|

इलामः  संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईले एमाले र माओवादी केन्द्रबीच भएको वाम गठबन्धनलाई लम्पसारवादी र खोक्रो राष्ट्रवादीको एकताको संज्ञा दिएका छन्।

राईले केही समयअघिसम्म एमालेले माओवादीलाई लम्पसारवादी र विदेशीको दलाल तथा माओवादीले एमालेलाई यथास्थितिवादी, प्रतिगामी, खोक्रो राष्ट्रवादीको संज्ञा दिने गरेको स्मरण गर्दै यस्ता दुई शक्तिबीचको एकताले थप शंका पैदा भएको उल्लेख गरे।

इलाम सदरमुकाममा आयोजित पार्टी प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै वरिष्ठ नेता राईले वाम गठबन्धन जनतालाई झुक्याएर संसदमा गई कमाइ खानका लागि गठबन्धन गरिएको  टिप्पणी गर्दै निर्वाचनसम्म मात्र टिक्ने दाबी गरे। 

उनले वाम गठबन्धन दक्षिणपन्थीहरूको गठबन्धन भएको समेत आरोप लगाए। ‘जनतालाई अधिकारसम्पन्न गराउन नचाहने, संविधान संशोधन गर्न नमान्नेहरू कसरी वामपन्थी हुन सक्छन्?’ उनले भने, ‘परिवर्तनका लागि काम गर्ने पो वामपन्थी हुन्छन्। नेपालका कम्युनिष्टहरू दक्षिपन्थी हुन्। उनीहरू नामपन्थी मात्र हुन्।’ 

राईले नेपाली कांग्रेसले बनाएको लोकतान्त्रिक गठबन्धनको समेत औचित्य नरहेको दाबी गरे। कांग्रेसले पनि हतारमा गठबन्धन निर्माण गरेको उल्लेख गर्दै उनले वाम गठबन्धनबाट त्रसित नहुन कांग्रेसलाई आग्रहसमेत गरे।

दुई शक्तिहरू दुई ध्रुवमा ध्रुवीकृत भइरहेका बेला नेता राईले संघीय समाजवादी फोरम कुनै गठबन्धनमा नगई छुट्टै तेस्रोे शक्तिको निर्माण अभियानमा रहेको खुलासा गरे। ‘हामी कसैको पिछलग्गु होइनौँ। हामी छुट्टै तेस्रो धारको नेतृत्व गर्छाैं। त्यो संघीयवादी, पहिचानवादी, समावेशी र परिवर्तनकारीको धार हुनेछ’, उनले भने, ‘त्यसले मात्र उत्पीडितहरूको मुक्ति हुन्छ। आर्थिक समृद्धि हुन्छ र दिगो शान्ति कायम हुन्छ।’

चुनावी तालमेल भने हुनसक्ने नेता राईले खुलाए। नेपाली कांग्रेससँग तालमेलको छलफल भइरहेको उल्लेख गर्दै सिट बाँडफाँड मिलेमा चुनावी तालमेल हुनसक्ने उनको भनाइ थियो।

संघीय समाजवादी फोरम नेपाल इलाम नगर समितिको आयोजनामा भएको ‘नेपालको वैचारिक अवधारणा’ विषयक कार्यक्रममा पूर्व मन्त्रीसमेत रहेका नेता अशोक राई, उपाध्यक्ष युवराज कार्की, केन्द्रीय सदस्य तथा महिला विभाग प्रमुख सुशीला श्रेष्ठ, केन्द्रीय सदस्य मित्रलाल चापागाईंले प्रशिक्षण दिएका थिए।कार्यक्रममा विभिन्न क्षेत्रका दुई सय बढी नेता तथा कार्यकर्ताहरूको सहभागिता थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.