|

  • रमेश तिमल्सिना-

रौतहट : धुर्मुस सुन्तली फाउन्डेसनले एकीकृत बस्ती निर्माणको चौथो परियोजना अन्तर्गत हाल चन्द्रपुर नगरपालिका ८ सन्तपुरका दलित बस्तीमा ४७ घर बनाउँदैछन्। असोज ४ गतेदेखि सुरु भएको बस्ती निर्माणको काम अहिले तिब्र गतिमा भइरहेको छ। माघको २४ गते बस्ती हस्तान्तरण गर्ने लक्ष्यका साथ काम भइरहेको फाउन्डेसनले जनाएको छ।

पाँच करोड ७५ लाखको लागतमा बन्न लागेको यस बस्तीमा ४७ वटा आवासीय घर, एउटा भ्यु टावर, एउटा सामुदायिक भवन, एउटा मन्दिर, सार्वजनिक धारा र शौचालय बनाउने फाउण्डेसनका अध्यक्ष कलाकार  सीताराम कट्टेल धुर्मुसले बताए। हाल धुर्मुस र उनकी पत्नी कलाकार कुञ्जना घिमिरे सुन्तलीले बस्ती निर्माणको काममा जुटेका छन्। हालसम्म बस्तीका २२ घरको जग राख्ने काम सकिएको फाउन्डेसनका अध्यक्ष धुर्मुसले जानकारी दिए। धुर्मुसले आफ्नो जन्मदिनको अवसर पारेर गत असोज ४ गते बस्ती निर्माणको काम सुरु गरेका थिए।

'माघ २४ गते बस्ती हस्तान्तरण गर्ने उद्देश्यका साथ काम अघि बढाए पनि अझै धेरै सहयोग संकलन गर्न बाँकी रहेको छ र सहयोगको अपेक्षा पनि गरेको छु' धुर्मुसले भने ‘धुर्मुस सुन्तली फाउण्डेसनका हरेक परियोजना सहयोगीहरुकै कारण निर्माण सम्पन्न भएका हुन, उहाँहरु बिना त हामी अधुरो छौं। सबै सहयोगी मनहरुले हामीले सहयोग गर्नुपर्छ भनेर सहयोग दिनुभयो भने हामीलाई बस्ती निमार्ण गर्न कठिन हुँदैन।'

बस्ती निर्माणका लागि हालसम्म १ करोड रुपैयाँ मात्र संकलन भएको छ। अझै साढे ४ करोड रुपैयाँ आवश्यक पर्ने धुर्मुस सुन्तली फाउन्डेसनले जनाएको छ। फाउन्डेसनले यसपटक बाढी पीडितका लागि नमुना बस्ती बनाउन लागेका हुन्। 'यस्ता कार्यमा राज्यको पनि लगानी हुन आवश्यक छ, अब पीडित परिवारलाई राहत हैन पुनर्निर्माणतिर लाग्नुपर्छ' धुर्मुसले भने।

एकीकृत बस्तीमा निर्माण हुने दुई तले घरको लागत १० लाख लाग्ने अनुमान गरिएको छ। एउटा घर लगभग साढे ३ धुर जग्गामा निर्माण हुनेछ। घर पूर्ण रुपमा भुकम्प प्रतिरोधी, बालमैत्री, अपाङ्ग मैत्री र बातावरणमैत्री हुनेछ। अहिले परियोजना १२ कठ्ठा क्षेत्रफल भएको बस्ती निमार्णमा दैनिक २ सय ५० जना भन्दा बढी कामदारहरु काम गरिरहेका छन्। धुर्मुसले सधै बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म आफै काममा खटिएका छन्।

धुर्मुस बने भगवान

सन्तपुरमा नुमना बस्ती बनाएर घर दिने भएपछि दलित बस्तीका मानिसले धुर्मुस र सुन्तली भगवान बनेर उत्पत्ती भएको बताएका छन्। पुरानो र जीर्ण झुपडीमा बस्दै आएका ५० घर दलित परिवारले माघ २४ गतेपछि सुविधायुक्त घरमा बस्न पाउने भएका छन्।

गरिबलाई घर नै बनाइदिएर सहयोग गर्न आएका धुर्मुस सुन्तली मानिसमात्र नभएर भगवान नै भएको बस्तीका शैलेन्द्र माझी मुसहरले बताए। जीर्ण झुपडीमा बस्दै आएका माझी, मुसहर, दूषाध, लोहार र हजामका ५० परिवारका लागि फाउन्डेसनले घर बनाउन लागेको हो। नमुना बस्ती बनाउन जमिन, बाटो, लगायत सबै पूर्वाधार भएकाले सन्तपुरको दलित बस्ती नै छनोट गरिएको धुर्मसले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.