साहित्य

कवि विप्लव प्रतीक बने उपन्यासकार, अमेरिकामा लेखेको 'अविजित' सार्वजनिक
SHARES

कात्तिक ११, २०७४

    काठमाडौं : रंगीविरंगी प्रकाशमा यत्रतत्र छरिइरहेका छन् दरबारमार्गको क्लब देजा भूको हलमा। त्यहाँ अंग्रेजी, हिन्दी र नेपाली गीतमा हल्का मातिकाहरुलाई झुमाउने र रमाइलो गराउने माहौल भने छैन। त्यो प्रकाशमा नेपाली साहित्यमा नाम चलेका लेखक, रंगमञ्चका कलाकार र साहित्य अनुरागीहरुको बाक्लै उपस्थिति छ। अगाडि पर्दामा तासको जलिरहेको जोकरको मुन्तिर 'अविजित' लेखिएको छ रातो अक्षरमा।  त्यसको मुनिका सेता अक्षर पढ्न सकिने गरी चम्किला छैनन्। त्यहीँ छेउमा लामा र सेताम्मे कपाल भएको र सेतै दाह्री भएको व्यक्तिको फोटो छ।

    त्यो भीडमा 'फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार' गीतकार दुर्गालाल श्रेष्ठ र शिक्षाविद् डा. केदारभक्त माथेमा छन्। दुबैका कपाल सेताम्मे भएका छन्। नेपाली राजनीतिका हस्ती एवं  चिन्तक प्रदिप गिरि पनि उपस्थित छन्।

    हलमा एक आवाज माइकमा जोडले सुनिन्छ:

    'मलाई मन छ

    म भएको कसैलाई थाहै नहोस्

    मलाई मन छ

    म गएको पनि कसैलाई थाहै नहोस्...'

    यो आवाज थियो बुक हिल प्रकाशनका भूपेन्द्र खड्काको र शब्द लिइएका थिए विप्लव प्रतीकको कविताबाट। 'हर रात सपनीमा ऐँठन हुन्छ, गाउँमा सायद पहिरो गयो कि...?' बाट परदेशमा रहेर घरको सुर्ता हुँदा मन सेक्न सुन्ने गीतका लेखक विप्लव प्रतीकको कविताका यी लाइन पढिसक्दा तालीको स्वागत हुन्छ।

    हलभरी प्रकाश उसैगरी बहिरहेको छ। यसैबीच बुकहिलका पवन आचार्य स्वागत गर्छन्, 'चार दशक कवि र गीतकार बनेका विप्लव प्रतीकको उपन्यास विमोचनमा उपस्थित हुनुभएका सबैलाई स्वागत छ।' अनि किताबको घुम्टो खोल्छन् प्रदीप गिरि, डा. केदारभक्त माथेमा, दूर्गालाल श्रेष्ठ र लेखक विप्लव प्रतीक। अनि थाहा हुन्छ, त्यो रातो अक्षरमा 'अविजित'लेखेको मुन्तिर सेतो अक्षरमा नलेखिएको नाम त्यहीँ थियो- विप्लव प्रतीक।

    'अविजित' विप्लव प्रतीकको पहिलो उपन्यास हो। उनको यसअघि 'नहारेको मान्छे' कविता संग्रह प्रकाशित छ भने नेपाली, अंग्रेजी, फ्रेन्च र रुसी भाषामा कविताहरु प्रकाशित छन्। त्यसका अलवा उनी दर्जनौं कालजयी गीतका गीतकार पनि हुन्।

    विप्लवको पहिलो उपन्यास 'अविजित' पढ्दा चलचित्र हेरेको आभास भएको भनाइ थियो गीतकार दुर्गालाल श्रेष्ठको। उनी भन्दैथिए, 'मैले पढिरहेको होइनजस्तो लागिरह्यो, विप्लवजीको लेखनमा दृश्य दिने क्षमता अद्भूत रहेछ भन्ने लाग्यो।' उनले उपन्यास पढ्दा साहित्यका हरेक विधामा कविताको रस हुँदा झन पठनीय हुन्छ भन्ने भान भएको बताए।

    त्यस्तै शिक्षाविद् केदारभक्त माथेमाले प्रविधिको विकासले साहित्य पढ्नेको संख्या घटिरहेको हो कि भन्ने लागेको बताए। उनले साहित्यलाई चिकित्साशास्त्र अध्ययन गर्ने विद्यार्थीका लागि पनि अनिवार्य गर्नुपर्ने भनाइ राखे। विप्लवको उपन्यास आफै हुर्के बढेको काठमाडौंका गल्ली, यहाँका नेवारी परिकार र जीवनशैलीको भएको माथेमाको भनाइ थियो। उनले भने, 'मैले चिनेका काठमाडौंका गल्ली, नेवारी परिकार र मैले बाँचेको कालखण्डको उपन्यास हो यो।'

