|

लहान : सिरहाको कर्जन्हा नगरपालिका २ बन्दीपुरमा दिदीको अनैतिक सम्बन्धको प्रत्यक्षदर्शी रहेका भाइलाई केटा साथीसँग मिलेर हत्या गरेको खुलेको छ।

इलाका प्रहरी कार्यालय मिर्चैयाद्वारा आइतबार कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा हत्यामा संलग्न मृतककी ठूलोबुवाकी छोरी १६ वर्षीया प्रियङ्का यादव र छिमेकी युवक १४ वर्षीय सञ्जयकुमार साहलाई सार्वजनिक गरिएको छ। पत्रकार सम्मेलनमा दुवैको यौन सम्बन्ध प्रत्यक्ष देखेका १३ वर्षीय भवेशकुमार यादवको धारिलो खुकुरीले घाँटी रेटी हत्या गरिएको अवस्थामा शव भेटिएको जानकारी दिइयो।

कात्तिक ३ गते हत्या गरिएका भवेशको शव कर्जन्हा नगरपालिका २ मा पर्ने नर्सरीको वनमारा घारीमा घाँटी रेटेर हत्या गरेको अवस्थामा प्रहरीले भेटेको थियो।

कसरी भयो हत्या ?

शव भेटिएपछि नेपाल प्रहरी २ नं. प्रदेश कार्यालय, जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मिर्चैयाको टोली अनुसन्धानमा खटिएको थियो। अनुसन्धानको क्रममा मृतककी ठूलोबुवाकी छोरी प्रियङ्का र धनुषाको धनौजीपट्टि घर भइ कर्जन्हा २ स्थित मामाको घरमा बसेर पढिरहेका सञ्जयको अनैतिक सम्बन्ध रहेको प्रारम्भिक सूचना पाएपछि प्रहरीले हप्ता दिनभित्रै अभियुक्त पक्राउ गर्न सफल भएको पत्रकार सम्मेलनमा प्रहरी नायव उपरीक्षक गजुसिद्धि बज्राचार्यले जानकारी दिए।

कात्तिक १ गते भैंसी चराउन गएकी प्रियङ्का र सञ्जयको शारीरिक सम्बन्ध देखेका भवेशले ‘घरमा सुनाइदिन्छु’ भनेपछि दुवैले हत्या गर्ने योजना बनाएको प्रहरी नायव उपरीक्षक बज्राचार्यले बताए। हत्या गर्ने योजना मुताविक पर्सिपल्ट कात्तिक ३ गते दुवैले ‘नर्सरीमा मोवाइल र पटाका लुकाएर राखेका छौं, लिन जाऔं’ भन्दै फकाएर वनमारा घारीमा लुकाएर राखेको धारिलो खुकुरी प्रहार गरी हत्या गरिएको प्रहरी अनुसन्धानले देखाएको छ। प्रहरीले हत्या गर्न प्रयोग गरेको खुकुरीसहित दुवैलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ।

बन्दीपुरस्थित अक्सफोर्ड बोर्डिङ स्कूलमा कक्षा ४ मा अध्ययनरत भवेश कात्तिक ३ गते बेपत्ता भएपछि खोजतलास गर्ने क्रममा दुई दिनपछि कात्तिक ५ गते अपरान्ह ४ बजे शव भेटिएको हो। हत्यामा संलग्न रहेकी प्रियङ्का बन्दीपुरस्थित नेपाल राष्ट्रिय फूलकुमारी माविमा कक्षा ८ मा पढ्दै थिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.