|

सोलुखुम्बु : सोलुखुम्बुको प्रदेश क मा उम्मेदवारी दिएका नेकपा एमाले नेता लोचनकुमार शर्मालाई एमालेले साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको छ। पार्टी नीति विपरीत उम्मेदवारी दिएका शर्माको उम्मेदवारी फिर्ता गराउन एमाले सोलुखुम्बुले समिति नै बनाएर प्रयास गरेको थियो। तर उम्मेदवारी फिर्ता नगरेपछि शर्मालाई एमालेले कारवाही गरेको हो।

बिहीबार केन्द्रीय कमिटीको सर्कुलर बमोजिम एमालेले साधारण सदस्य समेत नरहने गरी अनुशासनको कारवाही गरिएको अध्यक्ष मानवीर राईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। बिहीबार जारी विज्ञप्तिमा भनिएको छ, 'कात्तिक ६ गते बसेको ११ औं पूर्ण बैठकले उपसमितिनै गठन गरी पार्टीको निर्णय विपरीत भएका गतिविधिबाट फर्काउन खोजिए पनि असमर्थ भएपछि कात्तिक ५ गतेदेखि लागू हुने गरी साधारण सदस्य समेत नरहने गरी अनुशासनको कारवाही गरिएको छ।'

उम्मेदावारी फिर्ता गराउन हदैसम्मको प्रयास गरे पनि सफल नभएपछि पार्टी विधानको धारा ४९ (ख) मा व्यवस्था भए बमोजिम कारवाही गरिएको विज्ञप्तिमा उल्लेख छ। नेता शर्माले प्रदेश सभा क मा स्वतन्त्र उम्मेदवारी मनोनय दर्ता गराएका थिए। निर्धारित समयमा उम्मेदवारी फिर्ता नलिएपछि निर्वाचन कार्यालयले चुनाव चिह्न (भर्‍याङ) प्रदान गरेको छ।

अब प्रदेश सभा क मा बाम गठबन्धनबाट एमाले नेता उत्तम बस्नेत, कांग्रेसबाट प्रकाश सिं कार्की, नयाँ शक्तिबाट दीपक खड्का, संघीय समाजवादी फोरमबाट चोलामाया बस्नेत र स्वतन्त्रबाट लोचनकुमार शर्माको प्रतिस्पर्धा हुने भएको छ। प्रतिनिधि सभाको एक र प्रदेश सभाको दुई क्षेत्र रहेको यहाँ प्रदेश सभा क लाई शर्माको उम्मेदवारीपछि रोचक ढंगले हेरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.