|

सोलुखुम्बु : सामुदायिक रेडियो सोलु एफएमले देउसी भैलोबाट संकलन गरेको १ लाख ६८ हजार रुपैयाँ फोहर व्यवस्थापनमा खर्च गर्ने भएको छ। जिल्लाको सोलु दूधकुण्ड नगरपालिकाको मुख्य चुनौती फोहोर व्यवस्थापन नै देखिएकाले देउसी भैलो खेलेको रकमबाट फोहर संकलनका लागि टोकरी राख्ने रेडियो सञ्चालक समितिका अध्यक्ष वुद्धिनारायण श्रेष्ठले जानकारी दिए।

नगरपालिकाको तीस सार्वजानिक स्थानमा फोहोर फालिने टोकरी राखिने समितिले जनाएको छ। सोलुखुम्बु पर्यटकीय हिसाबले महत्व बोकेको जिल्ला भएकाले सरसफाइमा विशेष ध्यान दिन आवश्यक रहेको सञ्चालक समितिका अध्यक्ष श्रेष्ठले बताए। सामुदायिक रेडियोले जनचेतना जगाउने रेडियो कार्यक्रम सञ्चालन गर्नेमात्र नभइ व्यवहारमा नै गरेर देखाउने उद्देश्यसहित फोहर संकलनका लागि टोकरी राख्न लागेको श्रेष्ठको भनाइ छ।

स्थानीय स्रोत साधनलाई प्रयोग गर्ने भन्दै बेत बाँसबाट बनेको टोकरी राख्ने तयारी रेडियोले गरेको छ।  सुरुमा तीस स्थानमा राखिने र अन्य दातृ निकायको सहयोगमा अन्य स्थानहरुमा समेत राखिने कार्यकारी निर्देशक नुतन श्रेष्ठको भनाइ छ। पछिल्लो समय नगरपालिकाको बजार क्षेत्रमा जताततै फोहर बढ्दै गएको छ।

टोल सुधार समितिले सरसफाइ गरे पनि मानिसको चहलपहल हुने क्षेत्रमा फोहर राख्ने टोकरी नहुँदा सडकमा यत्रतत्र फोहर छरिएका देखिन्छन्। रेडियोले मानिसको चहलपहल हुने क्षेत्रमा टोकरी राख्ने र अन्य सहयोगी संस्थाको सहकार्यमा अन्य ठाउँमा पनि टोहरी थप्ने रेडियोका अध्यक्ष श्रेष्ठले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.