    उपन्यासको नायक अविजितलाई आफैंले भेटेको हो कि जस्तो लागेको डा. माथेमाको भनाइ थियो। उनले उपन्यासमा वर्णन गरिएको २०४६ सालको आन्दोलन र आफू समेत सहभागी भएको उक्त आन्दोलनको एक घटना सम्झिए। उनले भने, 'त्यतिबेला काठमाडौंमा तीनचार ठाउँमा मात्रै फ्याक्सको सेवा थियो। म एकदिन आन्दोनकारीहरुसँगै जमल गएको थिएँ। त्यहाँ फ्याक्स सेवा भएको विश्व बैंकको कार्यालय थियो। म त्यो कार्यालय छिरेँ र जुलुस अलि उता पुग्दा गोली चलेको थियो। सायद अविजित त्यहीँ गोली चल्दा मरेको हुनुपर्छ भन्ने लाग्यो।'

    नेपाली कांग्रेसका नेता प्रदीप गिरिले उपन्यास पढ्दै गर्दा लेखक विप्लव प्रतीकको र नायकको जीवन सम्झनामा आएको बताए। उनले उपन्यासका नायकको जीवन कष्टकर रहेको बताए। उनले 'अविजित' नेपालको एक कालखण्डको चित्रण भएको बताए। गिरिले भने, 'यो उपन्यास जीवनदर्शन भन्दा पनि एउटा कालखण्डको उपन्यास हो।'

    केदारभक्त माथेमाले उपन्यासबारे बोल्दा भनेको- उपन्यासका नायकले मेरा हजुरबुबा धर्मभक्त माथेमालाई झुन्ड्याएको देखेको छ, भन्ने प्रसंग उल्लेख गर्दै गिरिले थपे, 'यो उपन्यासले सिफलमा धर्मभक्त माथेमालाई झुन्ड्याएको पनि देखेको छ, २००७ सालको जिन्दावाद देखाएको छ, विपीको शवयात्राको साक्षी पनि बनेको छ र २०४६ सालको जनआन्दोलनमा पनि सहभागि बनेको छ, त्यसैले यो एक कालखण्डको वास्तविकता हो।'

    गिरिपछि बोल्ने पालो आयो उपन्यासका लेखक विप्लव प्रतीकको। उनी 'नर्भस' देखिएका थिए। लेखेको वक्तव्य पढ्दा पनि उनको बोली अड्किइरहेको थियो। गीत र कविता मार्फत श्रोता र पाठकमाझ प्रिय बनेका विप्लव पहिलो पटक उपन्यासकारका रुपमा आउदा नर्भस भएका थिए।

    विप्लवले उपन्यास लेखन सपना विपनामा परिणत भएजस्तो लागेको बताए। उनले भने, 'सपना जस्तो लागिरहेको छ, गद्यलेखन मेरो विधा हो भन्ने कहिल्यै लागेन। जहिले पनि कविता र गीतको लहडमा चार दशक बिते।' उनले अमेरिका बसाइका क्रममा उपन्यास लेखनमा लागेको कुरा सुनाए र, अमेरिकाप्रति आभार पनि प्रकट गरे। कमाउन नगए पनि अमेरिका गएर उपन्यास कमाएकोमा उनी खुसी देखिन्थे।

    कार्यक्रमको अन्तिममा दीप श्रेष्ठले विप्लवको कालजयी गीतका यी लाइन गुन्गुनाउँदै उपस्थितलाई मौन बनाउँदै कार्यक्रम सकियो:

    हर रात सपनीमा ऐँठन हुन्छ

    गाउँमा सायद पहिरो गयो कि

    डाँडापारीको घामलाई हेर्छु

    आमा र बाबा सम्झिरहन्छु

    गाउँ छोड्दा बिझेका काँडा

    परदेशमा बसी झिकिरहन्छु

    दिन रात शहरमा झरी पर्छ

    गाउँमा सायद खेतै बग्यो कि

    हर रात सपनीमा...!

जयसिंह महरा

जयसिंह महरा राजनीति, अपराध, कला, साहित्य र संस्कृतिमाथि कलम चलाउँछन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]