|

बैतडी : राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्दको गृह जिल्ला बैतडीमा १० भन्दा बढी संस्थापक नेताहरुले राप्रपा परित्यागको घोषणा गरेका छन्। अध्यक्ष कमल थापाले पार्टी एकलौटी रुपमा सञ्चालन गरेको भन्दै पार्टीमा ३ दशकदेखि सक्रिय नेताहरुले पार्टी छोडेको घोषणा गरेका हुन्। जिल्ला  उपाध्यक्ष प्रेमसिंह धामीको अध्यक्षतामा शुक्रबार बसेको संस्थापक नेताहरुको भेलाले जिल्ला नेतृत्व र केन्द्रीय नेतृत्वले आफूहरुको योगदानको कदर नगरेको भन्दै पार्टी छोड्ने निर्णय गरेको हो।

पार्टी परित्याग गर्नेमा जिल्ला धामीसँगै पूर्व केन्द्रीय सदस्य तथा पूर्व जिल्ला सभापति मोहन थापा, पूर्व जिल्ला अध्यक्ष मोहनबहादुर विष्ट, पूर्व जिविस उपसभापति तथा पार्टी उपाध्यक्ष जयप्रकाश पन्त लगायतका नेताहरु रहेका छन्। पूर्व जिल्ला अध्यक्ष विष्टले २० बर्षसम्म जिल्ला अध्यक्षको रुपमा काम गरेका थिए।

यस्तै क्षेत्र नम्बर २ का सभापति उत्तमबहादुर चन्द, पूर्व जिविस सदस्य तथा केन्द्रीय पार्शद गणेशबहादुर विष्ट, पूर्व क्षेत्रीय सभापति उदयसिंह भण्डारी, प्रदेश सभा सदस्य निर्वाचनका लागि समानुपातिक उम्मेदवार रमा भण्डारी, पूर्व जिविस सदस्य, प्रेम विष्ट र पूर्व खलंगा गाविस अध्यक्ष विष्णुदत्त पाण्डेयले पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।

नेताहरुले पार्टी नेतृत्वले एकलौटी रुपमा उम्मेदवार चयन गरेको, मनोमानी रुपले चल्दा स्थानीय तहको निर्वाचनमा हार बेहोरेको र राप्रपा पटक पटक टुटफुटको राजनीतिमा सक्रिय भएको आरोप लगाएका छन्। केन्द्रीय अध्यक्ष कमल थापा स्वार्थी, तनाशाही र पद लोलुपतामा फसेको उनीहरुको आरोप छ। कमल थापाकै व्यक्तिगत स्वार्थका कारण पार्टी पटक पटक विभाजन हुँदा प्रजातन्त्र कमजोर बनेको उनीहरुको भनाइ छ।

उपाध्यक्ष धामीले केही दिनमा पत्रकार सम्मेलन गरी ठूलो संख्यामा युवा नेता कार्यकर्ताले पार्टी छोडेको घोषणा गर्ने बताए। आफूहरुले घरबार त्यागेर पनि पार्टीका लागि लडेको तर अहिले पार्टी नेतृत्वले पटक पटक पुराना नेताहरुको अपमान गरेकाले पार्टीमा बसिरहनुको आचित्य नरहेको नेता उत्तमबहादुर चन्दले बताए।

पटक पटक पार्टी नेतृत्वको ध्यानाकर्षण गर्दा पनि बेवास्था गरिएकाले पार्टीनै छोड्नेपर्ने स्थिति आएको पूर्व जिविस सभापति मोहन थापाले बताए। ‘हामीले प्रजातन्त्रको रक्षाका लागि तीन दशकसम्म योगदान गर्‍यौं तर अहिलेको नेतृत्वले हाम्रो कुनै मुल्यांकन गर्न सकेन’ उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.