२१ डिसेम्बरमा चुनाव

|
स्पेनका प्रधानमन्त्री मारियानो रजोय।

स्पेनबाट अलग भएर स्वतन्त्र देश बन्न खोजेको क्याटलोनिया क्षेत्रमा स्पेनले प्रत्यक्ष शासन लगाएको छ। क्याटलोनियाको संसदले शुक्रबार स्वतन्त्र मुलुक हुने घोषणा गरे लगत्तै स्पेनले हस्तक्षेप गरेर क्याटलोनियाको संसद विघटन गरेको बीबीसीले लेखेको छ।

स्पेनका प्रधानमन्त्री मारियानो रजोयले क्याटलोनिया संसद भंगसँगै कार्लोस पुजिमोन्टको नेतृत्वको सरकारलाई समेत बर्खास्त गरेका छन्। योसँगै रजोयले क्याटलोनियामा निर्वाचन गराउने घोषणा गरेका छन्।

रजोयले क्याटलोनियाका प्रहरी प्रमुख जोसेफ लुइस टार्पेरो अल्भारेजलाई पनि पदबाट बर्खास्त गरेका छन्। क्याटलोनियाका क्षेत्रीय प्रहरी प्रमुख रहेका अर्भारेजविरुद्ध राज्यद्रोहको मुद्दा चलाइने बताइएको छ। उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको छ। उनलाई केन्द्रीय प्रहरीलाई सहयोग नगरेको र क्याटलान स्वतन्त्रता पक्षधरलाई रोक्न असफल भएको आरोप लगाइएको छ।  

क्याटलोनियाको संसदले स्वतन्त्रता पक्षमा मतदान गरेपछि बार्सिलोनामा खुसीयाली मनाइँदै।  

प्रधानमन्त्री रजोयले क्याटलोनियाको स्थिति सामान्य अवस्थामा ल्याउनका लागि प्रत्यक्ष शासन लागु गर्नेजस्तो कडा कदम चाल्नुपरेको बताएका छन्। उनले क्याटलोनियामा प्रत्यक्ष शासन लागू गर्नुको उद्देश्य स्पेनमाथि आइलागेको संवैधानिक संकटलाई अन्त्य गर्नु रहेको बताएका छन्।

क्याटलोनियामा २१ डिसेम्बरमा फेरि क्याटलान प्रदेशसभा चुनाव गराउने प्रधानमन्त्रीले प्रतिवद्धता जनाएका छन्। उक्त चुनाव स्वतन्त्र र कानुनी रुपमा स्वच्छ रुपमा गराइने उनले बताएका छन्। क्याटलोनियामा भइरहेको वर्तमान अस्थिरतालाई निराशाजनक बताएका छन्।

क्याटलोनियामा प्रत्यक्ष शासन लगाउने निर्णय गर्दै स्पेन सरकारको मन्त्रिपरिषद बैठक।

क्याटलोनियाको संसदले शुक्रबार गोप्य मतदान गरेर स्पेनबाट स्वतन्त्र हुने निर्णयका पक्षमा मतदान गरेको थियो। उक्त मतदानमा स्पेनमा नै रहनुपर्छ भन्ने सांसदहरुले भने मतदान बहिस्कार गरेका थिए। क्याटलानियाका १३५ सांसदमध्ये ७० सांसद स्वतन्त्रताको पक्षमा उभिएका थिए भने १० जना विपक्षमा उभिएका थिए।

संसदमा मतदान भइरहेका बेला संसद हजारौं क्याटलान जनता सडकमा उत्रिएका थिए। उनीहरु स्वतन्त्रताका पक्षधर थिए।

संवैधानिक अदालतले उक्त जनमतसंग्रहलाई अवैधानिक घोषणा गरेपछि पनि जनमतसंग्र गराइएको थियो। उक्त जनमतसंग्रहमा ४० प्रतिशत क्याटलान मतदाताले सहभागिता जनाएको र उनीहरुमध्ये ९० प्रतिशतले स्वतन्त्रताको पक्षमा मत खसालेको पृथकतावादी नेताहरुले दावी गरेका थिए।

उक्त जनमतसंग्रह रोक्न स्पेनको राष्ट्रिय प्रहरीले बल प्रयोग गर्दा ८ सयभन्दा बढी घाइते भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.