|

  • मिलन विश्वकर्मा-

पाल्पा : अब पाल्पाका विद्यार्थीले एमबिए अध्ययन गर्न जिल्लाबाहिर जान नपर्ने भएको छ। केही वर्षदेखि बिबिए अध्ययन गर्ने व्यवस्था भए पनि एमबिए अध्ययनको लागि भने यहाँका विद्यार्थीहरुबाहिर जानुपर्ने बाध्यता थियो। पाल्पा इन्टरनेसनल कलेज अफ म्यानेजमेन्ट एन्ड आइटी पाल्पाले बिबिए र एमबिए कक्षा सञ्चालन गर्ने भएपछि यहाँका विद्यार्थीहरु बाहिर जानेुपर्ने बाध्यता टरेको हो।

जिल्लाको सदरमुकाम तानसेन–५ कैलाशनगरमा रहेको कलेजमा यसै शैक्षिक सत्रदेखि अध्ययन अध्यापन कार्य सुचारु हुने कलेजका प्रमुख कमल खत्रीले बताए। त्रिभुवन विश्व विद्यालयबाट मान्यता प्राप्त लिङकन युनिर्भसिटीबाट सम्बन्धन लिएको  पाल्पा इन्टरनेसनल कलेजमा जिल्लामै पहिलोपटक एमबिए सञ्चालन गर्न थालेको हो।

स्वच्छ–स्वस्थ शैक्षिक वातावरणमा प्रतिस्पर्धात्मक गुणस्तरीय शिक्षा प्रदान गरी राष्ट्रिय–अन्तर्राष्ट्रिय आवश्यकता र माग परिपूर्तिका लागि बिबिए र एमबिएको कक्षा सञ्चालन गर्न थालेको प्रमुख खत्रीले बताए। यस तहको ज्ञान, सीप र प्रविधिमा निपूर्ण सक्षमता र समूहसीप सम्पन्न एवं उत्तरदायित्वप्रति संवेदनशील, नैतिकवान, सक्षम र योग्य नागरिक उत्पादन गर्ने कलेजको लक्ष्य रहेको उनले सुनाए।

शनिबार तानसेनमा गरिएको  पत्रकार सम्मेलनमा कलेज सञ्चालक समितिका सदस्य मेघराज पौडेलले चार वर्षको निरन्तरको संघर्षले जिल्लामा एमबिए अध्ययनको लागि स्वीकृत पाउन सफल भएको बताए।

उनका अनुसार ०७० साल पौष ३० गते दर्ता भए पनि नेपाल सरकारबाट भने ४ असोजबाट सम्पूर्ण मान्यता प्राप्त गरेको थियो। चार वर्षे बिबिए अध्ययनको लागि मासिक ८ हजार लाग्नेछ भने दुई वर्षे एमबिए अध्ययनको लागि झण्डै ३ लाख लाग्ने सदस्य पौडेलले बताए। उनका अनुसार प्रमाणपत्र तहमा दोस्रो श्रेणीमा उर्तिण विद्यार्थीले यो विषय अध्ययन गर्न पाउनेछन्।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका सभापति राजेशकुमार अर्यालले सस्तो शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्न सुझाव दिए। शिक्षाविद् बुद्धिप्रसाद शर्मा, वुद्धिजिवी निर्मल श्रेष्ठ, प्याव्सनका केन्द्रिय सदस्य खेम सारुले यो जिल्ला शैक्षिक धरोहर भएको भन्दै यहाँ उत्पादन भएका उत्कृष्ट विद्यार्थीलाई उनीहरुको चाहनाअनुरूप शिक्षा दिएर जिल्लामै रोक्नको लागि पनि यस्ता विषयको अध्ययन हुन आवश्यक रहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.