|

काठमाडौं: मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा मुख्य राजनीतिक दलका प्रमुख नेताहरू विभिन्न जिल्लाबाट चुनाव लड्दै छन्। प्रमुख दल तथा अन्य चर्तामा रहेका दलका शीर्ष नेता को कहाँबाट चुनाव लड्दै छन् र उनीहरूका प्रमुख प्रतिस्पर्धी कोको हुनेछन् भन्ने जिज्ञासा अहिले तीब्र छ।

खासगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, नयाँ शक्ति पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराई, राप्रपा अध्यक्ष कमल थापा, राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर जबरा, राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतो, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवका प्रतिस्पर्धी को होलान् भन्ने अाम चासो छ।

झापा-५ बाट केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संसदीय चुनावका लागि झापा क्षेत्र नम्बर ५ बाट निर्वाचन लड्दैछन्। अध्यक्ष ओलीले झापा-५ बाट ०६४ को पहिलो संविधानसभा चुनावबाहेक उक्त क्षेत्रबाट ४ पटक चुनाव जितिसकेका छन्। यो क्षेत्र ओलीको गृहनगर हो।

एमाले अध्यक्ष ओली चुनाव लड्ने क्षेत्रबाट कांग्रेसले बलियो उम्मेदवार उठाउने तयारी गरेको छ। कांग्रेसका केन्द्रीय सदस्य  विश्वप्रकाश शर्मालाई सो क्षेत्रबाट उठाउन पार्टीले आग्रह गरेपनि शर्माको तयारी भने झापा-१ मा गरेका छन्। उता कांग्रेस झापाले भने यस क्षेत्रबाट महाधिवेशन प्रतिनिधि प्रा. डा. खगेन्द्र अधिकारी, मेनुका बुढाथोकीको नाम सिफारिस गरेको छ। नेता शर्मा झापा १ बाट उठ्ने भएपछि अधिकारी र बुढाथोकी मध्ये कुनै एकलाई उठाउने सम्भावना देखिन्छ।

चितवनबाट लड्दै प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन- ३ बाट चुनाव लड्ने तयारीमा छन्। २०६४ सालमा सम्पन्न संविधानसभा निर्वाचनमा काठमाडौं– १० र रोल्पा– २ बाट निर्वाचित नेता प्रचण्ड २०७० मंसिरमा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा सिरहा- ५ बाट निर्वाचित भएका थिए।

वाम गठबन्धन बनाएर मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा होमिएका पूर्व प्रधानमन्त्री प्रचण्डका प्रतिस्पर्धीका रूपमा कांग्रेसबाट को हुने भन्ने निर्णय भने भइसकेको छैन। तर कांग्रेस चितवनले नेता रामकृष्ण घिमिरेलगायतका नाम भने सिफारिस गरेको छ। २०७० सालको निर्वाचनमा चितवन- ४ बाट निर्वाचित घिमिरेको नाम यस निर्वाचनमा अलि बढी चर्चामा भने देखिन्छ। यद्यपि, कांग्रेसले औपचारिक निर्णय गरिनसकेका कारण भन्न यसै सक्ने अवस्था भने देखिँदैन।

देउवा डडेल्धुराबाटै

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा एक मात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुराबाट प्रतिनिधिसभाको निर्वाचन लड्दै छन्। हालसम्मका सबै निर्वाचन डडेल्धुराबाट लड्दै आएका नेता देउवा २०७० सालको संविधानसभा निर्वाचनमा डडेल्धुरा र कैलाली- ६ बाट विजयी भएका थिए। उनले उपनिर्वाचनमा भने कैलाली छाडेर डडेल्धुरा रोजे।

