|

उदयपुर : उदयपुरमा सार्वजानिक जग्गा अतिक्रमण गर्ने क्रम बढेको छ। पछिल्लो सयम सदरमुकाम गाईघाटलगायत मुख्य व्यपारिक केन्द्रका रुपमा विकास हुँदै गएका क्षेत्रमा भूमाफियाको चलखेलमा अतिक्रमण बढेको हो। सार्वजानिक ऐलानी जग्गा नम्बरी आवदीभन्दै बिक्री गर्ने र खरिद गर्नेको संख्या बढ्दै गएको छ। स्थानीय तहमा निर्वाचित जनप्रतिनिध आएपछि नम्बरी हुने भन्दै भूमाफियाले जग्गा बिक्री गर्ने गरेका हुन्। ‘मैले ऐलानी जग्गा किनेको हुँ,’ त्रियुगा नगरपाकिला ११ की सावित्री काप्mलेले भनिन्, ‘पछि नम्बरी हुन्छ भनेर किनेको हुन्छ कि हुँदैन!’

यसरी ऐलानी जग्गा किन्ने साबित्री मात्र होइनन्। जिल्लाको कटारी, त्रियुगाको गाईघाटमा रहेको बरुवा खोला किनारको नदी, बेल्टार, रामपुर बजार क्षेत्रमा धेरै भेटिने गरेका छन्। जिल्लामा दुई वर्षयता भूमाफियाले सदरमुकाम गाईघाटलगायत रामपुर, बेल्टार, नेपालटार र कटारी क्षेत्रमा सर्वाजनिक ऐलानी जग्गा आवादी गरी घडेरीको रुपमा बिक्री गरिरहेको कटारीका जग्गा व्यवसायी धनबहादुर कटुवालले बताए। ‘कुनै बेला ऐलानी जग्गा मात्र किन्ने पैसा छ भन्दै आउने गरेका छन्,’ उनले भने, ‘जिल्लाको कटारी, गाईघाट, बेल्टारलगायतका क्षेत्रमा नापी भएको जग्गा कमै मात्र भएकाले ऐलानी मात्र लिएर बसेकाले बिक्री गर्ने गरेका छन्।’

कसैले विगत २० वर्षेदेखि बस्दै आएको जग्गा किनेको बताउँछन्, कोहीले नदीको किनार अनि वन क्षेत्र फडानी भएको जग्गा किन्ने गरेका छन्। चुनावका बेला एलानी जग्गामा बसोबास गर्दै आएकालाई राजनीतिक दलका नेताहरुले भोट माग्न नम्बरी बनाइदिने भाषण गर्नाले पनि ऐलानी जग्गाको अतिक्रमण बढेको छ।

जग्गाको मूल्य बढ्दै गएपछि भूमाफिया सर्वजनिक, ऐलानी, बसपार्क र नदीको जग्गा अतिक्रमण गरी बिक्री गर्न सक्रिय भएका छन्। नदी किनारको जग्गा सस्तोमा खरिद गरेर प्लटिङ्ग गरी बिक्री गर्दा राम्रो मूल्य पाउने भएपछि भूमाफिया सक्रिय भएको गाईघाटका स्थानीयले शिवदाहालले बताए। ‘भूमाफियाले मालपोत र नगरपालिकाका कर्मचारीलाई प्रभावमा पारेका छन्,’ उनले भने, ‘त्यसैले यस्तो कार्यको विरोध गर्दा पनि सफल हुनेगरेको छैन।’ उनले भूमाफिया, दलका नेता तथा मालपोत कार्यालयका कर्मचारीनै भित्रीरुपमा सहभागी हुने गरेको आरोप लगाए। 

अतिक्रमण समयै नरोक्ने हो भने सार्वजनिक जग्गा नै बाकी नरहने अवस्था छ। उदयपुरको भित्री मधेसमा पर्ने कटारी, गाईघाट, बेल्टार, नेपालटार, रामपुर अहिले बजार क्षेत्रकोरुपमा विकसित हुँदै जानु र अन्न उत्पदानले पनि खेतीयोग्य जमिन परेकाले सर्वसाधरणको ध्यान ऐलेनी सरकारी जग्गामा पर्ने गरेको छ। ‘धेरै वैदेशिक रोजगारीमा गएर फर्केकाहरुले उदयपुरको भित्री मधेस रोज्ने गरेका छन्,’ त्रियुगा नगरपालिकाका नगर प्रमुख (मेयर) बलदेव चौधरीले भने, ‘यसलाई विशेष कानुन बनाएर राज्यले वैज्ञानिक नीति लिएमात्र रोक्न सफल हुनेछौँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.