|
झापा ३ मा स्थानीय तह निर्वाचनमा दलहरुले पाएको मत

काठमाडौं : झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा कसले टिकट पाउने भन्ने बिषयलाई लिएर नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच विवाद भएको छ। आपसमा गठबन्धन गर्न लागेका कांग्रेस र राप्रपामध्ये झापा ३ बाट प्रतिनिधिसभातर्फको कुन पार्टीबाट कुन पार्टीले उम्मेदवार पाउने भन्ने विषयमा सहमति नहुँदा आइतबार दुई पार्टीबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भइरहेको बैठक लम्बिएको छ।

अघिल्लो संविधानसभामा सोही क्षेत्रबाट चुनाव जितेका कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र उनको निकटतम प्रतिद्वन्दी राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनले झापा ३ बाट प्रतिनिधिसभाको उम्मेदवार आफूले पाउनुपर्ने दाबी गरेपछि गठबन्धन नै धरापमा परेको छ।

‘कांग्रेसले हामीसँग झापा ३ सहित ७ वटा निर्वाचन क्षेत्रमा प्रतिनिधिसभातर्फका उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको थियो’, कांग्रेससँग तालमेल गर्न राप्रपाद्वारा गठित कार्यदलका सदस्य दिलनाथ गिरीले थाहाखबरसँग भने ‘कांग्रेस हामीसँग गरेको प्रतिबद्धताबाट पछि हट्न खोज्दैछ, यसको परिणाम नकारात्मक हुन्छ।’

आइतबार बिहान नौ बजेदेखि राप्रपा र कांग्रेसका प्रतिनिधिबीच प्रतिनिधिसभा र राष्ट्रिय सभाका उम्मेदवार उठाउन तालमेल गर्ने बिषयमा भएको छलफल दिउँसो तीन बजेसम्म जारी छ। कांग्रेसले झापा ३ नम्बर क्षेत्रमा राप्रपाका उम्मेदवारलाई समर्थन गर्ने विगतको सहमति कार्यान्वनय गर्न आनाकानी गरेको गिरीले बताए।

राप्रपाले झापा ३ सहित मकवानपुर १, काठमाडौं, ७, पर्सा १, दैलेख २ बाँके र धनुषाको कुनै क्षेत्रमा आफ्नो उम्मेदवारलाई कांग्रेसले समर्थन गर्ने सहमति भएको दाबी गरेको छ। राप्रपाले मकवानपुरबाट अध्यक्ष कमल थापा, झापाबाट महामन्त्री राजेन्द्र लिङ्देन, पर्साबाट उपाध्यक्ष राजीव पराजुली, दैलेखबाट कुन्तीकुमारी शाही र धनुषाबाट मनोज मल्ललाई उम्मेदवार बनाउने तयारी गरेको छ।

पहिलो चरणको निर्वाचनमा राप्रपाका तीन प्रदेश सभाका उम्मेदवारलाई नेपाली कांग्रेसले समर्थन गरेको छ। दोस्रो चरणको निर्वाचनमा भने कांग्रेससँग राप्रपाले प्रदेश सभामा २५ स्थान पाउनुपर्ने माग गरेको छ। कांग्रेसले भने राप्रपालाई प्रदेशतर्फ १८ जना उम्मेदवारलाई समर्थन गर्न सकिने विकल्प प्रस्तुत गरेको वार्तामा सहमभगी एक नेताले थाहाखबरलाई बताए। नेपाली कांग्रेसले पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलालाई समानुपातिक निर्वाचन पद्धतितर्फ उम्मेदवार बनाए पनि उनले आफू प्रत्यक्षतर्फ चुनाव लड्ने बताउँदै आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.