सभापति देउवाको प्रतिस्पर्धीको रूपमा वाम गठबन्धनले हालसम्म उम्मेदवार टुंगो लगाइसकेको छैन। तर गठबन्धनको सहमतिअनुसार भने माओवादी केन्द्रलाई प्रतिनिधिसभा दिने तयारी छ। यसअनुसार निर्णय भएमा माओवादी केन्द्रका केन्द्रीय सदस्य खगराज भट्ट देउवाका प्रतिस्पर्धीका रूपमा उठ्ने देखिन्छ। भट्ट २०६४ र ०७० को संविधानसभाको निर्वाचनमा देउवाका निकटतम प्रतिद्वन्द्वी हुन्।

गोरखामा भट्टराई-श्रेष्ठको चर्को प्रतिस्पर्धा

पहिलो चरणको निर्वाचनअन्तर्गत मंसिर १० गते हुने निर्वाचन गोरखा जिल्लामा दुई ठूला नेताबीच प्रतिस्पर्धा हुँदै छ। लामो समयदेखि राष्ट्रिय राजनीतिमा प्रभाव पार्दै आएका दुई नेताहरू नयाँ शक्ति पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराई र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ एकै क्षेत्रबाट निर्वाचन लड्ने कुराले गोरखा अहिले चर्चामा छ।

भट्टराई र श्रेष्ठ गोरखा क्षेत्र नम्बर- २ बाट प्रतिस्पर्धा गर्दै छन्। यी दुवै नेताको गृहक्षेत्र रहेको गोरखा- २ को निर्वाचन निकै रोचक बन्ने देखिन्छ।

काठमाडौं- २ बाट उठ्दै नेपाल

एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल काठमाडौं क्षेत्र नं.- २ बाट चुनाव लड्ने तयारीमा छन्। पूर्व प्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल २०७० सालको निर्वाचनमा नेपाल काठमाडौं- २ बाटै निर्वाचित भएका थिए। तर, उपनिर्वाचनमा भने त्यस क्षेत्रमा नेपाली कांग्रेस विजयी भएको थियो।

वरिष्ठ नेता नेपालको क्षेत्रबाट यस निर्वाचनमा कांग्रेसले पूर्व सांसद दीपक कुइँकेललाई उठाउने तयारी गरेको छ। तर अहिलेसम्म निर्णय भने भएको छैन। २०७० को निर्वाचनमा काठमाडौं र रौतहटबाट विजयी भएका नेपालले क्षेत्र छनोट गर्दा रौतहट रोजेपछि काठमाडौं- २ मा भएको निर्वाचनमा भने कुइँकेलले जितेका थिए।

इलाममा झलनाथका पुरानै प्रतिस्पर्धी

एमालेका अर्का वरिष्ठ नेता झलनाथ खनाल गृहजिल्ला इलामको क्षेत्र नं.- १ बाट चुनाव लड्दै छन्। संविधानसभाका दुवै निर्वाचनमा इलाम- १ बाटै विजयी भएका थिए खनाल। नेपाली कांग्रेसले यस क्षेत्रबाट पूर्व राज्यमन्त्री बेनुप प्रसाईंलाई उठाउने तयारी गरेको छ। तर हालसम्म निर्णय भने भइसकेको छैन। कांग्रेस नेता प्रसाईं २०५६ सालको निर्वाचनमा एमाले नेता खनाललाई पराजित गर्ने व्यक्ति हुन्।

तनहुँमा रामचन्द्रलाई चुनौती

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ क्षेत्र नं.- १ बाट चुनाव लड्दै छन्। २०४८ सालयता कांग्रेस नेता पौडेलले तनहुँबाटै निर्वाचन जित्दै आएका छन्। २०४८ सालमा तनहुँ- १ बाट जितेका उनले २०५१ सालयता तनहुँ- २ बाट निर्वाचन लड्दै आएका छन् । तर, क्षेत्र निर्धारण गर्दा पौडेलले निर्वाचन जित्दै आएको तनहुँ- २ यस पटक आधा-आधा भएको छ। 

