|

पोखरा : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश र प्रतिनिधिसभा निर्वाचन अधिनायकवाद र साम्यवादविरुद्धको लडाइ भएको बताएका छन्। शनिबार पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले वाम गठबन्धन कांग्रेस विरुद्धमात्र नभएर राष्ट्रकै विरुद्ध भएको भन्दै उनले गठबन्धनमार्फत नेपालको राष्ट्रियता खलबल पार्ने षड्यन्त्र भएको आरोप लगाए।

'एकवद्ध भएर एक दलीय सर्वसत्तावाद, एक दलीय तानाशाही समाज, एक दलीय कम्युनिष्ट निरंकुश शासनबाट यो देशलाई मुक्त गर्नुछ। त्यसकारण सबै मिलेर यो देशको राष्ट्रियताको लागि प्रजातन्त्र रक्षाको लागि नेपाली कांग्रेसलाई विजयी गराउन अनुरोध गर्दछु।'  स्थानीय चुनावमा अन्य पार्टीले जिते पनि प्रदेश र प्रतिनिधिसभाको चुनावमा कांग्रेस विजयी हुनेमा कांग्रेस सभापति देउवाले विश्वास व्यक्त गरे।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टहरुले लोकतन्त्रको घोडा चढेर अधिनायकवाद लाद्न खोजेको बताए। ‘नेपालमा लोकतन्त्रको रक्षा गर्ने चुनौती देखा परेको छ। अहिले कम्युनिष्टहरु संविधान कार्यान्वयनमा ब्यवधान खडा गर्दैछन्' उनले भने 'कम्युनिष्टहरु बहुमतले जारी गरेको संविधान फेर्ने कुरा गर्दै हिँडेका छन्। लोकतन्त्रको घोडा चढेर अधिनायकवादमा पुग्ने कम्युनिष्टहरुको चालबाजी सुरु भएको छ।’

वाम गठबन्धनलाई सबै लोकतन्त्रवादी शक्तिले गम्भीरतापूर्वक लिनुपर्ने भन्दै नेता पौडेलले अबको लडाइँ लोकतन्त्र र साम्यवाद विरुद्धको भएको बताए। 'अबको लडाइँ अधिनायक र स्वतन्त्रताबीचको लडाइँ हो', उनले भने 'यो चुनाव पार्टीको होइन लोकतन्त्रको लडाँ हो, व्यवस्थाको लडाइँ हो। कांग्रेसलाई जनताको साथ चाहिएको छ।’ कम्युनिष्टले देशलाई पछि पार्ने दाउ खोजिरहेको भन्दै पौडेलले त्यसतर्फ सचेत भएर कांग्रेसलाई समर्थन गर्न आग्रह गरे ।

‘कम्युनिष्टको व्यवहार सामान्य कुरा होइन, हामी एकजुट भएर देशलाई राजनीतिक अस्थिरता त्यागेर समृद्धितर्फ अगाडि बढाउनेछौं', उनले थपे 'सबै जनताले कांग्रेसलाई साथ दिनुपर्छ। कांग्रेसलाई साथ दिने भनेको स्वतन्त्रता र समृद्धिलाई साथ दिनु हो।’

शनिबारको कार्यक्रममा अखण्ड पार्टी नेपाल नेपाली कांग्रेसमा समाहित भएको जानकारी दिइएको थियो। त्यस्तै पूर्व सांसद सूर्यबहादुर केसी पनि नेपाली कांग्रेसमा सहभागी भएका छन्। शनिबार पोखरा आएका प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले पृथ्वीचोकमा कालोझण्डा देखाएको थियो। अनेरास्ववियुले शिक्षा ऐन संशोधनको खारेजीको माग गर्दै कालो झण्डा देखाएका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.