्। कर्णाली राजमार्ग यत्रतत्र छरिएका रक्सीका बोतलहरूले कालीकोटबारेको धारणा परिर्वतन गरिदिनसक्छ।

बजार छेउछाउ बाटो वरपर फालिएका बियर लगायतका काँचका बोतल र अन्य फोहोरले सुन्दर कालिकोटलाई कुरुप बनाएको छ। ‘हामीले परिकल्पना गरेको यस्तो कालीकोट होइन’, पत्रकार महासंघ कालिकोटका पूर्व अध्यक्ष कालीबहादुर मल्ल भन्छन्,‘तर दिनानुदिन कुरुप बन्दैछ।’

बजारको मुख्य चोक नै बसपार्क
कालिकोट सदरमुकामको मुख्य प्रतिमाचोकलाई बसपार्क बनाइएको छ। पहिले राजा वीरेन्द्रको सालिक रहेको प्रतिमाचोकमा गणतन्त्रपछि इतिहासकार नरहरिनाथको सालिक बनाइएको छ।

बिहानदेखि बेलुकीसम्म मालबाहक ट्रक र जीपको बिसौनीस्थल बन्दा बजार अस्तव्यस्त बनेको छ। ‘सुन्दर प्रतिमाचोक मालबाहक ट्रक र जीपहरुको बसपार्कका रुपमा परिणत भएको छ’, स्थानीय लक्ष्मी मल्लले भनिन्,–‘बजार व्यवस्थित गर्न कसैले पनि पहल चालेको छैन।’

अव्यवस्थित पोल र तार
जिल्ला सदरमुकाम मान्मस्थित पोलमा रहेका अव्यवस्थित विद्युत, टेलिफोनका तार, केबुल लाइनहरूले बजारलाई कुरुप बनाएका छन्। निकै होचा पोलका कारण सवारी साधन ओहोरदोहोर गर्दा अल्झिने र दुर्घटना हुने समस्या रहेको गाडी चालक रामबहादुर बोहोराले बताए। ‘बजारमा गाडी लैजाने हो कति बेला के हुने हो भन्न सकिँदैन’ उनले भने, ‘यसले गर्दा समस्या उत्पन भएको छ।’

मदिरा नियन्त्रण गर्न प्रहरी हैरान
घरेलु मदिरा उत्पादन निकै बढेका कारणले प्रहरी नियन्त्रण गर्न हैरानी हुने गरेको छ। घरेलु मदिरा नियन्त्रणमा प्रहरीले अभियान नै थाले पनि उत्पादन रोक्न नसक्दा हैरानी हुने गरेको हो। जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार बेलाबेलामा हजारौं लिटर घरेलु मदिरा नियन्त्रण र उत्पादन हुने ठाउँमा छापा मारेर नष्ट गरे पनि अझै नियन्त्रणमा नअाएको बताएको छ। 

गाउँमा निषेध
सदरमुकाममा मदिराको बिगबिगी भएपनि जिल्लाको निकै विकट पलाँता गाउँपालिकामा भने मदिरा निषेधित क्षेत्र बनेको छ। स्थानीय तहको निर्वाचनबाट जनप्रतिनिधि चुनिएसँगै गाउँपालिकाको पहिलो बैठकले मदिरा निषेधित क्षेत्र घोषणा गरेको हो ।

गाउँमा मदिराका कारणले घरेलु हिंसा र छिमेकीबीच झगडा बढेका कारण  नियन्त्रण गर्न मदिरा निषेधित क्षेत्रघोषणा गरिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए। ‘मदिरामा कारणले गाउँमा विकृति बढ्यो’, उनले भने, ‘त्यसैले नियन्त्रणको अभियान नै थालेका हौं।’
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.