तीनबाट दुईवटा निर्वाचन क्षेत्र हुने क्रममा आधा–आधा भाग १ र २ मा परे पनि पौडेलले भने यसपटकको निर्वाचनमा १ नम्बर क्षेत्रलाई रोजेका छन्। यस निर्वाचन क्षेत्रबाट वाम गठबन्धनले एमालेका किसान श्रेष्ठलाई उठाउँदै छ। एमाले तनहुँका लोकप्रिय नेता श्रेष्ठ २०७० को निर्वाचनमा कांग्रेस नेता पौडेलसँग एक हजार ४०० मतले पारिजत भएका थिए।

एमालेको राम्रो मत रहेको क्षेत्र तथा वाम गठबन्धनका कारण मत बढेपछि यस निर्वाचनमा कांग्रेस नेता पौडेललाई निकै चुनाैती हुने देखिन्छ। सँगै पूर्व गृहमन्त्री तथा कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीको असन्तुष्टिका कारण पनि पौडेललाई समस्या थपिएको छ।

शशांकको क्षेत्रमा बादलको चर्चा

कांग्रेस महामन्त्री डा. शशांक कोइराला नवलपरासी क्षेत्र नं.- १ बाट निर्वाचन लड्दै छन्। संविधानको व्यवस्थाअनुसार प्रदेश सीमांकन गर्दा नवलपरासी दुईवटा जिल्ला बन्न पुगेको छ।

सोहीअनुसार महामन्त्री डा. कोइरालाले २०६४ र २०७० सालको संविधानसभा निर्वाचन जितेको नवलपरासी- १ बाटै फेरि चुनाव लड्दै छन्। नवलपरासीको पूर्वी भाग अर्थात् नवलपरासीको क्षेत्र नम्बर- १ बाटै निर्वाचन लड्ने तयारीमा उनी छन्।

कांग्रेस महामन्त्री डा. कोइराला निर्वाचन लड्ने क्षेत्रबाट वाम गठबन्धनबाट कसलाई उठाउने भन्ने निर्णय भइसकेको छैन। तर पछिल्लो समय माओवादीका रामबहादुर थापा बादलको चितवनमा संभावना सकिएपछि नवलपरासी पठाउने भन्ने चर्चा छ। नवलपरासीमा वाम गठबन्धनबाट प्रतिनिधिसभा माओवादी केन्द्रले माग्दै आएकाले पनि नेता थापालाई उठाउने चर्चा भए पनि निर्णय भने भइसकेको छैन। कांग्रेसपछि एमालेको पकड राम्रो मानिने यस क्षेत्रमा एमालेका पूर्व सांसद कृष्ण पौडेल र नेता गोपाल खनालको पनि चर्चा छ। पौडेल २०७० को निर्वाचनमा नवलपरासी- ३ बाट जितेका सांसद हुन्। 

कमल थापाका पुरानै प्रतिस्पर्धी

राप्रपा नेता कमल थापा मकवानपुर- १ बाट प्रतिनिधिसभाको निर्वाचन लड्दै छन्। चुनावी प्रतिस्पर्धामा हालसम्म एकचोटि मात्र जित्न सकेका थापाले यसपटक पनि जित्ने/नजित्ने भन्न सकिने अवस्थामा छैन। नेता थापाको प्रतिस्पर्धीको रूपमा वाम गठबन्धनबाट एमालेका कृष्ण दाहाललाई उठाउने गठबन्धनको तयारी छ। दाहाल एमाले प्रदेश कमिटी सदस्य हुन्।

मकवानपुर- १ बाट थापालाई दुई पटक पराजित गर्ने कृष्ण दाहाल नै यसपटक थापाको प्रतिस्पर्धीका रूपमा आउने तयारी छ। २०४८ को पहिलो संसदीय निर्वाचनमा नेता थापा र एमालेका कृष्ण दाहालबीच प्रतिस्पर्धा हुँदा एमालेका दाहालले जितेका थिए भने २०५१ को आम निर्वाचनमा एमालेका दाहाललाई पराजित गर्दै थापाले चुनाव जिते। २०५६ को आम निर्वाचनमा फेरि थापालाई हराउँदै एमालेका दाहालले चुनाव जितेका थिए।

