|

गोरखा : मंसिरमा घरमा मुरीका मुरी धान भित्र्याउने गोरखाको सिराञ्चोक– ६ गाँखुका किसान यतिबेला निरास छन्। असारमा मानो रोपेर मंसिरमा मुरी भित्र्याउने आशाले नार्कले सिफारिस गरेको ‘वार’ नामको धान रोपेका किसान अहिले समस्यामा परेका हुन्। गाँखुका ६ जना कृषकको १३ रोपनी खेतको धान रोगले सखाप पारेको छ ।

‘धान फूल खेल्न थालेदेखि बोट मर्न थालेको हो,’ अगुवा कृषकसमेत रहेका अर्जुन थापाले भने, ‘धानको बोट टुप्पोदेखि जरैसम्म पूरै सुकेर परालजस्तो भएको छ।’ उनले थपे, ‘जराले माटो नै समातेको छैन। कृषिको हाकिम’सापलाई पनि देखाइयो। यहाँ काम गर्ने संस्थाका कृषि विज्ञ भन्ने सरहरुलाई पनि देखाइयो, कसैले पनि के रोग लागेको भनेर भन्नै सक्दैनन्।’

अर्जुन थापाको मात्रै चार रोपनीको खेतको धान रोगले सखाप पारेको छ। उनी सँगै रणबहादुर खनाल, मेखबहादुर श्रेष्ठ, सुशीला खनाल, नारायणकाजी दवाडीको खेतमा पनि सोही समस्या देखिएको छ। थापाको खेतबाट सुरु भएको सो रोग नजिकै रहेका अन्य किसानको धानवालीमा पनि सरेको हो।

‘हामीले कृषि विकास कार्यालयमा जानकारी गरायौँ, कृषि हाकिम सापलाई पनि देखायौँ,’ थापाले भने, ‘हाकिम सापहरु हामीले केही सहयोग गर्ने कार्यक्रम नै छैन, सबै गाउँपालिकामा छ त्यतै जानकारी गराउनुस् भन्ने गाउँपालिकामा गयो हामीलाई काम गर्ने अधिकार नै आएको छैन के सहयोग गर्ने भनेर फिर्ता पठाउनुहुन्छ।’

जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत यमकुमार श्रेष्ठ भने किसानहरुले जानकारी गराउन ढिला गरेको बताउँछन्। ‘एक त उहाँहरुले कृषि विज्ञलाई जानकारी गराउन ढिला गर्नु भयो,’ उनले भने, ‘अर्काे जिल्ला कृषि विकास कार्यालयले अहिले केही गर्न सक्ने अवस्थै छैन। सबै गाउँपालिकामा अख्तियारी गएको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.