|
फोटो : Pabilnews.com

लहान : तराई मधेसका जिल्लामा छठको रौनक नसकिदै आफ्नो कार्यक्षेत्र फर्किने क्रममा शनिबार बिहान धादिङमा भएको बस दुर्घटनामा जिल्लाबासीको मृत्यु भएपछि सिङ्गो सप्तरी जिल्ला शोकमा डुबेको छ। शनिबार दिउँसो ३ बजेसम्म दुर्घटनास्थल धादिङको गजुरी गाउँपालिका ५ बाङ्गेमोड आसपासको क्षेत्रबाट ३० जनाको शव निकाल्दा सप्तरीका १० जना परेका छन्।

प्रहरीका अनुसार भेटिएका शवमध्ये १० जना सप्तरी, दुई जना सिरहा र एक भारतीय नागरिक रहेका छन्। दुर्घटनामा सप्तरीको दक्षिण पूर्वी तिलाठी कोइलाडी गाउँपालिकाका तीन जनाको मृत्यु भएको छ भने चार जना हराएपछि सिङ्गो गाउँ शोकमग्न भएको छ। दुर्घटनास्थलमा तिलाठी कोइलाडी गाउँपालिका ३ कि ३५ वर्षीया सिमीकुमारी झा, ३३ वर्षीय मञ्जितकुमार झा र ३८ वर्षीय सञ्जितकुमार झाको शव भेटिएको खबर पाएलगत्तै तिलाठीका गाउँलेहरुको एक टोली घटनास्थल गजुरीतर्फ हिंडेको छ।

छठ मनाएर काठमाडौं फर्किरहेका सप्तरीका विभिन्न गाउँका यात्रुहरु दुर्घटनामा मारिएपछि विभिन्न गाउँमा रुवावासी चलेको छ। सप्तरीको बोदे बर्साइन नगरपालिका ३ कि १५ वर्षीया चन्द्ररेखा प्रणामी, २ का ६ वर्षीय आदित्य यादव, राजविराज १५ का १८ वर्षीय नरेश मुखिया, राजविराज १६ कि ७४ वर्षीया चन्द्रावती झा, नेंगडाकी २५ वर्षीया पार्वती चौधरी, ३ वर्षीय सुशान्त चौधरी, नर्घोका २४ वर्षीय रमानन्द यादव दुर्घटनामा मारिएका छन्।

सिरहाको गोलबजार ८ का ५० वर्षीय राजकपुर यादव र भारतको बिहार मधुबनी राजनगर बराहरा ४ कि २९ वर्षीया ममतादेवी ठाकुरको शव सनाखत भएको प्रहरीले जनाएको छ। सिरहाको नरहा गाउँपालिका १ का ३४ वर्षीय उदय मण्डल पनि बसमा राजकपुरसँगै यात्रा गरिरहेको भए पनि उनको अवस्था खुलेको छैन। राजविराजबाट शुक्रबार साँझ छुटेको ना ६ ख १४६६ नम्बरको बसका यात्रीहरुलाई हेटौंडामा ओरालेर काठमाडौंबाट फर्किरहेको सोही कम्पनीको ना.६ख १४६७ नम्बरको बसमा राखेर काठमाडौं पठाइएको पाइएको धादिङका प्रहरी प्रमुख ध्रुवराज राउतले जानकारी दिए।

संयुक्त रात्री बस बुकिङ काउण्टर राजविराजका अनुसार दुर्घटनामा परेको बस राजविराजबाट १५ र बिसनपुरबाट १० जना यात्रु बोकेर लहानबाट सात जना र गोलबजारबाट दुई जना यात्रु थपेर गुडेको थियो।

कुल ३१ सिटको क्षमता भएको बसमा चढेका यात्रुहरुको संख्या यकिन नभए पनि दुर्घटनास्थलबाट बरामद गरिएका ३० शव, सकुशल उद्धार गरिएका १६ यात्रुको संख्या जोड्दा पनि ५० जनाको हाराहारीमा यात्रु रहेको अनुमान गरिएको छ।  दुर्घटनामा राजविराज नगरपालिका २ का अमन ठाकुर, श्रवण कुमार ठाकुर, उद्धव ठाकुर, राजविराज नगरपालिका ९ का दुर्गानन्द चौधरी, दुर्गानन्द यादव, राजविराजका सन्तोष सरदार, सुशील यादव र सुरेन्द्र कुमार यादव तथा भारत विहार मधुवनीका मनोज ठाकुर, गणेश ठाकुर, गौरीशंकर ठाकुर, अभिषेक चौधरी रहेका छन्।

छठ मनाएर छोराछोरीलाई काठमाडौंमा पढ्नका लागि पुर्याउन हिंडेकी सिरहाको लहान १ सिङ्राहीकी प्रभा चौधरीको अवस्था पत्ता लाग्न सकेको छैन। आमासँगै दुर्घटनामा परेकी उनकी छोरी निविदिता चौधरी र छोरा सुगम चौधरीको भने उपचार भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.