२०६४ को पहिलो संविधानसभाको निर्वाचनमा भने कमल थापाले निर्वाचन क्षेत्र परिवर्तन गरी मकवानपुर- ३ बाट चुनाव लडे। तर यस निर्वाचनमा पनि माओवादीका प्रह्लाद लामिछानेसँग थापाले चुनाव हार्न पुगे। राजा ज्ञानेन्द्रको पालामा गृहमन्त्रीसमेत भएका नेता थापा संसदीय अभ्यासका खेलाडी मानिन्छन्। २०७० मा समानुपातिक सभासद् भएका थापा गणतन्त्रप्राप्तिपछि बनेका सरकारमा पटक-पटक सत्तामा पुगेर विभिन्न जिम्मेवारी लिएका छन्।

पशुपतिलाई चुनौती

राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणा सिन्धुपाल्चोक- २ बाट चुनाव लड्दै छन्। २०४८, २०५१ को निर्वाचन जितेका नेता राणा २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा भने पराजित भए। पहिलो संविधानसभा निर्वाचनमा माओवादीका दावा तामाङसँग पराजित राणा र दोस्रो संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट नेकपा एमालेका शेरबहादुर तामाङसँग पराजित भएका थिए।

नेता राणाका प्रतिस्पर्धीका रूपमा वाम गठबन्धनले एमालेका शेरबहादुर तामाङलाई उम्मेदवार बनाएको छ। तामाङ राणालाई २०७० को निर्वाचनमा हराउने नेता हुन्। वाम गठबन्धनबाट चुनावी मैदानमा होमिएका पूर्व सांसद तामाङ पनि कमजोर उम्मेदवार नभएका कारण राणालाई चुनौती छ।

टुंगो छैन महतोका प्रतिस्पर्धी

राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतो सर्लाहीबाट चुनाव उठ्ने तयारी छ। तर हालसम्म निर्णय भइनसकेका कारण कहाँबाट चुनाव लड्ने भन्नेसमेत थाहा हुन सकेको छैन। निर्वाचन क्षेत्र छुट्याई नसकेका कारण २०६४ सालको संविधानसभा निर्वाचनमा सर्लाही- ४ बाट निर्वाचित नेता महतोका प्रतिस्पर्धी को हुने भन्ने समेत अन्योल छ।

उपेन्द्र यादव सप्तरीबाट उठ्दै

प्रतिनिधिसभाको निर्वाचनमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सप्तरीबाट चुनाव लड्दै छन्। सप्तरीको निर्वाचन क्षेत्र नं.- २ बाट उम्मेदवार बन्ने तयारीमा अध्यक्ष यादव रहेका छन्। यद्यपि, अध्यक्ष यादवको नाम मोरङ र सिरहाबाट प्रस्तावित भएको थियो।

यता वाम गठबन्धनबाट भने पूर्व मन्त्री तथा माओवादी केन्द्रका नेता उमेश यादवको चर्चा छ भने एमालेका तर्फबाट पूर्व सांसद रञ्जु ठाकुर र बुद्धिजीवी परिषद्का केन्द्रीय सदस्य नथुनी दासको नाम सिफारिस भएको छ।

हालसम्म माओवादी वा एमाले कसले लिने भन्ने निश्चित नभइसकेको एमाले सप्तरीका अध्यक्ष गोविन्द न्यौपाने बताउँछन्। 'हालसम्म हाम्रो तर्फबाट निर्णय भइसकेको छैन। माओवादी केन्द्रबाट पूर्व मन्त्री उमेश यादव र हाम्रो पार्टीको तर्फबाट रञ्जु ठाकुर र नथुनी दासको नाम सिफारिस भएको छ', अध्यक्ष न्यौपानेले भने, 'निर्णय त माथिबाटै आउला नि!'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.