|

लहान : धादिङको गजुरी गाउँपालिका ५ बाङगेमोडमा शनिबार बिहान भएको बस दुर्घटनामा छठ मनाएर कार्यक्षेत्र काठमाडौं फर्किंदै गरेकामध्ये जिल्लाका २४ जनाको मृत्यु भएपछि अहिले सिंगो सप्तरी जिल्ला शोकाकुल छ। दुर्घटनामा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्न आइतबार जिल्लाका सबै स्थानीय तहहरु बन्द गरिएका छन्।

राजविराज नगरपालिकाका प्रमुख शम्भु यादवले शनिबार साँझ विज्ञप्ति जारी गर्दै दुर्घटनामा मारिएकाहरुको शोकमा आइतबार एक दिन जिल्लाका स्थानीय तह बन्द गर्न आग्रह गरेका छन्।

जसले अर्को दिनको सूर्योदय देख्न पाएनन्

परिवारजन र आफन्तसँग शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर साँझ काठमाडौं हिँडेका जिल्लाका विभिन्न ठाउँका २४ जना जसले अर्को दिनको सूर्योदय हेर्न नपाई अस्ताएका छन्। 

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ तिलाठीका पण्डित रमानाथ झाको परिवारका ६ जनाको मृत्यु भएपछि कोइलाडी गाउँमा सन्नाटा छाएको छ। उनका छोराहरु ३८ वर्षीय सञ्जित कुमार झा, ३३ वर्षीय अञ्जितकुमार झा, बुहारी ३५ वर्षीया सम्मी कुमारी झा, नातिहरु ९ वर्षीय अभिनव र तीन वर्षीय प्रतीक झा मारिएका छन्।

सञ्जितका ससुरालीका सालो १८ वर्षीय आदित्य झा, काकी सासु ७४ वर्षीया चन्द्रावती झा समेत दुर्घटनामा मारिएका छन्। झा परिवारका तीन वर्षीय प्रतीक र सञ्जितकी साली २० वर्षीया पूजाको शव फेला पर्न समेत नसकेपछि झा परिवार मात्र होइन, सिंगो कोइलाडी बासीको चुलो राम्ररी बल्न सकेको छैन।

त्यस्तै, सप्तरीकै बोदेबर्साइन नगरपालिका ७ मानराजाका चतुरनारायण प्रमाणीका चार बहिनी छोरीहरु पनि उक्त दुर्घटनामा मारिएका छन्। छठ मनाएर काठमाडौं फर्किंदै गरेका प्रणामीकी छोरीहरु १५ वर्षीया चन्द्ररेखा प्रणामी, १५ वर्षीया चन्द्रलेखा प्रणामी, ११ वर्षीया चित्ररेखा प्रणामी र ९ वर्षीया चित्रलेखा प्रणामी मारिएका छन्।

बस दुर्घटनामा स्कूल पढ्दै गरेका एकै परिवारका चार बहिनी छोरीहरु मारिएपछि मानराजा गाउँ शोकमा डुबेको छ। काठमाडौंमा पढिरहेका छोरीहरुलाई शुक्रबार साँझ बिसनपुरबाट बसमा पठाएर शनिबार बिहान मोटरसाइकलमा काठमाडौं फर्किने योजनामा रहेका प्रणामीले छोरीहरु कहिल्यै नभेट्ने गरी छोडेर गएका छन्।

दुर्घटनामा राजविराज नगरपालिका १३ का ३० वर्षीय ऋषि आनन्ददेव, २० वर्षीय आदित्य झा, १५ का १८ वर्षीय नरेश मुखिया, शम्भुनाथ नगरपालिका नरैयाका १८ वर्षीय सुशान्त चौधरी, २४ वर्षीय रमानन्द यादव, २६ वर्षीया पार्वती चौधरी मारिएका छन्।

त्यस्तै, सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका ४ की २९ वर्षीया सुधिरा यादव, ५ वर्षीया समीक्षा यादव, महदेवा गाउँपालिका २ का २७ वर्षीय प्रमोद इसर, बोदेबर्साइन नगरपालिका २ का ६ वर्षीय आदित्य यादव, २५ वर्षीया आशिकीकुमारी यादव, ३५ वर्षीय सुरेन्द्र चौधरी, ६ वर्षीय पशुपति चौधरी, ३ की १ वर्षीया मानवी यादव समेत त्रिशुली बस दुर्घटनामा मारिएकी छन्।

सिरहाको गोलबजार नगरपालिका ८ का करिब ५० वर्षीय राजकपुर यादव र नरहा गाउँपालिका १ का ३० वर्षीय उदय मण्डल र लहान नगरपालिका १ सिङ्राहीकी ३७ वर्षीया प्रभा चौधरीले पनि दुर्घटनामा ज्यान गुमाएकी छन्। छठ मनाएर छोरछोरीलाई काठमाडौंमा पढ्नका लागि पुर्याउन हिंडेकी चौधरीको मुत्यु भए पनि छोरी निविदिता चौधरी र छोरा शुभम चौधरीको भने काठमाडौंमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

छठलगत्तै शुक्रबार साँझ पार्टी कामको शिलशिलामा रात्रि बस चढेर काठमाडौं हिँडेका नेपाली कांग्रेसका महाधिवशेन प्रतिनिधिसमेत रहेका यादवको मृत्यु भएपछि अहिले सिरहाको गोलबजार नगरपालिका ८ चोहर्वाका गाउँलेहरु स्तब्ध बनेका छन्।

‘अलग धारको पार्टीका नेता भए पनि कसैको आँखामा नबिझाउने व्यक्ति थिए’ वडाध्यक्ष राजदेव यादवले भने ‘बस दुर्घटनामा मारिएको खबर पाए पनि विश्वास गर्न सकिरहेका छैनौं।’ दुई छोरा र श्रीमतीसहित चोहर्वामा बस्दै आएका यादवको आसन्न प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ बन्द सूचीमा नाम रहेको जनाइएको छ।

मर्नेमा दुईजना भारतीय पनि

दुर्घटनामा भारत बिहार मधुवनीकी २९ वर्षीया ममतादेवी ठाकुर र १२ वर्षीय मनीष ठाकुरको समेत मृत्यु भएको  छ।  शनिबार साँझसम्म सनाखत भएका पुरुष ११, महिला ८, बालक ५ र बालिका ५ गरी २९ जनाको सनाखत भईसकेको छ भने दुई जनाको सनाखत बाँकी रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा १६ जनाको उद्धार गरिएकोमा दुई जनाको काठमाडौं र बाँकीको गजुरीमा उपचार भइरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.