|

काठमाडौं: शनिबार काठमाडौँमा विक्रमको ४० को दशकका दुई गजलकार करुण थापा र रवि प्राञ्जल गुन्जिए। उनीहरूलाई संगीत र गलामा साथ दिए न्ह्यू बज्राचार्य र सचिन सिंहले।

सर्वनाम थिएटर, उर्वरा फाउन्डेसन, साहित्य परिवार र मधुवनको संयुक्त आयोजनामा हरेक दुई महिनामा आयोजना हुने महफिलमा यसपालि रवि र करुणका गजल सुनिएका हुन्। ‘महफिल’को ११औं शृंखलामा करुण र रविले विभिन्न कालखण्डमा विभिन्न विषयमा रचना गरेका आआफ्ना चर्चित र लोकप्रिय गजल वाचन गरेका थिए।

‘घरभित्र कोही थियो सँघारमा कोही रै'छ
मुटुभित्र कोही थियो निधारमा कोही रै'छ ।’

गजलकार करुण थापा प्रेमको वियोगान्त पक्षलाई यसरी शेरमा उनेर सुनाउँदै थिए भने अर्का गजलकार रवि पनि वियोगपछिको मिलनको आशा गर्दै रचना गरिएको यो शेर सुनाएर माहोल तताउँदै थिए।

‘पुगेथेँ म टाढा उनी सम्झी आएँ
त्यो बितिसकेको जुनी सम्झी आएँ ।’

गजल वाचन र गायनबाटै ओजिलो बनेको महफिलमा न्ह्यूले ठट्टा गर्दै माहोल रोमान्टिक बनाइरहेका थिए। 

दुई गजलस्रष्टा र दुई गायकसँगै हेमन्त रसाइलीको सारंगी पनि महफिलको आकर्षण बनेको थियो। 

महफिलमा यसअघि दिनेश गौतम, सुवास अगमलगायतका गायक तथा रावत, शीतल कादम्बिनी, सुधा शाही, टीकाराम भण्डारी, बाबु त्रिपाठीलगायतका गजलकार प्रस्तुत भइसकेका आयोजक मधुवन साहित्य प्रतिष्ठानका अध्यक्ष बाबु त्रिपाठीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.