|

पाल्पा : पाल्पा सदरमुकाम तानसेन- ९ को तरंग साहित्यिक संगमले दुई दिने सिर्जनशील साहित्य शिविर सञ्चालन गरेको छ। पाल्पाको छहराबाट यात्रा सुरु गरी तीनगिरे, अर्घाखाँचीको खिदिम, दुर्गाफाँट पोखराथोकको अवलोकन गरी पाणिनी तपोभूमिमा सिर्जनशील साहित्य शिविर सञ्चालन गरिएको हो। पाल्पा, चितवन, रूपन्देही, कपिलवस्तु, गुल्मी र अर्घाखाँचीका ६५ जना साहित्यकारले भाग लिएको कार्यक्रमको रचना पाठ हरिहर पाठशालामा गरिएको थियो।

उक्त कार्यक्रममा साहित्यकार चोलेश्वर शर्माले साहित्य यात्रा र रचना शिविर सञ्चालन गरी तरंगले स्रष्टा र समाज जोडेको बताए। उनले यस्तो अभियानमा रचना गरिएका परिस्कृत रचनाहरूले राष्ट्रियस्तरकै पहिचान दिएको बताए। कार्यक्रमका समीक्षक डा. एकनारायण पौडेलले यो साहित्य शिविर मात्र नभएर विशाल साहित्य अभियान रहेको बताए। परापूर्व कालमा शिक्षा र भाषाको केन्द्र बनेको पाणिनी क्षेत्रलाई विकासका पूर्वाधारले पनि सुसज्जित बनाउनुपर्नेमा उनले जोड दिए।

समीक्षक पौड्यालले शिविरमा राष्ट्रप्रेम, प्रकृतिप्रेम, मानवता, राजनीतिमा देखिएका विकृति, समाजलाई केन्द्र बनाएर उत्कृष्ट रचनाहरू आएको बताए।

प्रश्रित प्रतिष्ठानका अध्यक्ष प्राध्यापक डा. कपिल लामिछानेले साहित्य, कला र संस्कृति संरक्षणका लागि सरकारको ध्यान पुग्न नसकेको गुनासो गरे। पाणिनी गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले आफूहरूले गर्नुपर्ने साहित्य अभियान तरंगले गरिदिएकोमा खुशी व्यक्त गरे। उनले पाणिनी, दधिराम मरासिनी, हरिहर गौतम, काशिनाथ गौतम, मोदनाथ प्रश्रित जस्ता साधकहरू जन्मेको यो क्षेत्रलाई सिर्जना मार्फत संझिएकोमा सष्टाहरूलाई धन्यवाद दिए।

नेपाल पत्रकार महासंघ पाल्पाका सभापति राजेशकुमार अर्यालले यो अभियानमा रहेका स्रष्टाहरूले समुदायकै घरघरमा बसी स्थलगत अवलोकन गरी एक ठाउँमा बसेर साहित्य सिर्जना गर्ने बताए। पाणिनी तपोभूमिमा गरिएको तरंगको यो आठौं साहित्य शिविर हो। तरंग साहित्यिक संगमले यसअघि घिमिरेडाँडा, कौडेलेक, जन्तिलुङ मस्याम, ताँहू बाकुमगढी, रानीमहल, पूर्वखोला, अर्गली रूरूक्षेत्र, स्याङजाको आलमदेवीमा साहित्य शिविर सम्पन्न गरिसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.