|
फोटो : Pabilnews.com

लहान : छठलगत्तै शुक्रबार साँझ पार्टी कामको सिलसिलामा रात्री बस चढेर काठमाडौं हिंडेका नेपाली कांग्रेसका महाधिवशेन प्रतिनिधि राजकपुर यादवको मृत्यु भएपछि अहिले सिरहाको गोलबजार नगरपालिका ८ चोहर्वाका गाउँलेहरु स्तब्ध बनेका छन्। ‘अलग धारको पार्टीका नेता भए पनि कसैको आँखामा नबिझाउने व्यक्ति थिए’ वडाध्यक्ष राजदेव यादवले भने ‘बस दुर्घटनामा मारिएको खबर पाए पनि विश्वास गर्न सकिरहेका छैनौं।’

दुई छोरा र श्रीमतीसहित चोहर्वामा बस्दै आएका यादवको शुक्रबार साँझ छिमेकी नरहा गाउँपालिका १ देवीपुरका उदय मण्डलसँगै ना ६ ख १४६७ नम्बरको बस त्रिशुलीमा खसेपछि मृत्यु भएको थियो।  उनको शव आफन्तहरुले सनाखत गरी घरतिर ल्याउँदै गरेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख राजेन्द्रकुमार उपाध्यायले जानकारी दिए। उनीसँगै बसमा रहेका मण्डलको अवस्था भने खुलेको छैन।

छठ मनाएर छोराछोरीलाई काठमाडौंमा पढ्नका लागि पुर्‍याउन हिंडेकी सिरहाको लहान १ सिङराहिकी प्रभा चौधरीको अवस्था पत्ता लाग्न सकेको छैन। आमासँगै दुर्घटनामा परेकी उनकी छोरी निविदिता चौधरी र छोरा सुगम चौधरीको भने उपचार भइरहेको प्रहरीले जनाएको छ।

शनिबार साँझ ६ बजेसम्म दुर्घटनास्थल धादिङको गजुरी गाउँपालिका ५ बाङ्गेमोड आसपासको क्षेत्रबाट ३१ जनाको शव निकालिएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ। प्रहरीका अनुसार भेटिएका शवमध्ये १० जना सप्तरी, दुई जना सिरहा र एक भारतीय रहेका छन्।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ का सञ्जितकुमार झा, उनकी पत्नी सिमीकुमारी झा, उनका भाई मञ्जितकुमार झाको मृत्यु भएको छ। सञ्जित तिहार र छठ मनाएर भाइ र आफ्नो परिवारसहित काठमाडौं फर्किंदै थिए। दुर्घटनामा उनका छोराहरु अभिनव र प्रतीक, भाइ अञ्जित, साली पूजा र सालो बिटु पनि परेका छन्।

त्यस्तै, बोदेबर्साइन नगरपालिका ७ मानराजा निवासी चतुरनारायण प्रमाणीका चार छोरीहरुको पनि उक्त दुर्घटनामा मृत्यु भएको छ। छठ मनाएर काठमाडौं फर्किंदै गरेका प्रणामीकी छोरीहरु चित्ररेखा, चन्द्ररेखा, चित्रलेखा र चन्द्रलेखा दुर्घटनामा मारिएपछि मानराजा गाउँ शोकमा डुबेको छ। काठमाडौंमा पढिरहेका छोरीहरुलाई बसमा पठाएर शनिबार बिहान मोटरसाइकलमा काठमाडौं फर्किने योजनामा रहेका प्रणामीले छोरीहरु कहिल्यै नभेट्ने गरी छोडेर गएका छन्।

उक्त दुर्घटनामा बोदे बर्साइन नगरपालिका २ का ६ वर्षीय आदित्य यादव, राजविराज १५ का १८ वर्षीय नरेश मुखिया, राजविराज १६ की ७४ वर्षीया चन्द्रावती झा, नेंगडाकी २५ वर्षीया पार्वती चौधरी, ३ वर्षीय सुशान्त चौधरी, नर्घोका २४ वर्षीय रमानन्द यादवको पनि मृत्यु भएको छ। त्यस्तै, सिरहाको गोलबजार ८ का ५० वर्षीय राजकपुर यादव र भारतको बिहार मधुबनी राजनगर बराहरा ४ की २९ वर्षीया ममतादेवी ठाकुरको शव सनाखत भएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.